इनरुवा । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सुनसरीमा लापसे चेकमा कडाइ गर्न थालेको छ ।

लागूऔषधको सेवन (लापसे) गरी सवारी चलाउँदा निम्तने दुर्घटना रोकथाम गर्ने उद्देश्यका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले लापसे चेकिङमा कडाइ गर्न थालेको हो । चेकिङका क्रममा सवारी चालकले लागूऔषध सेवन गरी सवारीसाधन चलाएको पाइए ट्राफिक प्रहरीले कानूनबमोजिम कारबाहीको प्रक्रिया तत्कालै अघि बढाउने जनाएको छ ।

लापसे गरेका सार्वजनिक सवारी साधनका चालकको हकमा नियन्त्रणमा लिई थुनामा पठाइने जनाएको ट्राफिक प्रहरीले अन्यको हकमा कानून बमोजिम जरिबाना र सजाय गरिने जनाएको छ । धरान, इटहरी, इनरुवा र दुहबीजस्ता मुख्य सहरका साथै भित्री सडक–खण्डमा समेत चेकजाँच कडाइ गर्ने गरी ट्राफिक चेकिङ टोली परिचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानले जनाएको छ ।

जिल्ला ट्राफिक प्रमुख इन्स्पेक्टर वीरेन्द्रसिंह थापाका अनुसार जिल्ला ट्राफिकले धरानको तीनकुनेसहित सीमावर्ती जिल्लाको दक्षिणी भेग बर्जु, हरिनगर र देवानगञ्जलगायतका क्षेत्रमा लापसे चेकिङको क्रमलाई अघि बढाइसकेको छ । सम्भावित दुर्घटना न्यूनीकरणसँगै सर्वसाधारणमा जनचेतना जगाउन अभियानका रूपमा अघि बढाइएको लापसे चेकिङलाई छड्के जाँचका रूपमा जिल्लाका अन्य सडक–खण्डमा समेत क्रमशः अघि बढाइने थापाले बताए ।

चेकिङका क्रममा लागूऔषध सेवन गरे नगरेको पत्ता लगाउन ट्राफिक प्रहरीले किटको प्रयोग गर्नेछ । किटले तत्कालै शङ्कास्पद चालकको पिसाब जाँचको रिपोर्ट पत्ता लगाउनेछ । सोही आधारमा सवारी चालकले लागूऔषध सेवन गरे नगरेको यकिन हुन्छ र रिपोर्ट पोजेटिभ पाइएका चालकको हकमा ट्राफिक प्रहरीले कारबाहीका लागि कानूनी प्रक्रिया अघि बढाउने जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी धरानका अनुसार लागूऔषध सेवन गरी सवारी चलाएको भेटिएमा चालकलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइने र म्याद थपसहितको अन्य कानूनी प्रक्रिया सोही बमोजिम हुने जनाएको छ । ट्राफिक प्रहरीले जिल्लामा बढ्दो सवारी दुर्घटनामा धेरैजसो लागूऔषध सेवनकर्ता चालकको दोष पाइएकाले एक्सनसहितको छड्के जाँच र सचेतनाको पाटोलाई सँगसँगै अघि बढाएको जनाएको छ ।