इटहरी  । नेपालमा प्रतिबन्धित अनलाइन जुवा (सट्टाबाजी) को कारोबार गर्ने तीनजनालाई इटहरीबाट प्रहरीले पक्राउ गरेको छ । इटहरीको सङ्गीत चौकस्थित एक होटलबाट अनलाइन जुवा खेलाउने तीनजना गिरोहलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र इटहरी प्रहरीको विशेष टोलीले पक्राउ गरेको हो ।

पर्नेमा इटहरी–२० तरहरा घर भएका ३० वर्षीय रन्जित भन्ने राजेन्द्र थापा मगर, इटहरी उपमहानगरपालिका वडा नं. ९ बस्ने वर्ष ४१ को अमित भन्ने किरण श्रेष्ठ र इटहरी उपमहानगरपालिका वडा नं. ४ बस्ने वर्ष ३२ का सरोज कार्की रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । अनलाइन जुवा खेलाउनकै लागि उनीहरूले होटलको कोठा एक सातादेखि बुक गरेर बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाले बताए । 

होटलमा बुक गरेको रुमबाट दैनिक हो–हल्ला हुन थालेको र प्रहरीमा गोप्य सूचना पुगेपछि तीनैजनालाई नियन्त्रणमा लिइएको थियो । इटहरी प्रहरीका इन्स्पेक्टर महेन्द्र पराजुलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले उनीहरूलाई सट्टाबाजी खेलाइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार उनीहरूको साथबाट अनलाइन जुवा खेल्न र खेलाउन प्रयोग हुने विभिन्न एप्सहरू र आइफोनसहित विभिन्न कम्पनीका ५ वटा मोबाइलहरू बरामद गरेको छ । 

उनीहरूको साथबाट प्रहरीले अनलाइन जुवा खेल्न र खेलाउन रकम जम्मा गर्ने तथा निकाल्ने एप समेत मोबाइलबाट बरामद गरेको छ । पक्राउ परेका तीनैजनालाई जिल्ला अदालत सुनसरीबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान  अघि बढाएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनैजनाले अहिलेसम्म के कति कारोबार गरेका छन् भन्ने विवरण प्राप्त नभए प्रहरीले जनाएको छ । 

गिरोहको खोजीमा प्रहरी
इटहरीको होटलबाट अनलाइन जुवा खेल्न र खेलाउने तीनजनालाई पक्राउ गरेपछि संलग्न थप गिरोहको खोजीमा प्रहरी जुटेको इटहरी प्रहरी प्रमुख डिएसपी लक्ष्मी भण्डारीले बताए । कागजी रूपमा उजुरी नपरे पनि मौखिक रूपमा अनलाइन जुवा खेल्ने र खेलाउने गिरोहको बारेमा गोप्य अनुसन्धान भइरहेको उनले बताए । इटहरीमा यो घटनाले अनलाइन जुवा खेल्ने र खेलाउने गिरोह सक्रिय रहेको पाइएकोले यस्ता गिरोहको खोजीमा प्रहरी जुटेको उल्लेख गरे । 

के हुन्छ सजाय ?
मुलुकी अपराधसंहिता, २०७४ र जुवा ऐन, २०२० ले अनलाइनमार्फत् हुने लाइभ क्यासिनो तथा सट्टेबाजी खेललाई नेपालमा कसूरका रूपमा मानी प्रतिबन्धित गरेको छ । कानूनले यस खेललाई संयोगको आधारमा खेलिने खेलका रूपमा लिइँदै आएको छ । यस्तो खेलमा जित्नेले प्रतिफल पाउने र हार्नेले प्रतिफल गुमाउने हुन्छ ।

यस्तो खेलको कुनै पनि विज्ञापन गरेमा समेत कसूर मानिन्छ । विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५(ख) अनुसार नेपालमा जुवा खेल्ने, खेलाउने विषयमा विज्ञापन गर्न निषेध गरेको छ । जुवा खेल्ने, खेलाउने विज्ञापन छापा, अनलाइन, विद्युतीय माध्यम, सामाजिक सञ्जालमा समेत गर्न, गराउन हुँदैन । यस विपरीतको कार्यलाई ऐनले कसूर मानेको छ । कसूर गर्ने, गराउने व्यक्तिलाई सो कसूर गरेबापत प्रचलित कानूनले कुनै सजाय हुने रहेछ भने सोहीबमोजिम सजाय गर्नुपर्छ । कानूनमा सो व्यवस्था नभएमा १ वर्षसम्म कैद वा १० हजार रुपैयाँसम्म जरिबाना हुने प्रावधान रहेको छ ।