इटहरी।  सीमावर्ती क्षेत्रबाट अवैधरूपमा अखाद्य तेलको ओसार–पसार भइरहेपछि सुनसरी–मोरङ कोरिडोरमा रहेका तेल उद्योगहरू सङ्कटमा परेका छन् ।

भारतीय बजार जोगवनीलगायत सीमावर्ती क्षेत्रहरूबाट तेलहरू भित्रिने गरेको कारण नेपाली तेल उद्योगहरू सङ्कटमा परेको उद्योगीहरू बताउँछन् । सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा हाल नौ वटा तेल उद्योगहरू सञ्चालित छन् । मोरङका तेल उद्योगी श्रवण अग्रवालका अनुसार कोरोना भाइरसको महामारीयता औद्योगिक क्षेत्रका पाँचवटा तेल उद्योगहरू बन्द भइसकेका छन् भने सञ्चालनमा रहेकाहरूले पनि उत्पादन क्षमता घटाउँदै लगेका छन् ।

भारतीय बजारमा चोरी–पैठारी भएर नेपाल भित्रिने टिनको तेलले नेपालमा उत्पादित तेलहरूको बिक्री घटाउँदै गएको अग्रवालको भनाइ छ । उनका अनुसार टिनको तेल पूर्ण रूपमा मिसावटयुक्त हुन्छ । यहाँ उत्पादन भएका तेलभन्दा प्रतिलिटर झण्डै ७० रुपैयाँसम्म सस्तो पर्ने  गरेका कारण नेपाली उद्योगबाट उत्पादित तेलहरू बिक्री कम हुने गरेको उनी बताउँछन् । नेपाली तेलभन्दा दश, बीस रुपैयाँ सस्तोमा पाइने भएकाले नेपाली ग्राहकहरूले भारतीय तेल खरिद गर्ने  गरेको उद्योगीहरूको भनाइ छ । उनी विगत १६ वर्षदेखि भटमास, तोरी, सनफ्लावरजस्ता खानेतेलहरू उत्पादन तथा बिक्री वितरण गर्दै  आएका छन् । करिब २२ करोडको लागतमा स्वस्तिक तेल उद्योग सञ्चालनमा ल्याएको उनले जानकारी दिए । 

चोरीपैठारी भएर आउने भारतीय तेलले एकातिर नेपालका तेल उद्योगलाई सङ्कटमा पार्दै छ भने अर्को तर्फ उपभोक्ताको स्वास्थ्यमा समेत असर पु¥याउने गरेको अर्का तेल उद्योगी एबीसी आयल इन्डष्ट्रीका सञ्चालक सञ्जय कोइरालाले बताए । दुई वर्षअघि सुनसरीको दुहबीमा स्थापना गरेको उद्योगले अहिले उत्पादन क्षमता घटाउनुपर्ने  बाध्यता आइपरेको उद्योगी कोइराला बताउँछन् । सुरुवाती समयमा दैनिक २ सय टन खाने तेल उत्पादन गर्दै  आएको उद्योगले अहिले मरेर दैनिक ९० टन मात्रै उत्पादन गर्ने  गरेको उद्योगी कोइराला बताउँछन् । उनले करिब ४५ करोडको लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याएको बताए । सरकारले भारतीय सीमा क्षेत्रबाट अवैधरूपमा भित्रिने तेलहरूलाई कडाइ नगर्दा नेपाली तेल उद्योगहरू सङ्कटमा परिरहेको उनी बताउँछन् ।

यता अर्का उद्योगी देवकीनन्दन अग्रवाल भारतीय नाकाहरूबाट हुने चोरी तस्करीका कारण देशका उद्योगधन्दा व्यवसायहरू डुब्दै गएको बताउँछन् । नाकालाई कडाइ गरे मात्रै नेपाली उद्योगबाट उत्पादित सामग्रीबिक्री हुने उनको भनाइ छ । उपभोक्ताले समेत गुणस्तरभन्दा सस्तो मूल्यलाई बढी प्राथमिकता दिँदा नेपाली तेल बजारमा टिक्नै नसक्ने अवस्थामा आएको उनको भनाइ छ । नेपाली उद्योगीको समस्यालाई सम्बोधन गर्न भन्दै प्रदेश सरकार र सङ्घीय सरकार समय पनि पटक–पटक डेलिगेसन गएको अग्रवाल बताउँछन् । प्रदेश सरकार र स्थानीय सरकार विराटनगर महानगरले केही समय जोगवनी नाकामा कडाइ गरेजस्तो देखिए पनि अहिले समस्या उस्तै रहेको अग्रवाल सुनाउँछन् । उनको उद्योगबाट तोरी, सस्र्युं, रिफाइन, भटमास, सूर्यमुखीलगायतका खाने तेलहरू उत्पादन हुँदै आएको छ ।

यता सुनसरी र मोरङका प्रमुख जिल्ला अधिकारीहरूले भने भारतसँग सीमा जोडिएका नेपाली नाकाहरूमा निगरानी र गस्ती बढाएको दाबी गर्दै आएका छन् । सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आफू जिल्लामा आएदेखि नै नाकाहरूमा कडाइका साथ निगरानी बढाएको बताए । खाद्यान्नको हिसाबमा पनि तस्करी हुन नदिएको उनको दाबी छ । यस्तै मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आफ्नो क्षेत्रको सीमानाकाहरूमा विशेष निगरानी बढाएको बताए । खाद्यान्नको हिसाबमा भने त्यस्तो कडाइ नगरिए पनि तस्करी भने हुन नदिएको उनको दाबी छ ।