धरान । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको सुनसरीबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्यहरूको बैठक सुनसरीको इटहरीबाट मङ्गलबार सम्पन्न भएको छ ।

पार्टीका केन्द्रीय सह–महामन्त्री प्रेमप्रसाद भट्टराईको संयोजनमा सम्पन्न बैठकले केन्द्रीय सदस्य रामविलास मेहतालाई जिल्ला अधिवेशन गर्नका लागि तदर्थ समितिको संयोजक तोकेको छ ।

यस्तै अर्का केन्द्रीय सदस्य परमेश्वर साहको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । जिल्लाको सङ्गठन निर्माण गतिविधि शून्य हुँदै गएका कारणले कार्यक्रम गरिएको केन्द्रीय सदस्य खेम ओझाले जानकारी दिए ।

उनका अनुसार केही दिनपछि सुनसरीका १२ वटै गाउँपालिकाको समिति गठन गर्दै जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि तदर्थ समितिका संयोजकले निर्वाचन कमिटीलाई सहयोग गरेर अगाडि बढ्ने जनाइएको छ । कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय उपाध्यक्ष एवम् पूर्वाञ्चल इन्चार्ज वल्लभप्रसाद दाहाल रहेका थिए ।