धरान । केबलकारको पक्षमा सामाजिक सञ्जालमा लेख्दै आएका पदम चेन्जी माबोलाई कालोमोसो दल्न संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनता समाजवादीका नेता सुमन चेम्जोङ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा इन्स्पेक्टर दिनेश अधिकारीले जानकारी दिए । उनलाई मङ्गलबार धरान–८ बाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

सोमबार प्रहरीले जिल्ला अदालत सुनसरीबाट ‘आपराधिक उपद्रो’ मुद्दामा आठजनाविरुद्ध पक्राउ पुर्जी ल्याएको थियो । उनीहरूको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । जाहेरी परेकाहरूको खोजी प्रहरीले गरिरहेको बताएको छ ।

पदम चेन्जी माबोलाई आइतबार धरान–२ देशीलाइनको एक होटलमा याक्थुङ चुम्लुङको दोस्रो केन्द्रीय महाधिवेशनबारे जानकारी दिनका लागि गरिएको पत्रकार सम्मेलनमै नो केबलकार समूह पक्षधरले कालोमोसो दलेर हातपातको प्रयास गरेका थिए ।

माबोले सामाजिक सञ्जाल फेसबुकमा केबलकार बन्नुपर्ने धारणा राख्दै आइरहेका थिए । उक्त धारणामाथि नो केबलकार समूहले प्रतीकात्मक रूपमा विरोध गर्दै आएको थियो । माबोविरुद्ध ‘वंश गद्दार’ को नारा पनि लागेको थियो ।

यता आइतबारको घटनालाई लिएर मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समितिले माबोको गतिविधि मुक्कुमलुङ विरुद्धमा हुँदै आएको भन्दै विज्ञप्ति नै जारी गरेको थियो । आन्दोलनरत १२ वटा संस्थाहरूले संयुक्तरूपमा विज्ञप्ति जारी गर्दै प्रहरीले मध्यरातमा किरात याक्थुङ चुम्लुङ सुनसरीको कार्यालय घेराउ गरी आतङ्कित पारेको भन्दै विरोध पनि जनाएका छन् । उनीहरूले आन्दोलनको कार्यक्रम यथावत् रहेको बताएका छन् ।