धनकुटा । ताप्लेजुङ जिल्लाको मुक्कुमलुङ क्षेत्रमा केबलकार निर्माणको विषयलाई लिएर भएको मसाल जुलुसमा राज्य पक्षले नागरिकमाथि स्वेत आतङ्क मच्चाएको भन्दै विभिन्न लिम्बू थरगत संस्थाहरूले संयुक्तरूपमा विज्ञप्ति जारी गरेर घटनाको निन्दा गर्दै विरोध जनाएका छन् ।

ताप्लेजुङको मुक्कुमलुङ क्षेत्रमा पदयात्राको क्रममा फागुन १० गते साँझ मुक्कुमलुङ संरक्षणकर्मीहरूले फुङ्लिङ बजारमा निकालेको मसाल जुलुससहितको ¥यालीमा घरबाट ढुङ्गा र खाली बोतलले हानेपछि झडपको स्थिति सिर्जना भएको भन्दै उनीहरूले आपत्ति जनाए । झडपको क्रममा प्रहरीले बल प्रयोग गरेर फुङ्लिङ बजारको स्थिति नियन्त्रणमा आइसकेपछि प्रहरीले लज, होटलहरूमा पसेर पदयात्री एवम् मुक्कुमलुङ संरक्षणकर्मीहरूलाई खोजी–खोजी निर्ममतापूर्वक कुटपिट गरेर अङ्गभङ्ग बनाउने काम भएको भन्दै विज्ञप्तिमार्फत् राष्ट्रिय, अन्तर्राष्ट्रिय पक्षमा ध्यानाकर्षण गराइएको हो ।

प्रहरीद्वारा कुटपिट गरेर घाइते बनाइएकोहरूलाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचारको लागि लाँदा सशस्त्र प्रहरीले अस्पताल नै घेरा हालेर घाइतेहरूलाई उल्टै धरपकड गरी पक्राउ गरेको उनीहरूले आरोप लगाएका छन् । सोही क्रममा स्थानीय प्रदीप मादेन घरभित्र खाना पकाइरहेको र अन्य खाजा खाइरहेको अवस्थामा प्रहरीले बाहिरबाट अश्रुग्यास हानेर धरपकड गरेको थियो । प्रहरीले धरपकडको क्रममा पक्राउ गरेको कतिपय मुक्कुमलुङकर्मीको स्थिति अहिलेसम्म सार्वजनिक नगरेको उनीहरूले जनाए । 

विज्ञप्तिमा भनेका छन्, ‘ताप्लेजुङको केबलकार घटनामा सरकार पक्षले विश्वव्यापी मानवअधिकारको गम्भीर उल्लङ्घन गरेको छ । ताप्लेजुङको मुक्कुमलुङ क्षेत्रमा केबलकार बनाउने÷नबनाउने भन्ने विषयमा उत्पन्न द्वन्द्वलाई समयमै उचित प्रकारले निकास दिन राष्ट्रिय, अन्तर्राष्ट्रिय पक्षलाई यो प्रेस विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराउन चाहन्छौं ।’

सरकारले एकजना व्यक्तिको निजी केवलकार निर्माणस्थलमा सुरक्षा दिन तल्लो फेदी काफ्ले पाटीमा राखेको नेपाल प्रहरी, सशस्त्र प्रहरी फिर्ता गर्न, सुरक्षा दिने नाममा विभिन्न बहानामा गरिएको कदमको नेपाल सरकारको गृहमन्त्री र प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रीसमक्ष यसअघि नै जानकारी गराइसकिएको पनि जानकारी दिइएको छ । विज्ञप्तिमा लिम्बू थरगत संस्थाहरूबाट संयोजक नन्द कन्दङ्वा, याङ्वरक थुम संयोजक संविधानसभा सदस्य विश्वदीप लिङ्देन, छथरथुमका संयोजक चेवन तुम्बाहाङलगायतले हस्ताक्षर गरेका छन् । 

उनीहरूका अनुसार हालसम्म राम राई (इलाम), संविधानसभा सदस्य राजकुमार नाल्वो (दमक), शिशिर लिम्बू (ताप्लेजुङ), समर इङ्देन (ताप्लेजुङ), एन.के. दर्नाल (धरान), विजय वनेम (ताप्लेजुङ), दिनेश राई, लक्ष्मी शेर्मा, सुशीला राई, रेगन राई पत्रकार, अनुप योङ्हाङ पत्रकार, सुनिल आङ्वो, मछिन्द्र लोवा, धनकुमार लोवालगायत घाइते छन् । घाइतेहरूको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, पाँचथर जिल्ला अस्पताल र ताप्लेजुङ जिल्ला अस्पतालमा उपचार भैरहेको छ ।