विराटनगर । मोरङको पथरीशनिश्चरे–५ मौलीबारीस्थित बक्राहा खोला किनारमा रहेको पिठारीको रुखमा विवाहित युवा–युवती एकै स्थानमा मृत भेटिएका छन् । 

सोमबार बिहान पिठारीको रुखको एउटै हाँगोमा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहनविक्रम दाहालका अनुसार पथरीशनिश्चरे–५ का अन्दाजी २४ वर्षीय अजय टुडू र झापाको गौरीगञ्ज गाउँपालिका–२ घर तथा मोरङको कटहरी गाउँपालिका–६ माइती भएकी २२ वर्षीया जुबामुनी हस्दा एकसाथ मृत भेटिएका हुन् ।

दुवै जना विवाहित रहेको दाहालले बताए । घाँटीमा नाइलनको एउटै डोरीको पासो लगाएर रुखको हाँगोमा झुन्डिएको अवस्थामा बिहान १०ः३० बजेतिर स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै डिएसपी दाहाल नेतृत्वको टोली घटनास्थल पुगेको थियो । 

प्रहरीका अनुसार घटनास्थल अजयको घरबाट करिब १ किलोमिटर दक्षिणमा पर्छ । मृत फेला परेकी जुबामुनीका पति कान्छा टुडू वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेको प्रहरीले जनाएको छ । उनी घरमा वा माइतीमा कता बस्थिन् भन्ने खुल्न बाँकी छ । मृत फेला परेकामध्ये अजयको घरमा पत्नी तथा ४ र २ वर्षका २ जना छोरा रहेको डिएसपी दाहालले बताए ।

जुबामुनीका डेढ वर्षका छोरा रहेको उनको भनाइ छ । दाहालका अनुसार अजयले जुबामुनीलाई गत आइतबार राति आफ्नै घरमा लिएर आएको पत्ता लागेको छ । अजयको घरमा खाना खाएर राति नै उनी निस्किएको पाइएको प्रहरीले जनाएको छ । सम्पर्क र आउजाउको अवस्था हेर्दा दुवै जना प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

प्रेम सम्बन्धमा समस्या उत्पन्न हुनसक्ने देखेपछि दुवै जनाले सल्लाहमै आत्महत्या गरेको हुनसक्ने डिएसपी दाहालको भनाइ छ । ‘घटनास्थलको प्रकृति हेर्दा र प्रारम्भिक अनुसन्धानबाट दुवै जनाले सहमतिमै आत्महत्या गरेजस्तो देखिन्छ । तर, थप कुरा यकिन भइसकेको छैन । घटनास्थल मुचुल्का उठाएर शवलाई पोष्टमार्टमका लागि पठाउँछौँ । थप कुरा अनुसन्धानपछि मात्रै खुल्नेछ’–उनले भने ।