धरान । प्रजातन्त्र दिवसका दिन पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधनलाई धरानमा राष्ट्रिय प्रजातन्त्र पार्टी नगर परिचालन समितिले स्वागत गर्दै आइतबार साँझ दीप प्रज्वलन गरेको छ । 

राप्रपाका केन्द्रीय आमन्त्रित सदस्य किशोरकुमार कार्कीले पूर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्रका विषयमा बोलेको सम्बोधन धेरै अर्थपूर्ण रहेको बताए । 

उक्त सम्बोधनप्रति पार्टीको पूर्ण समर्थन रहेको उनले जनाए । यस्तै पार्टीका संयोजित सङ्गठन समन्वय विभागका केन्द्रीय सदस्य लक्ष्मण बस्नेतले पूर्व राजाले बोलेको कुरामा सत्यता रहेकाले नेपाली जनताले समर्थन गर्नुपर्ने बताए । 

कार्यक्रममा राप्रपाका कोशी प्रदेश सदस्य जुद्ध लोहनी, पार्टी धरान नगरका कार्यवाहक अध्यक्ष दोर्जे शेर्पा, समाजसेवी पिङ्गला न्यौपानेलगायतको उपस्थिति रहेको थियो । पार्टी नगर परिचालन समितिका संयोजक नरेश शाक्यको अध्यक्षतामा दीप प्रज्वलन कार्यक्रम भएको थियो ।