विराटनगर । शिक्षालयहरूलाई शान्ति क्षेत्रको रूपमा चिनिने गरिन्छ । शिक्षालय आएपछि शान्ति र अमनचयन कायम हुने आम अभिभावको अपेक्षा हुन्छ । तर, सत्ता र राजनीतिक संरक्षणको कारणले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसभित्र गुण्डागर्दी बढेको छ ।

बिहीबार दिउँसो महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापति जसवन्त पौडेलसहितको समूहले दिनदहाडै क्याम्पस परिसरभित्र बन्चरो नचाउँदै नेविसङ्घ मोरङका सभापित सरोज पोखरेललाई मरणासन्न हुने गरी कुटपिट गरेका छन् । क्याम्पसमा नेपाली काङ्ग्रेसनिकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घको दुई पक्षबीच झडप हुँदा पोखरेलसहित तीन जना विद्यार्थी घाइते भएका छन् ।

नेविसङ्घ मोरङका सभापति पोखरेल र चुले भाइ भनिने आयुष दाहालसहितको टोली क्याम्पस एकाइ गठन गर्न भन्दै बिहीबार बिहानै क्याम्पस पुगेका थिए । आफूहरूको स्वीकृति विना क्याम्पसमा एकाइ कमिटी गठन गर्न लागेको भन्दै स्ववियु सभापति पौडेलको समूहले बन्चरो, तरबार र लाठी प्रहार गरेको हो । उनीहरूको आक्रमणबाट नेविसङ्घ मोरङ सचिव गुयु साह र महेन्द्र मोरङमै अध्ययनरत नेविसङ्घ केन्द्रीय सदस्य पूजा विश्वास पनि घाइते भएका छन् । घाइते तीनै जना काङ्ग्रेस नेता शेखर कोइराला पक्षका हुन् । साह र विश्वासको अवस्था सामान्य छ । यता पौडेल समूहका प्रशान्त यादव र सुविक्षा थापा मगर पनि घाइते छन् ।

स्ववियु सभापति रहेका पौडेल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा समूहका हुन् । आक्रमणमा उत्रिनेहरूमा जसवन्त पौडेलसहित स्ववियु सचिव एलिस ठकुरी, सदस्यहरू प्रशान्त यादवलगायतको टोली संलग्न रहेको बताइएको छ ।

क्याम्पसभित्र स्ववियु सभापति पौडेलको गुण्डागर्दी बढेको छ । एकपछि अर्को गर्दै उनको गण्डागर्दी कलेजमा बढेर गएको विद्यार्थीहरू बताउँछन् । कानून हातमा लिएर आफूविरुद्ध बोल्ने विद्यार्थीलाई धम्काउने, थर्काउने, तर्साउने र आतङ्क सिर्जना गरेको उनीहरू बताउँछन् । शान्ति सुरक्षाको जिम्मेवारी पाएको प्रहरीले पनि महेन्द्र मोरङ क्याम्पसभित्रको गुण्डागर्दीमा संलग्न व्यक्तिलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन नसक्दा क्याम्पसभित्र जसवन्त समूहको गुण्डागर्दीको दबदबा चलिरहेको विद्यार्थीहरू बताउँछन् ।

सतहमा नदेखिए पनि भित्रभित्रै उनको समूहको गुण्डाराज मौलाइरहेको छ । पौडेल समूहले गरेको आक्रमणकोे भिडियोमा पोखरेललगायतमाथि एकोहोरो आक्रमण भइरहेको देखिन्छ । ‘सुरुमा मुक्का र लात्तीले प्रहार गरी त्यसपछि पोखरेललाई ढालेर जसवन्त हातमा बोकेको बन्चरो लिएर अगाडि बढेको भिडियोमा देखिन्छ । ढलेका युवालाई प्रहार गर्न खोजे पनि प्रहार नगरी लात्ती हानेर बन्चरोलाई हाफ ज्याकेटभित्र राखेर हिँडेको सार्वजनिक भएको भिडियोमा देखिन्छ ।

स्ववियुको चुनाव लागेकाले क्याम्पसको वस्तुस्थिति बुझ्न जिल्ला सभापति र सचिव आएका बेला आक्रमण भएको घाइते भएकी पूजा विश्वासले बताइन् । 

‘स्ववियु चुनावलाई लक्षित गरेर क्याम्पसको वस्तुस्थिति बुझ्न आउँदा साङ्घातिक हमला भयो । स्ववियु सभापतिको नेतृत्वमा रहेका करिब ५०–६० जनाले आक्रमण गरेका हुन्’ उनले भनिन्, ‘जिल्ला सभापति पोखरेलको टाउको र शरीरका विभिन्न भागमा समस्या देखिएको छ । तत्काल उपचारतर्फ केन्द्रित भएकाले घटनाका सम्बन्धमा थप कदम पछि चाल्नेछौं ।’

विश्वासका अनुसार नेविसङ्घका जिल्ला सभापति र सचिव पुगेर क्याम्पसको अवस्था बुझ्दै गर्दा आक्रमण सुरु भएको थियो । ‘क्याम्पसका बारेमा विद्यार्थीमा नराम्रो सन्देश जाने बुझेर केही समस्या भएमा छलफलबाट समाधान गरौं भनेर हामीले बारम्बार आग्रह ग¥यौं’ उनले भनिन्, ‘तर, कुरै नसुनिकन एक्कासि उनीहरू आक्रमणमा उत्रिए ।’ शैक्षिक संस्थाभित्र गुण्डागर्दी र अराजक शैलीमा आक्रमण भएको विश्वासको भनाइ छ ।

सुरुमा मुक्का प्रहार गरिएको र पछि बन्चरोसमेत ल्याएर आक्रमण गरिएको दाबी उनको छ । विश्वासका अनुसार स्ववियुका नाममा धेरै बदमासी भएका छन् । ‘हामीले बारम्बार हिसाब माग्दा स्ववियुले दिँदैन । कलेजभित्रै विद्यार्थीलाई कुट्ने र धम्क्याउने काम हुन्छ । स्ववियुका गतिविधिमा हामीले निरन्तर खबरदारी गरिरहेका छौं । त्यही रिसइबी राखेर आक्रमण गरिएको हुनसक्छ’ –विश्वासले भनिन् ।
स्ववियु सभापति पौडेलले भने विना जानकारी क्याम्पसमा नेविसङ्घको नयाँ एकाइ गठन गर्न खोजिएपछि विवाद भएको बताए । भिडियोमा देखिएको बन्चरो आफ्नो नभएको उनको दाबी छ । ‘सरोजले बाहिरबाट नयाँ केटाहरू लिएर क्याम्पसभित्र छिरेर मेरा केटाहरूलाई बन्चरो देखाएपछि मैले एक लात्ती हानेर बन्चरो मैले खोसेको हो’ उनले भने, ‘भिडियोमा हेर्दा मलाई अराजक देखे होला । तर, उनीहरू निहुँ खोजेर नआएको भए यो घटना नै हुँदैनथ्यो ।’

पौडेल पार्टीको संस्थापन पक्षधर हुन् । ‘यो जिल्लाले हेर्ने क्याम्पस हैन । एकाइ कमिटी गठन गर्दा केन्द्रले नै प्रतिनिधि पठाउँछ । केन्द्रको अधिकार क्षेत्रभित्र प्रवेश गरेर जिल्लाले हस्तक्षेप गर्न खोजेपछि विरोध गरिएको हो’ –उनी भन्छन् । पौडेलका अनुसार नेविसङ्घका जिल्ला सभापति पोखरेल क्याम्पसमा नयाँ एकाइ समिति बनाउने तयारीका साथ आएका थिए । पोखरेल पार्टीभित्र इतर पक्षधर हुन् । इतर पक्षधरले भने क्याम्पसमा नयाँ एकाइ गठन गर्न नभई स्ववियु निर्वाचनको तयारीका बारेमा बुझ्न गएको बताएको छ ।

विवाद बढेर दुई पक्षबीच झडप भएको जानकारी पाएपछि मोरङ प्रहरीका प्रवक्ता डिएसपी मदन केसी नेतृत्वको टोली पुगेको थियो । क्याम्पसभित्रको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै आएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । ‘क्याम्पसभित्रको सुरक्षाको जिम्मा क्याम्पस प्रशासनले गर्ने हो । क्याम्पस प्रमुखले सुरक्षा चाहियो भनेपछि मात्रै प्रहरी जान मिल्छ । नभए क्याम्पस प्रमुखको अनुमति विना भित्र जान पाइँदैन’ एसपी चिमरियाले भने, ‘यो घटनाको हामीले अनुसन्धान भने गर्दै आएका छौँ । घाइतेको अवस्था पनि मैले बुझेर आएको छु ।’

kutpit