विराटनगर । कोशी प्रदेश सरकार मातहत रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले १४ वटै जिल्लामा रहेका सरकारी अस्पतालहरूमा ल्याव सेवा विस्तार गरेको छ ।

विराटनगर–१४ मा रहेको प्रयोगशालाले कोशी प्रदेशभित्रको १४ जिल्ला अस्पताल र पाँचवटा नगर अस्पतालमा ल्याव सेवा विस्तार गरेको हो । अस्पतालबाट नमुना सङ्कलनको लागि प्रयोगशालाले नेपाल क्यान मुभसँग आइतबार सम्झौता गरेको छ । सम्झौताअनुसार क्यानले जिल्ला अस्पताल र नगर अस्पतालहरूबाट नमुना सङ्कलन गरेर प्रयोगशालासम्म ल्याउनेछ । त्यसपछि प्रयोगशालाले परीक्षण गरेर सम्बन्धित अस्पतालहरूमा रिपोर्ट पठाउने प्रणालीको विकास गरेको छ ।

सम्झौता पत्रमा प्रयोगशालाको तर्फबाट निमिक्त कार्यालय प्रमुख प्रकाशचन्द्र कार्की र नेपाल क्यानको तर्फबाट विराटनगर शाखा प्रमुख सन्दीप तिम्सिनाले हस्ताक्षर गरेका छन् । सर्वसुलभ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा १४ वटै जिल्लाका अस्पतालहरूमा पु¥याउन लागिपरेको कार्यालय प्रमुख कार्कीले बताए । यसअघि उक्त प्रयोगशालाको सेवा मोरङभित्रका अस्पतालहरूमा मात्र सेवा प्रवाह गर्दै आएको थियो । कार्यालय प्रमुखको जिम्मेवारी कार्कीले पाएपछि १४ वटै जिल्लाभित्रका अस्पतालहरूमा सेवा विस्तार गरिएको उनले बताए ।

अहिले मोरङ र सुनसरी जिल्लाभित्रका अस्पतालहरूसँग सम्झौता गरिएको उनले बताए । विस्तारै १४ जिल्ला अस्पताल र ५ वटा नगर अस्पतालहरूमा पनि सम्झौता गर्ने उनले बताए । ‘सम्झौता भएपछि अस्पतालमा नहुने परीक्षणहरू प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाउनेछन् । त्यसको लागि हामीले नेपाल क्यानसँग सम्झौता गरेका छौं । अस्पतालले नमुना सङ्कलन गरेर क्यानलाई पठाउनेछ । क्यानले नमुना पाएपछि परीक्षण गरेर अनलाइनमार्फत् रिपोर्ट सम्बन्धित हस्पिटलमा पठाउनेछौं’ उनले भने, ‘प्रयोगशालामा आएको नमुना यहाँ हुँदैन भनेर हामी कसैलाई पनि फर्काउने छैन । त्यसको लागि हामीले यहाँ परीक्षण नहुने टेष्टहरू राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालासँग पनि सम्झौता गरेका छौं ।’ 

प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जनस्वास्थ्यसँग सम्बन्धित र अस्पतालमा आधारित सम्पूर्ण जानकारी हुने गरेको उनले बताए । यहाँ अत्याधुनिक उपकरणहरुबाट हजार बढी जाँच हुने गरेको छ । नेपाल क्यानको तर्फबाट विराटनगर शाखा प्रमुख सन्दिप तिम्सिनाले सन् २०१९ मा स्थापना भएको क्यानको ७७ वटै जिल्लामा शाखा कार्यालयहरूबाट होम डेलिभरी सेवा दिँदै आएको बताए । प्रदेश जनस्वास्थ्य प्रयोगशालासँग सम्झौता गरेपछि छिटो र छरितो तरिकाले मानव जैविक नमुनाहरू सङ्कलन गरी तोकिएको मापदण्डअनुसार सुरक्षित ढुवानी गर्ने बताए । 

कार्यक्रममा बोल्दै कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपेन्द्र राईले प्रदेश जनस्वास्थ्य प्रयोगशालाले सस्तोमा गुणस्तरीय सेवा दिँदै आएकोले यो सेवा प्रदेशका सबै नागरिकसम्म पु¥याउनु पर्ने बताए । अहिले पनि धेरै नागरिकहरू प्रदेश जनस्वास्थ्यले प्रवाह गर्ने सेवाबारे अनभिज्ञ रहेको बताउँदै मन्त्री राईले स्वास्थ्य जनचेतना फैलाउन जरुरी रहेको बताए । कार्यक्रममा स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलियाले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको सेवा १४ वटै जिल्लामा पु¥याउन मन्त्रालयले सबै प्रकारको सहयोग गरेर अगाडि बढ्ने बताइन् । प्रदेशले गुणस्तरीय र भरपर्दो सेवा प्रदान गर्नुपर्नेमा उनले जोड दिइन् ।