भद्रपुर । नेपाली काङ्ग्रेसका कोशी प्रदेश सभापति एवम् पूर्व प्रदेशका मुख्यमन्त्री उद्धव थापामाथि आक्रमण गर्नेलाई अभद्र व्यवहारमा मुद्दा दर्ता गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जिल्ला प्रशासन कार्यालयबाट अभद्र व्यवहारमा तीन दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको हो । आक्रमणमा संलग्न भएको आरोपमा शनिबारै शिवसताक्षी नगरपाकिला–११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कनकाई नगरपालिका–३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठलाई पक्राउ गरिएको थियो । विद्युत प्राधिकरण सुरुङ्गाका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले सुरुङ्गा पुलनजिक डाइभर्सनमा ओभरटेक गर्ने क्रममा विवाद भएको बताइएको छ ।

जिल्लाका डिएसपी एवम् प्रवक्ता कृष्णकुमार चन्दका अनुसार अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको हो । यसैबीच काङ्ग्रेसले आक्रमण गर्नेहरूलाई कारबाही गर्न माग गरेको छ ।

काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पूर्व मुख्यमन्त्रीसमेत रहेका थापामाथि भएको आक्रमणको भत्र्सना गर्दै अराजक र आपराधिक कार्यमा संलग्नहरूलाई कारबाहीको माग गरे ।

पूर्व मुख्यमन्त्री थापामाथि शनिबार साँझतिर आक्रमण भएको थियो । नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको कार्यक्रमबाट फर्किने क्रममा कनकाई नगरपालिकाको जुकेखाडी कल्भर्टनजिक  आक्रमण भएको हो । अर्जुनधारा नगरपालिका–७ का थापामाथि बा.१ ञ १८७० मा सवार विद्युत् प्राधिकरण सुरुङ्गाका कर्मचारीहरूले कुटपिट गरेका थिए ।