विराटनगर । कोशी प्रदेशको राजधानी रहेको सहर विराटनगरको खानेपानी संस्थानले वितरण गरेको धारामा लेदोमिश्रित धमिलो पानी आउने गरेको उपभोक्ताहरूले बताएका छन् ।

विराटनगर–४ का त्रिलोचन गौतमले धारामा लेदोमिश्रित धमिलो पानी आउन थालेको महिनौं भइसकेको बताए । जसले गर्दा स्थानीयहरू बिरामी हुँदै आएका छन् । जनस्वास्थ्यलाई गम्भीर असर हुन थालेपछि स्थानीयले संस्थानको पानी उपभोग गर्न छाडेको गौतमले बताए । अहिले विकल्पको रूपमा चापाकलको पानी फिल्टर गरेर प्रयोग गर्दै आएको उनले सुनाए । ‘धाराको पानी प्रयोग नगरेको महिनौं भयो । धारा खोल्यो धमिलो पानी आउँछ । त्यो पनि लेदोसहितको आउने गरेको छ । 

यस विषयमा हामीले खानेपानी वितरण गर्ने विराटनगरको देवकोटा चोकमा रहेको खानेपानी संस्थानका कार्यालय प्रमुखलाई पनि पटक–पटक भनिसक्यौँ । यहाँका स्थानीय कयौं पटक पानीको समस्यालाई लिएर डेलिगेसन पनि गयौँ । तर, अहिलेसम्म खानेपानीमा कुनै सुधार भएको छैन’ धाराको धमिलो पानी देखाउँदै उनले भने, ‘स्थानीय सरकारले प्रयत्न गरेको छैन । हामीले यहाँका जनप्रतिनिधिहरूलाई पनि भन्यौँ ।

अहिलेसम्म समस्याको समाधान भएन ।’ संस्थानको पानी प्रयोग नगरे पनि पानीको महसुल चाहिँ महिनैपिच्छे तिर्दै आएको बताए । प्रयोग नगरेको पानीको महसुल भने तिर्दै आएको विराटनगर–४ का अर्जुन चूडालले बताए । ‘कञ्चनबारीमा फिल्टर विनाको बोरिङ जडान भएपछि लेदोसहितको धमिलो पानी आउने गरेको छ । धमिलो पानी आएर
प्रयोग गर्न छोडेपछि हामीले खानेपानी संस्थानदेखि वडा हुँदै महानगरपालिकासम्म पुगेर यहाँको समस्या सुनायौँ । तर, कतैबाट सुनुवाइ भएन । हामी पानीको समस्याले आजित भइसक्यौँ । 

अब अदालतमा गएर मुद्दा हाल्ने तयारी गरेका छौँ’–उनले भने । विराटनगर–४ मा संस्थानको पानी प्रयोग गर्नेको सङ्ख्या एक हजारभन्दा बढी घरधुरी छन् । अहिले सबैको घरमा लेदोसहितको धमिलो पानी आउने गरेको यहाँका स्थानीय बताउँछन् । विराटनगर–४ का राजन भट्टराईको परिवारले पनि धारामा आएको पानी खाँदैनन् । धारामा धमिलो पानी आउने हुनाले प्रयोग गर्न छाडेको उनी बताउँछन् । उनले धाराको पानीले कपडा धुँदासमेत दाग बस्ने गरेको सुनाए । त्यहाँका बासिन्दाले धाराको पानी गाईवस्तुलाई समेत नदिने गरेको बताए । धारा जडान गरेका अधिकांश घरपरिवारको गुनासो यस्तै छ ।

खानेपानी संस्थानको धारामा फोहोर पानी आउँदा उपभोक्ता आफैले जडान गरेको वा छिमेकीको ट्युबवेल (चापाकल) को पानी खान बाध्य छन् । ‘पानीको महसुल तिर्दैनौँ’ विराटनगर–४ वडावासीले खानेपानी संस्थानले वितरण गरेको पानी उपभोग नगरे पनि महसुल तिर्नुपर्ने बाध्यता रहेकाले अब नतिर्ने बताएका छन् । एक हजारभन्दा बढी घरधुरी परिवारले पटक–पटक गुनासो राखे पनि सुनुवाइ नभएकाले अब भने महसुल नतिर्ने चेतावनी दिए । ‘हामी स्वच्छ पानी वितरण गर्नुपर्ने भन्दै पटक–पटक खानेपानी संस्थानमा डेलिगेसन गएका छौँ तर अहिले पनि कुनै सुधार भएको छैन । हामीले फागुनसम्म नखाएको खानेपानीको पनि महसुल भने महिनैपिच्छे तिरेका छौँ’ विराटनगर–४ का अर्जुन चूडालले भने, ‘स्वच्छ पानी उपभोग गर्न नपाएसम्म अब हामी दूषित पानीको महसुल नतिर्ने निर्णय गर्दैछौँ ।’ 

फिल्टर राख्न महानगरको असहयोग विराटनगर–४ नम्बर वडा कार्यालयछेउमा खानेपानी संस्थानले बोरिङ राखेको छ । बोरिङमा फिल्टर नहुँदा आइरनमिश्रित पानी आउने गरेको संस्थान आफै स्वीकार गर्छ ।  फिल्टर जडानका लागि खानेपानी संस्थानले जग्गा उपलब्ध गराइदिन विराटनगर–४ नम्बर वडा कार्यालय र विराटनगर महानगरपालिकालाई आग्रह गरेको जनाएको छ । खानेपानी संस्थान शाखा कार्यालय विराटनगरका प्रमुख सन्तोषकुमार रौनियारले फिल्टर नहुँदा आइरन मिसिएको पानी आएको स्वीकार गरे । 

‘खानेपानी संस्थानले फिल्टर प्लान्ट राख्नका लागि महानगरपालिकालाई जग्गा उपलब्ध गराइदिनू भनेको हो । अहिलेसम्म उपलब्ध भएको छैन । प्लान्ट नभएको कारणले यस्तो समस्या भएको हो’–उनले भने । महानगरपालिकाले जग्गा उपलब्ध नगराउँदा गतवर्ष खानेपानी संस्थानले विनियोजन गरेको ५० लाख रुपैयाँ बजेट पनि फ्रिज भएर गएको खानेपानी संस्थानले जनाएको छ । ‘वडा कार्यालयको छेउमा फिल्टर राख्न नमिल्ने र कमर्सियल एरियामा राख्न हुँदैन भनेर महानगरपालिकाले भनेको रहेछ । त्यही भएर अहिलेसम्म फिल्टर राख्न ढिलाइ भएको हो’–चूडालले भने ।  विराटनगर–४ का वडाध्यक्ष जितेन थापाले वडा कार्यालयको भवन नयाँ आफ्नै भवनमा सरेपछि खानेपानीको फिल्टर वडाको पुरानै भवनछेउमा राख्न सुझाव दिएको बताए । 

‘वडा कार्यालयको भवन बनिसक्न लागेको छ । बजेट अभावले अहिले निर्माण पूरा भएको छैन । निर्माण सकिएपछि वडा कार्यालय सर्ने छ । त्यसपछि फिल्टर यही पुरानो वडा कार्यालयछेउमा राख्न मेयर र खानेपानी संस्थानलाई भनेको छु । मेरोतर्फबाट कुनै पनि असहयोग छैन ।’ खानेपानी संस्थान शाखा विराटनगरका प्रमुख रौनियारले कञ्चनबारीमा बोरिङ जडान भए पनि फिल्टर प्लान्ट नहुँदा समस्या भएको उनले बताए । ‘पानीको उत्पादन बढेपछि फोर्सले पाइपलाइनमा जमेको आइरन सर्वसाधारणको धारामा जाने गरेको छ’ उनले भने, ‘पाइपलाइनमा जमेको आइरन सफाइ गर्ने काम भने भइरहेको छ ।’ महानगरमा समुदायले उपभोक्ता समितिमार्फत् मानगढ, जामुनगाछी, जतुवा र पिचरामा ओभरहेड ट्याङ्कमार्फत् खानेपानी वितरण गर्दै आएको छ ।