भद्रपुर । बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई कारागार पठाइने भएको छ ।

कारागार चलानको अदालती आदेशपछि पनि करिब दुई महिनादेखि बी एन्ड सी अस्पतालमै रहेका शिवाकोटीलाई कारागार पठाउने तयारी गरिएको हो । उनको स्वास्थ्यमा सुधार आएकोले कारागारमा ल्याउने तयारी भइरहेको झापा कारागारका प्रमुख रेवन्त भट्टराईले जानकारी दिए । उनले शिवाकोटीलाई राख्न झापा कारागारमा भौतिक संरचना थप गर्ने कि सुविधा भएको अर्को कारागारमा पठाउने भन्ने विषयमा छलफल चलिरहेको जानकारी दिए ।

गत पुस २२ गते झापा जिल्ला अदालतले शिवाकोटीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको थियो । आदेशमा अस्वस्थ्य रहेका शिवाकोटीको उपचारको व्यवस्था मिलाउनसमेत भनिएको थियो । त्यही आदेशबमोजिम झापा कारागारले उनलाई बी एन्ड सी अस्पतालमा रहेर उपचार गर्न दिएको हो ।

झापा जिल्ला अदालतले थुनामा राख्न दिएको आदेशविरुद्ध शिवाकोटीले उच्च अदालत इलाममा पुनरावेदन दिएका छन् । झापा जिल्ला अदालतको आदेश बदर गरी पाऊँ भन्दै उनले ७३ नं. अन्तर्गत निवेदन दिएका हुन् । यता झापा जिल्ला अदालतले आगामी चैत ११ गते बकपत्रका लागि बोलाएको पीडित बालिकाका एक आफन्तले जानकारी दिए । 

घरेलु कामदारको रूपमा राखिएकी १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख शिवाकोटी गत मङ्सिर २४ गते पक्राउ परेका थिए । पक्राउ परेपछि उनी हालसम्म एक दिन पनि प्रहरी हिरासत र कारागारमा बसेका छैनन् । बी एन्ड सी अस्पतालमै उनी बस्दै आइरहेका छन् ।