विराटनगर । कोशी प्रदेशसभाको बैठकमा दुई वटा विधेयक प्रस्तुत भएको छ । मंगलबार बसेको बैठकमा प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र सेवाका शर्त सम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभामा प्रस्तुत भएको हो ।
दुवै विधेयक आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले प्रस्तुत गरे । भूमि व्यवस्था, कृषि, तथा सहकारी मन्त्री बिरामी भएर अनुपस्थित रहेका कारण उनको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीले विधेयक सदनमा प्रस्तुत गरेका हुन् ।
विधेयक प्रस्तुत गर्दै मन्त्री भण्डारीले संविधानको साझा अधिकारको सूचिमा पर्ने विषय भएकोले प्रदेश सरकारले संघीय ऐन बनेपछि उक्त ऐनको अधिकार क्षेत्रबाट विधेयक तयार पारेको बताए । जीवनाषक र किटनाषक औषधिको प्रयोग गर्दा उत्पादन प्रक्रिया, उत्पादनको गुणस्तर, भण्डारण र त्यसको मापन तथा बिक्री वितरण गर्दा अवलम्बन गर्ने प्रविधि र प्रक्रियाको जानकारहरुको व्यवस्थापन, नियमन र अनुमतिपत्र सम्बन्धी व्यवस्था आदिका बारेमा विधेयकमा कानुनी व्यवस्था गरिएको मन्त्री भण्डारीले जानकारी दिए ।
यस्तै उनले प्रदेश मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र सेवाका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सभामा प्रस्तुत । उक्त विधेयक अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको हो । उक्त विधेयकमाथिको सैद्धान्तिक छलफल मंगलबार नै सकिएको छ ।
छलफलमा रमेशकुमार बस्नेत, किशोरचन्द्र दुलाल, सम्शेर राईले भागलिएका थिए । उक्त प्रदेशसभाको अर्को बैठक बुधबार २ बजे पुन बस्नेछ ।