विराटनगर । विराटनगर भन्सार कार्यालयबाट नापजाँच भएर निस्किएको विद्युतीय सामग्री बोकेको मालवाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।

भन्सार छली गरेको आशङ्कामा इलाका प्रहरी कार्यालय रानी विराटनगरले ४५ लाख मूल्य बराबरको विद्युतीय सामग्री बोकेको ट्रक सोमबार साँझ विराटनगर–१८ आइसिपी अगाडिबाट नियन्त्रणमा लिएको हो । भन्सारबाट जाँचपास भएको भन्दा बढी परिमाणको सामान ल्याइएको सूचनाका आधारमा प्रहरीले भारतीय नम्बर प्लेटको युपी ८७–९१८१ नम्बरको ट्रकसहित सामान र चालकलाई नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार उक्त ट्रकमा भन्सारबाट पास गरिएको भन्दा बढी मूल्यका सामानहरू रहेको सूचना साँझ ५ः३० बजेतिर आएको थियो । त्यसलगत्तै खटिएको इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रकाश थापा नेतृत्वको टोलीले ट्रक नियन्त्रणमा लिएको हो ।

जोशीका अनुसार ट्रकमा विद्युतीय, फुड सप्लिमेन्ट्री, शृङ्गारका सामान, मेडिकल उपकरणजस्ता वस्तु लोड गरिएको प्रज्ञापन–पत्रमा उल्लेख छ । ४५ लाख रुपैयाँ बराबरको सामान र ट्रकसहित चालक भारतीय नागरिक ३५ वर्षीय मोहम्मद अस्लामलाई नियन्त्रणमा लिइएको उनले बताए । सामान लोड गरिएको ट्रक र चालक अस्लामलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि मङ्गलबार राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको जानकारी जोशीले दिए । उनका अनुसार सामान कसको हो भनेर यकिन भइसकेको छैन ।

राजस्व अनुसन्धानले अनुसन्धान गरेपछि नै थप कुरा पत्ता लाग्ने जोशीको भनाइ छ । प्रहरीले नियन्त्रणमा लिएर बुझाएको ट्रकको विषयमा राजस्व अनुसन्धान कार्यालय सुनसरी इटहरीले थप अनुसन्धान सुरु गरेको छ । अनुसन्धान पूरा गरेपछि मात्रै राजस्व छली भए नभएको पत्ता लाग्ने राजस्व अनुसन्धान कार्यालयले जनाएको छ । विराटनगर भन्सार कार्यालयका प्रवक्ता सुमित गुप्ता भन्सार जाँचपास भएर निस्किएको ट्रक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिनु सामान्य प्रक्रिया भएको बताउँछन् । ‘यो नियमित र सामान्य प्रक्रिया हो । शङ्का लागेमा कुनै गाडीलाई प्रहरीले अनुसन्धानको दायरामा ल्याउन सक्छ’–उनले भने ।

गुप्ताले काम गर्ने क्रममा केही कमजोरी भए पनि तस्करीलाई प्रश्रय दिने खालका कुनै गतिविधि भन्सारबाट नभएको बताए । ‘पहिलेका प्रमुख सरुवा भएर जानुभएको छ । सोमबारदेखि नयाँ प्रमुख आउनुभएको छ । भन्सारबाट तस्करी हुने कुरा सम्भव छैन’–उनले भने । विराटनगर भन्सार प्रमुखका रूपमा उमेश श्रेष्ठ आएका छन् । यसअघिका प्रमुख ज्ञानेन्द्र ढकालले सोमबारदेखि औपचारिकरूपमा बिदा लिएका छन् ।