धरान (ब्लाष्ट) ताप्लेजुङमा ‘नो केबलकार समूह’ को अवरोध भइरहेपछि फुङ्लिङमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आइतबार बिहान ५ बजेदेखि लागू हुने गरी फुङ्लिङ नगरपालिकालाई चार किल्ला तोकेर अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

पाथीभरा मन्दिरमा पुग्ने केबलकार निर्माण भइरहेको विषयमा अवरोध गर्ने समूह र प्रहरीबीच शनिबार राति फुङ्लिङ बजारमा झडप भएको थियो । उक्त झडपको क्रममा आठ जना प्रहरी र केही आन्दोलनकारी घाइते भएका थिए ।

अवरोध गर्ने पक्षबाट घाइतेमध्ये दुईजनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएको छ । घाइतेमध्ये हाल ताप्लेजुङको आठराई गाउँपालिका–३ का २१ वर्षीय शिशिर लिम्बू र फुङ्लिङ नगरपालिका–४ का २२ वर्षीय समर लिम्बूको उपचार बीपी अस्पतालमा भइरहेको छ । शिशिरको टाउको र दायाँ हातमा चोट लागेको छ भने समरको दायाँ हात भाँचिएको छ । समरलाई हाडजोर्नी विभागमा राखी उपचार भइरहेको छ भने शिशिरलाई आकस्मिक कक्षमा राखिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । अवरोध गर्ने पक्षका थप एकजनालाई उपचारका लागि धरान ल्याउँदै गरेको जनाइएको छ ।

झडपपश्चात् नै जिल्ला प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो । जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको सूचनामा उल्लेख गरेको छ । कार्यालयले फुङ्लिङ बजार क्षेत्रमा हुनसक्ने प्रदर्शन, जुलुसका कारण स्थानीयस्तरमा हुलदङ्गा, झडप र प्रतिकूल स्थितिको सिर्जना भई शान्तिसुरक्षा भङ्ग हुनसक्ने परिस्थितिका कारण निषेधाज्ञा जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रशासनले जारी गरेको सूचनाअनुसार बजारक्षेत्रको पूर्वमा वडानम्बर ७ सल्लेरी, पश्चिममा वडानम्बर ७ घोडेचौकको थलाङ धारा क्षेत्रसम्म, उत्तरमा वडानम्बर ४ उकालीपानी र दक्षिणमा वडानम्बर ६ शेर्पा टोलीको भेटनरी कञ्चनजङ्घा टोलसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको हो । यस्तै काफ्लेपाटी–बल्लुडाँडा क्षेत्रमा पूर्वमा पर्यटक प्रहरी भवनको सय मिटर इलाका र पश्चिममा बल्लुडाँडा र डडेले इलाकामा पनि निषेधाज्ञा तोकिएको छ । निषेधित क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन, घेराउजस्ता कार्यक्रम नगर्न भनिएको छ । आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति  वा समूह उपर प्रचलित कानून बमोजिम कारबाही हुने जनाइएको छ ।

केबलकार तत्काल रोक्न सांसद्हरूको माग
सांसद्हरूले पाथीभरा क्षेत्रमा जनताको इच्छाविपरीत केबलकार निर्माण सुरु गरिएको उल्लेख गर्दै उक्त कार्य तत्काल रोक्न माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा आइतबार सांसद्हरूले जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि निर्माण कार्य रोक्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् । बैठकमा सांसद् राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना बुझ्न नखोज्दा पाथीभरा क्षेत्र रणमैदानमा परिणत भएको उल्लेख गर्दै एक व्यापारीको स्वार्थ पूर्ति गर्न समाजमा जनता लडाउने काम भएको टिप्पणी गरे ।

“सरकारले किन अनदेखा गरेको, मन्त्रीस्तरको वार्ता गर्न सरकार किन तयार नभएको ?” सांसद् लिङ्देनले भने, “सरकारी तवरबाटै पाथीभरा क्षेत्र व्यापारीको हातमा दिनका लागि योजनाबद्ध रूपमा काम भएको छ, सुरुमा कञ्चनजङ्घा संरक्षण क्षेत्रबाट पाथीभरालाई अलग गरियो, त्यसपछि व्यापारीलाई केबलकार बनाउन दिने निर्णय गरियो ।”

अहिले जनताको इच्छाविपरीत राज्यशक्ति लगाएर निर्माणको काम अघि बढिरहेको बताउँदै उनले जनताले उक्त धार्मिकस्थलमा केबलकार नचाहेको र प्रतिकारमा उत्रिएको जानकारी गराए । सांसद् योगेश भट्टराईले ताप्लेजुङ जिल्लास्थित पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर केही दिनदेखि तनाव सिर्जना भइरहेको बताउँदै केबलकार बनाउनु उचित हो वा होइन वार्ता र संवादबाट टुङ्ग्याउनुपर्ने उल्लेख गरे । 

सांसद् तोसिमा कार्कीले सो क्षेत्रमा केबलकार निर्माण विवादरहित बनाउनुपर्ने उल्लेख गर्दै सरकारले बल प्रयोग गरेर नभई वार्ताबाट समाधान खोज्नुपर्नेमा जोड दिइन् । साथै उनले सो आयोजनाको निर्माण तत्काल स्थगन गरेर सरोकारवाला सबैसँग संवाद गरेर समाधान गर्न सरकारसँग आग्रह गरिन् । (रासस)