इटहरी । प्रतिबन्धित साना आकारका ग्याँस सिलिन्डरहरू पूर्वी बजारमा छ्यापछ्याप्ती देखिन थालेका छन् ।
२०७२ सालको विनाशकारी भूकम्पपश्चात् सानाखालका सिलिन्डरहरू बिक्रीमा प्रतिबन्ध लागेको थियो । अहिले इटहरी, तरहरा, धरान, विराटचौक, दुहबी, बेलबारीका बजारमा बिक्रीका लागि राखिएको भेटिएको छ । २०७२ सालको भूकम्पपश्चात् गरिएको अनुगमनमा पूर्वी बजारबाट ६ सयभन्दा बढी साना सिलिन्डर प्रसाशनले जफत गरी नष्ट गरेको थियो । २०७४ को स्थानीय निर्वाचनपछि बजार अनुगमनको जिम्मा स्थानीय सरकारलाई आएको छ ।
स्थानीय सरकारअन्तर्गत उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन गर्ने अधिकार रहेको छ । इटहरी उपमहानगरकी तत्कालीन उपप्रमुख लक्ष्मी गौतमको पालामा साना सिलिन्डरहरू बिक्री वितरणमा रोक लगाइएको थियो । ०७४ देखि ०७७ सम्म इटहरीको बजारमा साना सिलिन्डर बिक्रीमा रोक लगाइएको निवर्तमान उपप्रमुख लक्ष्मी गौतम बताउँछिन् । ‘त्यतिबेला म स्वयम् बजार डुलेर जफत गर्ने गरेको थिएँ । अहिले फेरि बजारमा देखिन थालेका रहेछन्, यो बिक्री गर्न दिनुहुँदैन्थ्यो’–उनले भनिन् ।
विशेषगरी भारतबाट नेपालमा काम गर्नका लागि आउने श्रमिकहरूले नेपालमा प्रयोगमा ल्याउने गरेका छन् । एक ठाउँबाट अर्को ठाउँमा लान सजिलो भएका कारणले पनि खरिद गर्ने गरेको वराहक्षेत्र नगरपालिका–९ प्रकाशपुरमा काम गर्दै आएका अजमुल मियाँले बताए । उनले भने, ‘बोकेर हिँड्न सजिलो छ । पैसा पनि कम लाग्छ । एकचोटी भरेपछि एक महिना पुगिहाल्छ ।’ उनले नेपालमा प्रतिबन्ध भएकोबारे थाहा नभएको बताए । ‘खै, खतराबारे त मलाई थाहा छैन । हामी यही चलाउँछौँ’–उनले । यस्तै अर्का भारतीय श्रमिक सहादत मुस्ताकले भने, ‘मैले भारतको फारबिसगञ्जबाट नै लिएर आएको थिएँ । सीमामा प्रहरीहरूले केही भनेनन् । हातमै झुण्ड्याएर ल्याएको थिएँ ।’ उनले भारततिर यसको मूल्य ९ सय रुपैयाँ पर्ने र गाउँघरतिर चल्ने गरेको बताए ।
वर्तमान उपप्रमुख सङ्गीता चौधरीका अनुसार नेतृत्व सम्हालेको अढाई वर्षभित्र २१ पटक बजार अनुगमन गरे पनि सिलिन्डरको विषयमा ध्यान नपुगेको बताउँछिन् । उनले यस विषयमा कानून बनाएर प्रभावकारी ढङ्गले कार्यान्वयन गर्नुपर्ने बताइन् । उनले यस विषयमा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी अघि बढ्ने पनि जानकारी गराइन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार बजार अनुगमनको जिम्मा अहिले स्थानीय सरकारअन्तर्गत उपप्रमुखको नेतृत्वमा हुने गरेको भए पनि प्रभावकारी नभएको गुनासो आउने गरेको बताए ।
प्रशासन कार्यालयको टोलीले अनुगमन गरेको बेला
साना सिलिन्डरहरू बजारमा नदेखिएको प्रजिअ मिश्रले बताए । त्यस्ता
प्रतिबन्धित सिलिन्डर बिक्री गरेको देखिए या भेटिए तुरुन्त जफत गर्ने उनले
दाबी गरे । साना आकारका सिलिन्डरहरू प्रयोगका हिसाबमा जोखिम रहेकाले नेपाल
सरकारले नै बिक्री वितरणमा रोक लगाएको उनले बताए । नियमनकारी निकायले
नियमित बजार अनुगमन नगर्दा साना सिलिन्डरहरू पुनः देखिन थालेका हुन् ।
यस्ता सिलिन्डरहरू भारतीय नाकाहरूमा नेपाल भित्रिने गरेको बताइन्छ ।
नेपालमा क्यारिङमार्फत् हरिपुर, भुटाहा, कोशी ब्यारेज, भण्टाबारी,
जोगवनीलगायत क्षेत्रबाट आउने गरेका छन् ।