धरान । भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य घाइते भएका छन् । भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन पड्किएर लाग्दा उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्य घाइते भएका हुन् ।
उद्घाटनलाई भव्य बनाउन बालिएको झिरपटाकाको झिल्कोले हावा भरिएको बेलुनलाई भेटेर बेलुनको झुप्पो एकैपटक पड्किएको थियो । सो क्रममा बेलुन उडाएर भ्रमण वर्षको उद्घाटन गर्न बेलुन नजिकै पुगेका उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यको गाला र हत्केलामा पोलेको छ । यद्यपि दुवैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई शनिबार नै कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु गरिएको छ ।
अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भूवन केसीका
अनुसार उनलाई दिउँसो ३ बजेतिर अस्पताल पुर्याइएको थियो । मन्त्री पौडेलको
हत्केला र अनुहार जलेको छ । पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनका क्रममा
रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा
टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि उनीहरूको शरीरमा आगो
सल्किएको थियो । दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित
बर्न अस्पतालमा ल्याइएको हो । बर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीले
दुवैजना अस्पतालमा भर्ना भएका र अहिले उपचार चलिरहेको बताए ।