धरान । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ) ले बिहीबार शिलान्यासका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रारलाई गरेको व्यवहार ‘सामान्य मानवीय व्यवहार अनुरूप’ नभएको विज्ञप्तिमा जनाइएको छ ।
बीपी प्रतिष्ठानको क्षेत्राधिकारअन्तर्गत रहेको जग्गामा धरान उपमहानगरका प्रमुख राईले भौतिक संरचना निर्माण गर्नका लागि शिलान्यास गरेपछि उक्त कुरा बुझाउन जाँदा रजिष्ट्रार प्रा.डा. सूर्यप्रसाद सङ्ग्रौलालाई गैरव्यवहार गरेका थिए । नगर प्रमुख राईले रजिष्ट्रार सङ्ग्रौलालाई कर्मचारीले जनप्रतिनिधिसँग कुरा गर्ने हैसियत नै नरहेको भनी अभिव्यक्ति दिएका थिए । प्रतिष्ठानको मूल गेट पश्चिमतर्फको ग्रीनबेल्ट क्षेत्रमा धरान उपमहानगरपालिकाले भौतिक संरचना निर्माण गर्न शिलान्यास गरिएपछि त्यसबारे बताउनका लागि रजिष्ट्रार त्यस स्थानमा पुगेका थिए ।
उक्त समयमा नगर प्रमुख राईले कर्मचारीले जनप्रतिनिधिसँग कुरा गर्ने हैसियत नभएको र आफूले मन्त्रीसँगै कुरा गर्ने भन्दै हप्काउने शैलीमा प्रस्तुत भएका थिए । उक्त विषयलाई लिएर रजिष्ट्रार सङ्ग्रौलाले शुक्रबार विज्ञप्ति जारी गरी उक्त विषयप्रति आपत्ति प्रकट गरेका छन् । नगर प्रमुख राईले स्थानीय सरकारअन्तर्गतको जग्गा रहेकाले बनाउने अधिकार राख्ने जवाफ दिएका थिए । उक्त जवाफ दिएपछि रजिष्ट्रार फर्किएका थिए ।
विज्ञप्तिमा भनिएको छ, ‘धरान उपमहानगरपालिका प्रमुख स्वयम् प्रतिष्ठानको सञ्चालक परिषद्को पदेन सदस्य रहेकोले प्रतिष्ठानकोसंरक्षण, सम्बद्र्धन र प्रवद्र्धनमा महŒवपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा त्योसमेत नभएको पाइयो ।’ प्रतिष्ठान प्रशासनले रजिष्ट्रार सामान्य कर्मचारी मात्रै नभई नेपाल सरकारको मन्त्रिस्तरीय निर्णय बमोजिम प्रतिष्ठान सञ्चालनका लागि पूर्णकालीन पदाधिकारी रहेको विज्ञप्तिमा स्पष्ट पारेको छ ।
रजिष्ट्रार सञ्चालक परिषद्को सदस्य रहने व्यवस्था हुने भएकाले सदस्यलाई अर्को सदस्यले गर्ने व्यवहार गैरजिम्मेवारपूर्ण देखिएको जनाएको छ । गरिमामय सञ्चालक परिषद्को सदस्यको जिम्मेवारी पनि बहन नगरेको ठहर विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा थप भनिएको छ, ‘उक्त अभिव्यक्ति एवम् व्यवहारप्रति बैठकमा उपस्थित सम्पूर्ण पदाधिकारी, सञ्चालक परिषद् सदस्यहरू, डीनहरू, विभिन्न कलेज प्रमुख, विभागीय प्रमुख, महाशाखा प्रमुखहरूलगायत शिक्षक कल्याण समाज एवम् कर्मचारी कल्याण समाजका प्रतिनिधिहरूबाट खेद तथा निन्दा प्रकट गर्ने निर्णय भएको छ ।’
प्रतिष्ठानले आफ्नो भूक्षेत्रमा हुने कुनै पनि प्रकारको हस्तक्षेप एवम् अतिक्रमणलाई सहन गर्न नसक्ने जनाएको छ । नगरले खाली जग्गा अतिक्रमण गर्न लागिएको भन्दै संस्थागत अस्तित्वका लागि पनि कानूनी उपचार खोज्नुपर्ने अवस्था आएको पनि उल्लेख गरिएको छ । यता नगर प्रमुख राईले भने शिलान्यासकै क्रममा धरान उपमहानगरपालिका पनि एउटा सरकार भएको र उक्त सरकारको जग्गामा जे गर्न पाउने पनि अधिकार हुने अभिव्यक्ति दिएका थिए । विज्ञप्तिमा शिलान्यास गरिएको क्षेत्रलाई यथास्थितिमा राखी संवाद र वार्ताको माध्यमबाट समस्या समाधान गर्नका लागि आग्रह गरिएको छ । रजिष्ट्रार सङ्ग्रौलाले जारी गरेको विज्ञप्तिमा संस्थागत संवाद र वार्ताका लागि आवश्यक समन्वय एवम् पहलका लागि अपिल गरेका छन् ।
‘प्रतिष्ठानले चर्चेको जग्गाको संरक्षण एवम्
सम्बर्धनका लागि प्रतिष्ठानका कुलपति, सह–कुलपति तथा जिल्ला प्रशासन
कार्यालय सुनसरीमार्फत् जानकारी गराई कानूनी उपचारको माध्यमबाट निकास
निकाल्ने प्रयास भइरहेको छ’ विज्ञप्तिमा भनिएको छ । धरान उपमहानगरपालिकाले
उक्त क्षेत्रमा तरकारी बजार निर्माण गर्ने भन्दै शिलान्यास गरेको थियो ।
उक्त क्षेत्रमा करिब तीन महिनाभित्र भवन निर्माण गर्ने योजना बनाएको छ । ६५
लाख ७० हजार ८१ रुपैयाँको लगानीमा आउँदो वैशाख २० गते काम सम्पन्न गर्ने
जनाएको छ ।