धरान । राष्ट्रिय पशुपंक्षी रोग नियन्त्रण कार्यक्रमअन्तर्गत सुनसरीको धरान उपमहानगरपालिकाको पशुपंक्षी विकास शाखाले खोप कार्यक्रम सुरु गरेको छ । 

शाखाका प्रमुख महेन्द्रकुमार पैकराका अनुसार धरानमा चौपायापालन गरेको वडा वडामा गई खोप लगाउने कार्यक्रम रहेको छ । कार्यक्रमको सुरुवात धरान उपमहानगरपालिका–५ देउरालीबाट सुरु गरिएको छ । जसअन्तर्गत खोरेत, पीपीआर र क्लासिकल स्वाइनफिभर रोगको खोप लगाइँदै छ । फागुन १ गतेदेखि १४ गतेसम्म खोरेतको खोप लगाउने कार्यक्रम तय गरिएको शाखा प्रमुख पैकराले जानकारी दिए ।

यस्तै पीपीआर फागुन १८ गतेदेखि चैत २ गतेसम्म र क्लासिकल स्वाइनफिभर खोप चैत ६ गतेबाट १५ गतेसम्म लगाउने कार्यक्रम तय भएको छ । खोरेत विशेषगरी खुरजन्य चौपायामा लाग्ने गरेको छ भने यस पटक गाई र भैँसीमा चार हजार खोप लगाउने कार्यक्रम छ । यस्तै बाख्रामा २२ हजार पीपीआर खोप र १० हजार सुँगुरमा क्लासिकल स्वाइनफिभर खोप लगाउने कार्यक्रम रहेको छ । 

कार्यक्रमको उद्घाटन धरान उपमहानगरका उपप्रमुख अइन्द्रविक्रम बेघा, भेटेरिनरी अस्पताल पशुसेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा. मनोजकुमार महतोलगायतको उपस्थितिमा सुरु गरिएको हो । धरानका विशेषगरी ४, ५, ६, १३, १४, १५, १८, १९ र २० नम्बर वडामा चौपाया पालन गरिएको छ । धरानमा दुई वर्षअघि खोरेतको समस्या देखिएको थियो ।

त्यसयता भने नदेखिएको शाखा प्रमुख पैकराले जानकारी दिए । विदेशमा मासु तथा दुग्धजन्य सामग्री बिक्री गर्नका लागि खोरेतलगायत उन्मूलन हुनुपर्ने प्रावधान छ । यी खोपहरू निःशुल्क रूपमा लगाइने भएको हो ।