पाँचथर । पाँचथरको फिदिम नगरपालिकाले नगरक्षेत्रका नागरिकलाई किरिया खर्च दिने भएको छ ।

नगरपालिकाले ‘विपन्नसँग नगरप्रमुख कार्यक्रम’ कार्यान्वयन सम्बन्धी मापदण्ड २९८१ लागू गरेसँगै नगरक्षेत्रका नागरिकलाई किरिया खर्च दिने निर्णय गरेको हो । नगरपालिकाको सभाहलमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी कार्यपालिकाको बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्दै ‘विपन्नसँग नगर प्रमुख’ कार्यक्रम सम्बन्धी मापदण्ड २०८१ स्वीकृत गरेको हो ।

फिदिम नगरपालिकाले नगरपालिकाभित्र स्थायी बसोबास गरेका परिवारका सदस्यहरूको मृत्यु भएमा नगद १० हजार रुपैयाँका दरले किरिया खर्च उपलब्ध गराउने निर्णय भएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले जनाए ।

त्यस्तै नगरको अर्को महŒवपूर्ण निर्णयको रूपमा ‘कोखदेखि शोकसम्म’ कार्यक्रममार्फत् छुटसहितको एम्बुलेन्स सेवा सञ्चालन गर्ने भएको छ । गर्भवती महिलाहरूका साथै ७५ वर्षमाथिका ज्येष्ठ नागरिक र ‘क’ वर्गको अपाङ्गता परिचय भएका नागरिकको लागि जिल्ला अस्पताल र घरसम्म आवत–जावत गर्न शतप्रतिशत छुट दिने निर्णय भएको छ ।

तर यो छुट अन्यको हकमा लागू हुने छैन । नगरक्षेत्रका अन्य नागरिकलाई भने १० प्रतिशत छुटको व्यवस्था मात्रै गरिएको प्रमुख काफ्लेको भनाइ छ ।