विराटनगर । विराटनगर महानगरपालिका–३ को बालसुधार गृहभित्र शुक्रबार राति साढे ७ बजे दोहोरो झडप भएको छ ।

झडपमा परेर ३ जना घाइते भएका छन् । घाइते हुनेमा दुईजना बालसुधार गृहका क्याप्टेन रहेका छन् । घाइते ३ जना नै २२ वर्षका छन् । २ जना पाँचथर र १ जना सुनसरीका हुन् । घाइते हुनेमा कर्तव्य ज्यान तथा जबरजस्ती करणी मुद्दामा अदालतले सजाय सुनाएकाहरू छन् । सुधार गृहमा क्याप्टेन तथा नाइकेले यातना दिँदा सुरु भएको विवाद झडप रड र दाउरा प्रहारसम्म पुग्यो । नयाँ आएका बालविज्याइँकर्ताहरूलाई पुराना र सुधार गृहका क्याप्टेन र नाइकेले हेप्ने गरेको कारणले शुक्रबार रातिको घटना भएको थियो । जुनियर करिब आधा दर्जन बालकहरू प्रतिकारमा उत्रिएको सुरक्षा निकायका प्रहरी अधिकारीको भनाइ छ । खाना खाएर सुत्ने बेलामा सिनियरहरूले जुनियरलाई हेप्न खोजेपछि विवाद हुँदा एक जनालाई भाटा हानिएको र त्यसको प्रतिकार गर्दा झडप भएको पाइएको घटनाको अनुसन्धान गर्दै आएका मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

घाइतेको उपचार कोशी अस्पतालमा भइरहेको छ भने घटनामा संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । १८ वर्षभन्दा कम उमेरका बालबालिकाको अपराधमा संलग्नता पुष्टि भएमा बालसुधार गृहमा राखिन्छ । यस्ता बालबालिका राखिएको विराटनगरको बालसुधार गृहमा बालकहरूले आफूहरू असुरक्षित रहेको बताउँदै त्यहाँभित्रका अरू बग्रेल्ती समस्या पनि सुनाए । उनीहरूले यो ठाउँलाई सुधार गृह भने पनि यातना गृहजस्तो बनेको गुनासो गरे ।

५० जना क्षमताको बालसुधार गृहको एउटै भवनमा २ सय ४९ जना राखिएको छ । ‘धेरै जना एकै ठाउँमा सुत्दा समस्या छ । कुरा नमिलेर झगडा हुन्छ, ठूलो–सानो एकै ठाउँमा बस्नुपर्छ, नुहाउन पाइँदैन’ बालसुधार गृहमा रहेका एक बालकले भने, ‘घरमा एक महिनासम्म पनि फोनमा बोल्न नपाउँदा छट्पटी हुन्छ । एउटा मात्र फोन छ, पालै आउँदैन, टेन्सन हुन्छ ।’

एउटा तलामा एउटा मात्र शौचालय छ, ५० जनाभन्दा धेरैले प्रयोग गर्नुपर्छ । बालसुधार गृहमा पानीको समस्या पनि उस्तै छ । ‘एक महिनामा एक पटकमात्र नुहाउन पाइन्छ । धेरैजसोलाई लुतो र खटिरा आउने समस्या छ’ सुधार गृहका अर्का बालकले भने, ‘खाना खानेबित्तिकै चर्पी जानुपर्छ, पातलो दाल र भेन्टा, मूलामात्र पाइन्छ ।’ खाना खान धेरै जना एकै ठाउँमा लाइन लाग्नुपर्ने, साँघुरो कोठामा धेरै जना सँगै सुत्नुपर्ने, ठूला तथा नाइकेहरूको दबाव सहनुपर्ने र सुधार गृह प्रशासनको लापरबाहीका कारण बेला–बेला घटना हुने गरेको देखिएको छ ।

आपराधिक घटनामा संलग्नता पुष्टि हुँदा १८ वर्षभन्दा कम उमेरका बाल विज्याइँकर्तालाई उसको सजाय अवधिभर बालसुधार गृहमा नै राखिन्छ । यस्ता धेरै बालक सुधार गृहमै वयस्क भइसकेका हुन्छन् । उनीहरूले अरू साना बालकहरूलाई आफ्नो काबुमा राख्ने, कुटपिट गर्ने आदि गर्छन् ।

वयस्कलाई पनि सँगै राख्दा समस्या
बाल विज्याइँकर्तालाई अपराध गरेछु भन्ने आभास हुन नदिई सामान्य र सहज अवस्थामा तोकिएको सजाय व्यतित गरी पुनः समाजमा घुलमिल हुन सकोस् भन्ने उद्देश्यले बालसुधार गृहमा राख्ने गरिएको हो । तर बालसुधार गृह नै अहिले मानसिक तनाव थप्ने गृहजस्तो देखिएको छ ।

बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ४३ को उपधारा ४ मा बालसुधार गृहमा रहेका बालबालिकाको उमेर १८ वर्ष पुगेमा बानी व्यहोरामा आएको सुधार, आर्जन गरिरहेको सीप आदि ख्याल गरेर अन्य बालबालिकासँग अलग राख्नुपर्ने व्यवस्था छ । तर, १८ वर्ष नाघिसकेका व्यक्तिलाई पनि एकै ठाउँमा राख्ने गरिएको र यसकै कारण सुधारगृहमा कुटपिट र झडपका घटना हुने गरेका छन् । विराटनगरको  सुधार गृहमा झडप हुँदा रडमेत प्रहार भएको थियो । घटनामा संलग्नहरू १८ वर्ष नाघिसकेका थिए ।

सुधार गृहबाट फरार पनि हुने गरेका छन् । केही वर्षअगाडि विराटनगरस्थित बालसुधार गृहबाट बालकहरू थुपै्र पटक भागेका छन् । तीन वर्षअगाडी पनि दुई जना बन्दी बालक फरार भए । ज्यान मार्ने उद्योग र जबरजस्ती करणी आरोपमा पुर्पक्षका लागि सुधार गृहमा राखिएका १७ वर्षीय दुई बालक तीन तला माथिबाट हाम्फालेर फरार भएका थिए । मोरङ र झापा घर भएका तामाङ र पराजुली थर भएका दुई बालक बालविज्याइँको आरोपमा करिब एक वर्षदेखि विराटनगर–३ स्थित बालसुधार गृहमा बन्दी थिए । उनीहरू सुधार गृहको तीनतला माथि रहेको टिभी हेर्ने बहानामा झ्यालको ग्रिल निकालेर फरार भएको खुलेको थियो । फरार भएका उनीहरूलाई त्यसबेला मोरङ प्रहरीले पाँच दिनपछि झापादेखि पक्राउ गरेर ल्याएको थियो ।

केही वर्षअगाडि पनि बिहान २ः५५ बजे चार जना बालक फरार भए । फरार भएका चार जनालाई पछि प्रहरीले पक्राउ गरेको थियो । फरार भएका तीनजना जबरजस्ती करणी मुद्दामा कैद सजाय तोकिएर कैद भुक्तान गर्दै आएका विज्याइँकर्ता हुन् भने एक जना हातहतियार खरखजाना मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका बन्दी थिए । उनीहरूको घर सोलुखुम्बु, सङ्खुवासभा, उदयपुर र झापा हो ।

नाबालक हुँदा सुधार गृहमा राखिए पनि बालिग भइसक्दासम्म सुधार गृहमै राख्न अदालतको आदेशका कारण समस्या भएको बालसुधार गृह विराटनगरका इन्चार्ज मिलन चौहानले बताए । विराटनगर बालसुधार गृहमा अहिले रहेका २ सय ४९ मध्ये १८ वर्ष माथिका १ सय २३ जना रहेका छन् । १ सय २६ जना १८ वर्ष उमेर समूहका छन्  । १८ वर्षभन्दा माथिकालाई व्यवस्थापन गर्न कठिन भएको सुधार गृहका इन्चार्ज चौहानले बताए ।

सरकारलाई हाइसञ्चो
कानूनी विवादमा परेका १८ वर्षमुनिका बालकलाई अदालतको फैसला र आदेश अनुसार सुधारगृहमा राखिन्छ । तर, बालक हुँदा सुधारगृहमा राखिएकाहरू अहिले युवा भइसके । ‘एक्कासि झडप भयो, ३ जना घाइते भए । तर, घटनाको कारण थाहा छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ’–उनले भने । घटनाको अनुसन्धानमा मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया आफै खटिएका छन् । चिमरिया नेतृत्वको टोलीले विवाद समाधानका लागि समन्वय गरेको चौहानले बताए ।

सुधार गृहभित्रको अवस्था साम्य बनेपछि मात्रै घाइतेलाई उद्धार गरेर उपचारका लागि पठाउन सम्भव भएको उनको भनाइ छ । उनका अनुसार सुधारगृहको क्षमता ५० जनाको हो । तर, शुक्रबारसम्म २ सय ४९ जनालाई राखेको पाइएको छ । उनीहरू बालक हुँदै कानूनी विवादमा परेर सजाय भुक्तान गरिरहेका छन् । तर, व्यवस्थापन गर्ने सम्बन्धी कानूनको अभावले बालिग भइसकेपछि पनि सुधार गृहभित्रै राखिन्छ ।

युवा अवस्थामा पुगेकालाई बालकहरूसँगै राखिएको छ । सुधारगृहका प्रमुख चौहानले क्षमताभन्दा धेरैलाई राख्नु पर्दा समस्या बढेको बताए । उनले सुधारगृहभित्रको अवस्था समस्याग्रस्त रहेको सुनाए । सिविन नामक गैरसरकारी संस्थाले हालै गरेको अध्ययनले देशभरिमा सञ्चालित ८ वटै सुधार गृहको कारुणिक र रुग्ण तस्बिर देखापरेको बताएको छ । सुधारको अपेक्षाका बावजुद उनीहरूले थप समस्या भोग्नुपर्ने अवस्था रहेको उसको निष्कर्ष छ ।

‘क्षमताभन्दा अत्यधिक बढी सङ्ख्यामा सबै उमेर समूहका बालबालिकालाई लापरबाहीपूर्वक राख्ने गरिएको छ । १८ वर्षभन्दा माथिका युवाहरू समेत त्यहीँ छन् । बालसुधार गृहमा लागूऔषधका दुव्र्यसनीलाई पनि सँगै राखिएको छ र त्यहाँ लागूऔषधको निर्वाध ओसार–पसार हुने गरेको छ’–सिविनको प्रतिवेदनमा भनिएको छ । देशैभरिका बालगृहमा पछिल्लो समय घटना घट्नुलाई बालबालिकाले पाएको यातना र सास्तीकै उपज भएको प्रतिवेदनमा छ ।

‘बालगृहहरूबाट सार्वजनिक भएका पछिल्ला अप्रिय घटनाहरू यिनै अव्यवस्थाका परिणतिहरू हुन्’ सिविनको प्रतिवेदनमा भनिएको छ, ‘यस अवस्थालाई समयमै सुधार गर्न सकिएन भने बालसुधार गृहहरूमा थप जटिल समस्या वा घटना घट्नसक्ने जोखिम टड्कारो देखिन्छ ।’ देशभरकै युसेफ नेपालले सञ्चालन गरेका ४ र नेपाल सरकारले सञ्चालन गरेका ४ वटा गरी ८ वटा सुधार गृह छन् । ती सबैको अवस्था दयनीय रहेको सिविनको निष्कर्ष छ ।

क्षमताभन्दा बढी बालविज्याइँ रहेको बालसुधार गृहको भौतिक संरचनाको अवस्था एकदमनै दयनीय र कमजोर रहेको गृहका इन्चार्ज चौहानले बताए । ६ फिटको वाल रहेको भौतिक संरचना अभाव कारण बालविज्याइँकर्तालाई राख्न ठूलो चुनौती रहेको उनले बताए ।  ‘एक त क्षमताभन्दा बढी बालविज्याइँकर्ता रहेका छन्, त्यसमा पनि जीर्ण र पुरानो संरचना रहेको छ । अहिले हामीलाई ठूलो समस्या रहेको छ’–उनले भने ।

उनका अनुसार नौ वटा कोठा र एउटा हल रहेको गृहमा एउटा कोठाभित्र २५ जनासम्मलाई राख्नु परिरहेको छ । विभिन्न आपराधिक घटनामा संलग्न भएर अदालतले कैद सजाय र पुर्पक्षको लागि थुनामा पठाएका बालकहरूलाई बालसुधार गृहमा राख्ने गरिएको छ । अदालतले विज्याइँ गरेको ठहर भएका १८ वर्षमुनिका बालबालिकालाई सुधार गृहमा राखेर मनोवैज्ञानिक र व्यवहारमा परिवर्तन ल्याउने गरिन्छ । विज्याइँ गर्ने बालबालिकालाई समाजमा फेरि पुनःस्थापित गराउन यस्तो गरिएको हो । तर, बालसुधार गृहमा क्षमताभन्दा बढी विज्याइँकर्ता हुँदा समस्या आएको चौहानले बताए ।