वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–५ स्थित जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालयको ‘बिग स्कुल प्रोजेक्ट’ मा विवाद हुँदा स्कुलका प्रधानाध्यापक हिरामणि पौडेलले राजीनामा दिएका छन् ।

बिग स्कुल प्रोजेक्टका लागि विद्यालयको नयाँ बनिने भौतिक संरचनाको विषयमा असहमति जनाउँदै प्रअले राजीनामा दिएको बुझिएको छ । सङ्घीय सरकारबाट प्राप्त हुने एक करोड रुपैयाँ अनुदानको सम्झौता गर्न कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले विद्यालयलाई पठाएको पत्रको विषयमा बुधबार राखिएको सर्वपक्षीय भेलामा प्राचार्यले राजीनामा बुझाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुष्कल पराजुलीले बताए ।  

‘हामीले बिग प्रोजेक्टका लागि स्कुलनजिकैको पूर्व दिशातर्फ करिब ४ सय मिटरको दूरीमा रहेको स्कुलको ग्राउन्डमा बनाइने सम्बन्धमा आम राय र सुझाव सङ्कलनका लागि छलफल बोलाएका थियौँ, निर्णय गर्न होइन । तर प्रअले स्वास्थ्यको कारण खुलाउँदै राजीनामा दिनुभएको हो’ व्यवस्थापन समिति अध्यक्ष पराजुलीले भने, ‘प्रअले राजीनामा दिनुको कारण स्वास्थ्यबाहेक अन्य केही खुलाउनुभएको छैन । उहाँको राजीनामा स्वीकृत गरिएको छैन ।’

उनका अनुसार के विषयमा चित्त नबुझेको हो त्यस विषयमा छलफल गर्ने र प्रोजेक्टको विषयमा बिहीबार बैठक बस्ने व्यवस्थापन समितिको बैठकबाट निर्णय गरिनेछ । गुरुयोजना र प्रस्तावित बजेट ३३ करोड ६६ लाख २४ हजार रुपैयाँको लागतमा निर्माण हुने यो विद्यालयमा आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित एक करोड रुपैयाँ बजेट कार्यान्वयनमा विवाद देखिएको हो । नगरपालिकाको दश प्रतिशत, कोशी प्रदेशको २० प्रतिशत र सङ्घीय सरकारको ७० प्रतिशत अनुदानमा कोशी प्रदेशभरि तीन वटा मा.वि.मा बिग प्रोजेक्ट आएको हो । जसमध्ये मोरङ सुन्दरहरैँचाको साजीलाल, तरहराको जनसहयोग र वराहक्षेत्रको जडेज मा.वि. छानिएका हुन् ।