विराटनगर । विराटनगरको एक पोलिक्लिनिकले तोकिएको मापदण्डभन्दा बाहिर गई स्वास्थ्य उपचार सेवा दिँदा एकजना बिरामीको ज्यान गएको छ ।
विराटनगर महानगरपालिका–९ हस्पिटल चोकस्थित जिगरी ल्याव एन्ड पोलिक्लिनिक प्रा.लि.ले इजाजतभन्दा बाहिर गई उपचार गराउँदा भारतबाट उपचारका लागि आएका भारतीय नागरिक ६० वर्षीय सोहेब अफतरको आइतबार मृत्यु भएको हो । पोलिक्लिनिकलाई अनुमति दिने अधिकार स्वास्थ्य कार्यालयलाई हुन्छ । उक्त पोलिक्लिनिकले सी ग्रेडको ल्याव र सामान्य ओपिडीका बिरामी जाँच गर्ने अनुमति पाएको थियो । तर, जिगरीले चारवटा बेड राखेर स्वास्थ्य सेवा दिँदै आएको अनुगमनको क्रममा भेटिएको विराटनगर महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख दिलिप यादवले बताए ।
नौसाद आलम र जाबेद अन्सारीले सञ्चालनमा ल्याएको जिगरीले बेड राखेर उपचार गरिरहेको अनुगमनमा पाइएको उनले बताए । जुन इजाजतभन्दा बाहिर गएर सेवा प्रदान गरेको देखिएको उनले बताए । ‘इजाजत लिएको भन्दा बढी सेवा दिएको पाइएको छ । यो गर्न पाइँदैन । ल्यावले पनि सी ग्रेडको अनुमति पाएको छ । तर, मापदण्डअनुसारको छैन । एक्स–रे पनि व्यवस्थित थिएन । रेडिएसनबाट बचाउने लिड हुनुपर्ने थियो । त्यो पनि थिएन । सबै समेटेर प्रतिवेदन तयार पारिएको छ । यो प्रतिवेदन अनुमति प्रदान गर्ने स्वास्थ्य कार्यालय मोरङलाई बुझाउनेछौँ । आवश्यक कारबाहीको प्रक्रिया स्वास्थ्य कार्यालय मोरङले गर्नेछ’–स्वास्थ्य महाशाखा प्रमुख यादवले भने ।
यता जिगरीका सञ्चालक नौसाद आलमले अनुमति लिएकोभन्दा बाहिर गई उपचार नगरेको दाबी गरे । ‘ओपिडीमा आएका बिरामीहरू कतिपय पेट दुखेकाहरू पनि आउने गर्छन् । उनीहरूलाई अब्जरभेसनमा राख्नको लागि बेड राखिएको हो । भर्ना गर्नुपर्ने बिरामीलाई हामीले हस्पिटलतिर रेफर गर्दै आएका छौँ’–उनले भने । ल्यावको हकमा भने अहिले मर्मतको चरणमा रहेकोले मापदण्डअनुसार बनाउने तयारी गरिएको उनले बताए । स्वास्थ्य कार्यालय मोरङका प्रमुख सागर प्रसाईंले अनुगमन समितिले दिएको प्रतिवेदनको आधारमा कारबाहीको प्रक्रिया अगाडि बढाउने बताए । ‘अनुगमन समिति गठन भएको छ । सो समितिले दिएको प्रतिवेदनको आधारमा थप कारबाहीको प्रक्रिया अगाडि बढ्ने छ । पोलोक्लिनिकले बेड राखेर उपचार गर्न पाउँदैन । यदि पाएको इजाजतभन्दा बाहिर गएर काम कारबाही गरेको पाइए जनस्वास्थ्य ऐनअनुसार कारबाही अगाडि बढ्नेछ । सो ऐनले जरिबानादेखि दर्ता खारेजीसम्मको अधिकार दिएको छ’–उनले भने ।
उपचारमा संलग्न फिजिसियन डाक्टर कौसल अलीका अनुसार श्वासनलीमा खाना अड्किएपछि बिरामीलाई बचाउन सकिएन । यता बिरामीका आफन्तहरूले लापरबाहीले मृत्यु भएको आरोप लगाए । ‘ओपीडीमा बिरामी आउँदा ज्वरो र श्वास–प्रश्वासमा समस्या थियो । तत्काल भर्ना गरेर उपचार गर्नुपर्ने भएपछि बिरामीका आफन्तको आग्रहमा ग्रिनक्रस हस्पिटलको आइसियुमा राखेर उपचार सुरु भएको थियो । सुरुमा भन्टिलेसनमा राखियो । क्रमिकरूपमा सुधार हुँदै गएपछि एचडियुमा राखियो । त्यसपछि बेडमा सारियो । वार्डमा आएपछि बिरामीलाई खाना खुवाए । खाना सर्कियो । श्वासनलीमा खाना अड्कियो । त्यसपछि भेन्टिलेसनमा राखियो । हामीले उपचार गर्दागर्दै पनि बिरामीलाई बचाउन सकिएन’ उपचारमा संलग्न चिकित्सक अलीले भने, ‘यी सबैकुरा हामीले बिरामीका आफन्तलाई जानकारी गराएका थियौँ, अहिले आएर किन लफडा गरेको त्यो थाहा भएन ।’
बन्यो प्रतिवेदन
उपचारको
क्रममा भारतीय नागरिक अफतरको आइतबार मृत्यु भएपछि विराटनगर महानगरपालिकाका
उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा सात सदस्यीय समिति गठन भएको
थियो । उक्त समितिमा विराटनगर–१ का वडाध्यक्ष काजीबहादुर बस्नेत, स्वास्थ्य
महाशाखा प्रमुख दिलिप यादव, रमेश कार्की, रानी अस्पतालका प्रमुख
टेक्निसियन अधिकृत मानिकचन्द भगत, भूपेन्द्र साह र मीना अधिकारी रहेका छन् ।
उक्त समितिले अनुगमन गरेर सोमबार प्रतिवेदन तयार पारेको छ ।
समितिका सदस्य स्वास्थ्य महाशाखा प्रमुख यादवकाअनुसार आइतबार मृत्यु भएको भारतीय नागरिक अफतरको ज्वरो र श्वास–प्रश्वासमा समस्या भएपछि २७ पुसमा जिगरीमा भर्ना भएको देखिन्छ । भर्ना गरेर उपचार गर्नुपर्ने भएपछि फिजिसियन डाक्टर कौसल अलीको सिफारिसमा ग्रीनक्रस हस्पिटलको आइसियुमा राखेर उपचार भइरहेको बिरामीको आइतबार मृत्यु भएको थियो ।
प्रतिवेदनमा ‘प्रारम्भिक चरणको बिरामी हेर्ने
अधिकारभन्दा बाहिर गएर काम गरेको, सी ग्रेडको ल्यावको मापदण्डअनुसार
नभएका’लगायत विषय समेटिएको छ ।