विराटनगर । नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि दुई पक्षको प्यानलले नै उम्मेदवारी दर्ता गराएका छन् ।
जसमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र एर्जालाल राजवंशीले मनोनयन दर्ता गरेका छन् । यस्तै नेता विनोद ढकाल पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झाले मनोनयन दर्ता गरेका छन् । १ सय ६५ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुन लागेको हो ।
निर्वाचनका लागि ९ सय ११ जना मतदाता छन् । जसमा भूगोलतर्फ ७ सय ४५, जनसङ्गठनतर्फ १ सय २० र मनोनित ४६ गरी जम्मा ९ सय ११ प्रतिनिधि कायम भएका छन् । एमालेले केन्द्रीय निर्वाचन आयोगका सदस्य समीर नेपालको नेतृत्वमा वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको संयोजकत्वमा सात सदस्यीय निर्वाचन कमिटी निर्माण गरेको छ । निर्वाचन आयोगका प्रमुख सुरेशलाल श्रेष्ठले आज (मङ्लबार) बिहान ९ बजेदेखि मतदान हुने जानकारी दिए ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको सन्देश भन्दै उपाध्यक्ष रामबहादुर थापा बादलले उद्घाटन सत्रमा आएर ‘गुटबन्दी सह्य नहुने’ भन्दै सहमतिमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए । उपाध्यक्ष गुरु बराल, उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेश इन्चार्ज शेरधन राई, कोशीका मुख्यमन्त्री हिक्मत कार्की, प्रदेश अध्यक्ष घनश्याम खतिवडा, अर्का नेता भानुभक्त ढकाल, ऋषिकेश पोखरेल सबैले सहमतिमा नेतृत्व छान्नुपर्ने भन्दै निर्वाचन रोक्ने कसरत गरेका थिए । यो टिमले प्रदेशका पूर्वसांसद् राजकुमार ओझालाई अध्यक्षका रूपमा अघि सार्ने तयारी गरिरहेको छ । ओझाको नाममा सहमति गर्न यो समूहले गरेको प्रयास नेता विनोद ढकालले अस्वीकार गरेका छन् ।
ढकाल
टिमले उपाध्यक्षमा अघि सार्न खोजेका सागर थापालाई केही महिनाअघि मात्रै
संस्थापन टिमले पार्टीको साधारण सदस्यबाटै हटाउने कारबाही गरेको थियो ।
विराटनगरको मानगढ खानेपानीमा पार्टीले भनेको भन्दा फरक व्यक्तिलाई
उम्मेदवार बनाएको आरोपमा उनलाई जिल्ला सङ्गठन कमिटीका अध्यक्ष बाबुराम
कार्कीले कारबाही गरेका थिए । अधिवेशनबाट कार्की जिल्ला अध्यक्ष बन्ने
दौडमा थिए । तर, थापालगायतलाई कारबाही गर्न परिचालन गरिएका कार्कीलाई
संस्थापन पक्षले अध्यक्षको उम्मेदवार नबनाउने भएको छ ।