विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा गठबन्धन गर्दा काङ्ग्रेस र एमालेलाई ठूलो पार्टी बनाउन माओवादीले सहयोग गरेको दाबी गर्दै २०८४ को निर्वाचनमा माओवादी एक्लै अगाडि बढ्ने सङ्कल्प गरेको बताएका छन् ।
माओवादीले सुरु गरेको तराई मधेश जागरण अभियानको तेस्रो दिन बुधबार प्रेस सेन्टर नेपाल मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले अबको चुनावमा काङ्ग्रेस र एमालेसँग गठबन्धन नहुने बताएका हुन् ।

उनले गठबन्धनविना माओवादी अगाडि जानसक्छ भन्ने सङ्केत गएको उपचुनावले देखाइसकेको उल्लेख गरे । ‘२०६९ सालको चुनावको गणित हिसाब गरेर बस्नु जनताको नयाँ चेतनालाई नबुझेको हुन्छ’ उनले भने, ‘सुशासन, समृद्धि र सामाजिक न्यायको अभियान निरन्तर चलाएर अबको निर्वाचनबाट माओवादी पहिलो दल बन्नेछ ।’

माओवादी नेतृत्वको सरकार बिचौलिया र भ्रष्टाचारीले ढालेको आरोप लगाउँदै प्रचण्डले त्यो कुरा नागरिक तहमा स्थापित भइसकेकोमा पत्रकारहरूले चैं बुझ्न नसकेको वा नचाहेको अनुभूति भएको दाबी गरे । ‘१८ महिना सरकारमा रहँदा माओवादीले के ग¥यो र रातारात किन नयाँ गठबन्धन बन्यो भन्ने जनताले पनि बुझेको अवस्था छ’ उनले भने, ‘तपाईं पत्रकारहरूले चैं बुझ्न नचाहेको हो कि नबुझेको भन्ने लागेको छ ।’

जनताका समस्या बुझ्न सुरु गरेको जागरण अभियानले सिङ्गो पार्टी र जनतामा पनि उत्साह देखिएको उनले बताए । झापाबाट फागुन १२ गते सुरु भएको ‘जनतासँग माओवादी–तराई मधेश जागरण अभियान’ को तेस्रो दिन आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नयाँ सङ्कल्पसहित अभियानमा होमिएको बताए ।

अभियान भाषण गर्ने र हिँड्नेभन्दा पनि किसान, मजदुर, बुद्धिजीवी, तराई मधेसका नागरिक समुदाय, पत्रकार र आम जनतासँग सम्बन्ध सुदृढीकरण गर्न चलाइएको बताउँदै प्रचण्डले झापा र मोरङको कार्यक्रम सम्पन्न हुँदा उत्साह बढेको दाबी गरे । ‘अभियानको क्रममा २०६४ को झल्को पाएको छु’ उनले भने, ‘काङ्ग्रेस र एमालेसँगको गठबन्धन तथा सरकारको सम्झौतामा केन्द्रित हुँदा कमजोर बनेको माओवादी अब जुरुक्कै उठ्ने वातावरण बनेको छ ।’

दक्षिणभेगका जनतासँग साक्षात्कार गरी उनीहरूका समस्या, मुद्दा बुझ्न र नयाँ जनचेतनाका लागि गरिएको अभियान सुरु गरिएको बताउँदै प्रचण्डले आफ्नो सरकारले सुरु गरेको सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानबारे नागरिक सचेत रहेको पाइएको बताए । ‘हाम्रो सरकारले थालेको सुशासन, समृद्धि र सामाजिक न्यायको अभियान रोक्न काङ्ग्रेस र एमालेको गठबन्धन बनेको तथ्य अभियानको क्रममा जनतालाई राखेका छौं’ उनले भने, ‘जनताले त्यो विषय गहिरोसँग बुझेको अनुभूति भएको छ । यो अभियान कञ्चनपुरमा पुग्दा माओवादी नयाँ ठाउँमा पुग्नेछ ।’

इतिहासबाट जनताको चेतना धेरै अघि बढेको बताउँदै प्रचण्डले पूर्वराजाले बोलेका कुरामा खासै प्रतिक्रिया दिन आवश्यक नरहेको टिप्पणी गरे । अब राजतन्त्र नेपालमा कुनै अवस्थामा फर्कन नसक्ने दाबी गर्दै उनले अझ अगाडि जाने बताए । माओवादी बढ्ने भयो भनेर नोकरशाह र दलाललाई मन नपरेकोले पार्टीमा विवाद रहेको प्रचारबाजी भएको भन्दै प्रचण्डले पार्टी एकताबद्ध भएर अभियानमा सिङ्गो टिम अगाडि बढेको बताए ।

अहिले माओवादीको ध्यान सरकारमा नरहेको बताउँदै प्रचण्डले २०८४ सम्म काङ्ग्रेस–एमालेको गठबन्धन र सरकार चलिरहोस् भन्ने चाहना रहेको दाबी गरे । ‘हाम्रो ध्यान अब सरकारमा छैन, जनतामै गइसकेका छौं र जनतामै रहन्छौं’ उनले भने, ‘तर, भ्रष्टाचार, कुशासन, कमिसन र बिचौलियाको संरक्षणमा मात्र केन्द्रित रहेको सरकार आफ्नै बोझले थिचिएकोले कुनै पनि बेला भासिने चिन्ता रहेको छ ।’