धरान। ताप्लेजुङमा ‘नो केबलकार’ पक्षधरले केबलकार निर्माणको संरचनामाथि तोडफोड गरेका छन् । निर्माणस्थल कब्जामा लिन खोजेपछि प्रदर्शनकारी र सशस्त्र प्रहरीबीच दोहोरो झडपसमेत भएको स्थानीयले बताएका छन् । सशस्त्र प्रहरीको टोलीले स्थिति नियन्त्रणमा लिन ७ राउण्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको छ ।
फुङ्लिङ–११ काफ्लेपाटीस्थित केबलकार निर्माणस्थलको बटम स्टेशननजिक डाँडामा मुक्कुमलुङ ताःसेप चुम्भोका संस्थाहरू र अन्तरदलीय राजनैतिक पार्टीहरूको पूर्वघोषित कार्यक्रमअन्तर्गत ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ आयोजना गरिएको थियो । पदयात्रामा आएकाहरूले केबलकार निर्माणस्थलमा रहेका निर्माण सामग्रीहरू कब्जामा लिन खोजेपछि सशस्त्र प्रहरीले रोक्न खोज्दा भिडन्त भएको प्रहरीले जनाएको छ ।
सो क्रममा पदयात्रामा आएकाहरूले ढुङ्गामुढा गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । साँझसम्म पनि उक्त क्षेत्र तनावग्रस्त थियो । आन्दोलनकारीले केबलकार निर्माणस्थलभन्दा माथि पाखाबाट अन्धाधुन्ध ढुङ्गा प्रहार गरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको बताइएको छ । उनीहरूले कामदारलाई काम छाडेर नहिँडे क्षति भोग्नुपर्ने चेतावनीसमेत दिएको बताइएको छ ।
कार्यक्रममा सहभागी भई फिर्ता हुने क्रममा पदयात्रामा सहभागी करिब ३ सय जनाको समूहले निर्माणस्थलमा कोणसभा गर्न पाउनु पर्ने माग राखी संयुक्त प्रहरी टोलीमाथि ढुङ्गामुढा प्रहार गरेको प्रहरीले जनाएको छ । आन्दोलनकारीहरूले मे. १ ज २५७९ नम्बरको बोलेरो गाडी तोडफोड गरेका छन् ।
घटनामा ६ जना जनपथ प्रहरी, ५ जना सशस्त्र प्रहरी र एक जना आन्दोलनकारी घाइते भएको प्रजिअ शर्माले जानकारी दिए । उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनरत समूहले केबलकारको बेसस्टेसनतर्फ अघि बढेर प्रदर्शन साँझसम्म जारी राखेका थिए । प्रशासनले अतिरिक्त सुरक्षा सतर्कता अपनाएको बताएको छ ।
फागुन ६ देखि ८ गतेसम्म चलेको पदयात्राको अन्तिम दिन
बिहीबार आन्दोलन थप चर्किएको हो । सोही सद्भाव ¥यालीमा सहभागी राष्ट्रिय
मुक्ति नेपाल पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो,
पूर्वमन्त्री रकम चेम्जोङलगायतका नेताहरू भने पाथीभरा मन्दिरसम्म पुगेका
छन् ।