इटहरी । इटहरीमा व्यवसायीहरूले साना सिलिन्डर बजारबाट गायब बनाएका छन् । ब्लाष्टमा ‘प्रतिबन्धित साना सिलिन्डर छ्यापछ्याप्ती’ शीर्षकमा समाचार प्रकाशन गरेपछि सिलिण्डरहरू नै गायब बनाएका हुन् । नेपालमा साना सिलिन्डर बिक्री वितरण प्रतिबन्धित छ । 

गत बुधबारसम्म इटहरीलगायत आसपासका बजारहरूमा साना आकारका सिलिण्डरहरू बाहिरै देखिने गरी बिक्रीका लागि राखिएका हुन्थे तर हाल ती सिलिण्डर बजारमा देखिएका छैनन् । समाचार आएपछि कारबाहीमा पर्ने डरले व्यवसायीहरूले आफै  हटाएको व्यवसायीहरू नै बताउँछन् । यद्यपि सरकारी कुनै पनि निकायले अनुगमन भने गरेको छैन ।

‘समाचार आएपछि हामी आफैले सचेत हुँदै साना आकारका सिलिण्डर बजारबाट हटाएका हौँ’–हटिया लाइनका भाँडा व्यापारी मनोज चौधरीले भने । आफूले मात्र नभई आसपासका सबैले साना आकारका सिलिण्डर आफ्ना पसलबाट हटाएको उनले बताए । व्यापारीहरूले ती सिलिण्डर गोदाम घरमा लगेर थन्क्याएको बताइएको छ । 

बजार अनुगमन गर्ने निकाय स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय तथा घरेलु उद्योगका कर्मचारीहरू आफैमा चुप भइदिएपछि व्यापारीहरूले साना आकारका सिलिण्डरको बिक्री वितरणलाई तीव्रता दिँदै आएका थिए । 

समाचार प्रकाशनपछि इटहरी उपमहानगरको पनि ध्यानाकर्षण भएको उपमहानगरपालिकाका प्रवक्ता दिवश पोख्रेलले बताए । तत्काल बजार अनुगमन गरेर त्यस्ता प्रतिबन्धित साना आकारका सिलिन्डर जफत गर्ने योजना उपमहानगरले बनाएको जनाएको छ ।