भद्रपुर । हराउँदै गएको कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले बनाइएको ‘बहुआयामिक सांस्कृतिक सङ्ग्रहालय’ हालसम्म सञ्चालनमा आउन सकेको छैन । 

झापा मेचीनगर नगरपालिका–११ मा निर्माण गरिएको ‘सङ्ग्रहालय’ अलपत्र परेको हो । स्थानीय बलभद्र माध्यमिक विद्यालयको तीन बिगाहा जग्गा भाडामा लिएर २०७८ सालमा नगरले ‘बहुआयामिक सांस्कृतिक सङ्ग्रहालय’ को विभिन्न संरचना निर्माण गरे पनि हालसम्म सञ्चालनमा आउन सकेको छैन । २०७५ सालमा आदिबासी जनजातिहरूको सङ्ग्रहालय बनाउने योजना नगरले अघि सारेको थियो । विस्तृत परियोजना प्रस्ताव (डीपीआर) मा बहुजातीय सांस्कृतिक सङ्ग्रहालय बनाउने गरी विभिन्न भौतिक संरचनाको लागत अनुमानसमेत नगरपालिकाले गरेको थियो । सङ्ग्रहालयको निर्माण कार्य तीन चरणमा सम्पन्न भयो । पहिलो चरणमा सङ्ग्रहालय परिसरको पक्की घेराबेरा भएको थियो ।

दोस्रो चरणमा स्वागतद्वार, सार्वजनिक शौचालय, टिकट घर र पहुँच मार्गको निर्माण भयो । तेस्रो चरणमा पाँचवटा ठूलो हलसहितको भवन निर्माण भएको पाइएको छ । खनाल निर्माण सेवा मेचीनगर र ब्लूस्टार कन्स्ट्रक्सन प्रा.लि. काठमाडौंले ठेक्कामा संरचनाहरू निर्माण गरेको थियो । पाँचवटा भवन निर्माणका लागि ६८ लाख ५० हजार नौ १८ रुपैयाँको लागत तयार पारिएकोमा खनाल निर्माण सेवाले ४४ लाख ७६ हजार सात सय ३० मा उक्त ठेक्का लिएको थियो ।

त्यसैगरी सङ्ग्रहालयको पहुँच मार्ग, स्वागतद्वार, शौचालय र टिकट काउन्टर निर्माणको ९१ लाख ८१ हजार १ सय ३५ लागत अनुमान गरिएकामा ब्लूस्टार कन्स्ट्रक्सन प्रा.लि.ले ७८ लाख ८४ हजार ६ सय ३९ मा उक्त ठेक्का लिएर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुरूप सम्पूर्ण निर्माण कार्य सम्पन्न पनि भयो । तर,  निर्माण कार्य सम्पन्न भएको वर्षौं बितिसक्दासमेत करोडौं लगानीमा बनेको ‘बहुआयामिक सांस्कृतिक सङ्ग्रहालय’ सञ्चालनमा आउन सकेको छैन । नगरकै गौरव र पहिचानसँग जोडिएको आयोजनाको अवस्था अहिले बेहाल छ । परिसर क्षेत्र गाईवस्तु चराउने गौचरन बनेको छ ।

प्रवेशद्वार खुला छ भने भवनका झ्यालका सिसाहरू फुटेका छन् । भवनमा बिजुली र पानीको सुविधा छैन । भवनहरू रङरोगन गरेर चिटिक्क पारिएका त छन् तर ढोकाका अधिकांश चुकुल काम नलाग्ने भएका कारण गाईबाख्राले गोब्राएर फोहोर बनाएका छन् । शौचालयका ढोका पनि प्रयोगमा नआई भत्किन थालेका छन् । संरचना निर्माणको विषयका सिलसिलामा अख्तियारमा मुद्दा परेका कारण सञ्चालनमा आउन नसकेको मेचीनगर नगरपालिका–११ का वडाध्यक्ष रुद्र डाँगी बताउँछन् । कमसल सामग्री प्रयोग भयो भनेर यस परियोजनाका बारे मुद्दा परेको त्यसबेला इन्जिनियरहरूले बताएको उनी बताउँछन् ।

‘मुद्दा किनारा नलगाई त सञ्चालनमा आउने कुरा पनि भएन होला’–उनले भने । वडाध्यक्ष डाँगीका अनुसार संरचना सञ्चालनमा ल्याउने तयारी अनुरूप आवश्यक डिजाइन गर्नका लागि यसपटक २५ लाख रकम विनियोजन गरिएको छ । पार्किङ, कफी हाउस निर्माणका लागि डिजाइन तथा सरसफाइका लागि रकम छुट्याइएको उनको भनाइ छ । अब चाँडै सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले बताए ।

सामाजिक विकास समिति संयोजक हृदय राजवंशीले वार्षिक एक लाख रुपैयाँ विद्यालयलाई दिने शर्तमा सङ्ग्रहालयका लागि जग्गा भाडामा लिएर संरचना निर्माण गरेको जानकारी दिए । तर, त्यो सम्झौता मौखिक मात्रै थियो, लिखित थिएन । यसैगरी यसअघिकै जनप्रतिनिधिको कार्यकालमा उक्त परियोजना अघि बढेको उनले जनाए । हिउँदे सभा पनि सकिएको र नगरबाट बजेट पनि छुट्टिएकोले छिट्टै सञ्चालनमा आउने उनले बताए । यता मेचीगनरका जनजाति अगुवा नेता ओमप्रकाश खापुङले नगरपालिकाले जुन समुदायको पहिचानका लागि सङ्ग्रहालय निर्माण गरेको हो, त्यस समुदायसँग कुनै छलफल नगरेको बताउँछन् । ‘बनाउनु त बनाइयो, जसका लागि बनाइएको हो उनीहरूले अपनत्व लिने वातावरण नगरपालिकाले बनाउनुपर्छ’–उनले भने ।

मेचीनगरका आदिवासी जनजातिले पहिचानका लागि विगत दशकौंदेखि सङ्ग्रहालयको माग गरेका थिए । जहाँ उनीहरूको परम्परागत कला, मौलिक संस्कृति, भेषभूषा र वाद्यवादनको जगेर्ना हुन सकोस् । जसअनुसार नगरमा सङ्ग्रहालय पनि निर्माण भयो । तर, सञ्चालनमा आएन । मेचीनगरमा मेचे, राजवंशी, धिमाल, किसान, मुण्डा, सन्थाल, कवर लगायतका आदिबासी समुदायको कला, संस्कृति, पहिरन र बाजा संरक्षण गरेर हाल निर्माण भइसकेका भवनलाई तत्काल प्रयोगमा ल्याउने उद्देश्यले निर्माण गरिएको थियो ।