इटहरी /  धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्कराज राईले दुई वर्षसम्म पानीकै आहालमा सुतेको देखाई जनतामा भ्रम सिर्जना गरेको पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले बताएका छन् ।

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् जनवर्गीय सङ्गठनका प्रमुख ढकालले प्रेस चौतारी नेपालको आठौँ जिल्ला अधिवेशनको क्रममा बिहीबार भने, ‘दुई वर्षसम्म पानीमै सुतेको देखाएर जनतालाई भ्रम छरियो । केही दिनअघि तिनै प्रमुखले रित्तो गाग्री बोकेर सिंहदरबार जानुभयो । यसले पनि पानीको अवस्थालाई पुष्टि गरेको छ ।’ उनले आफ्ना मतदाताहरूमा पानी नभएको देखाई आफूलाई चोखो देखाउने मनोविज्ञानबाट गुज्रिएको बताए । उनले अहिले आफ्नो पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई बदनाम गराउन चौतर्फी हमला भइरहेको बताए ।

उनले भने, ‘पार्टीलाई कसरी कमजोर बनाउन सकिन्छ भन्ने धारणा विकास भइरहेको छ । त्यसक्रममा पार्टी अध्यक्ष केपी ओलीलाई बदनाम गरिरहेको अवस्था छ ।’ यस्तै प्रमुख अतिथि प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी नेपालले पेशागत हकहितका लागि डटेर लागेको बताए । उनले मिडिया काउन्सिलको विरोधदेखि नेपालका मुख्य–मुख्य मिडिया कानूनहरू निर्माणमा महŒवपूर्ण भूमिका खेलेको बताए । उनले प्रेस चौतारी नेपालको गौरवपूर्ण इतिहास रहेको बताए । यो गौरवपूर्ण इतिहासमा सदैव प्रेस चौतारीमा आबद्ध पत्रकारहरू लागिपरेको बताए ।

यस्तै पार्टीका स्थायी कमिटी सदस्य एवम् पूर्व मुख्यमन्त्री शेरधन राईले नेपालको मिडिया क्षेत्रमा पेशागत मर्यादा, हकहितको बारेमा नेतृत्व गर्नेदेखि लिएर प्रेस चौतारीले राष्ट्र निर्माणमा महŒवपूर्ण भूमिका खेलेको बताए । उनले जिम्मेवारी र इमान्दारीपूर्वक भूमिका निर्वाह गर्नका लागि पनि आग्रह गरे । उनले एमालेमाथि योजनाबद्ध ढङ्गबाट आक्रमण हुँदै आइरहेको बताए । ‘साइबर हमला भइरहेको छ, यो हमलालाई प्रतिवाद गर्न योजना बनाएर अगाडि बढ्नुपर्ने देखिएको छ’ उनले भने, ‘यसका लागि एमालेले तीन महिनाभित्रमा प्रदेशमा योजनाबद्ध रूपमा डेस्क बनाउँदै छ ।’

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले प्रदेशको आमसञ्चार विधेयक यही माघ २३ गते संसद्मा पेश हुने बताए । उनले त्यसका लागि सकारात्मक र आलोचनात्मक ढङ्गले भूमिका खेल्नका लागि आग्रह गरे । उनले कोशी प्रदेशले लगानी सम्मेलनदेखि २०८२ सालमा गरिने पर्यटनको विषयमा विविध कार्यक्रम गर्न लागिएको बताए ।