विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकिएसँगै नेपाली काङ्ग्रेस निकट विद्यार्थी सङ्गठनको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा अराजकता बढेको छ ।
नेविसङ्घमा आबद्ध विद्यार्थीहरूको एकपछि अर्को गर्दै अराजकता बढेको हो । महेन्द्र मोरङ क्याम्पसका काङ्ग्रेस नेता शेखर कोइरालानिकट केही विद्यार्थी नेताहरूले स्ववियु निर्वाचन समितिको कार्यालयमा आगो लगाएर निर्वाचन अधिकृत डा. सुशीलकुमार अधिकारीलाई बुधबार साढे १२ बजे कोठामै थुने । अधिकारीलाई कोठामा थुनेर विद्यार्थीहरूले बाहिरबाट तालाबन्दी गरे । त्यसको केही समयपछि प्रहरीको टोली पुगेर ताला फोडेर अधिकारीको उद्धार गर्यो ।
प्रहरीले आगजनी गर्ने चारजना विद्यार्थी नेतालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेविसङ्घका केन्द्रीय सदस्य योगराज दाहाल, पूजा विश्वास, जिल्ला सचिव गुड्डु साह र आयुष दाहाल रहेका छन् । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । प्रहरीले उनीहरूलाई विराटनगरस्थित मुनालपथ नजिकबाट पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । ‘क्याम्पसभित्रको निर्वाचन कार्यालयमा आगजनी गर्ने र निर्वाचन अधिकृतलाई थुन्ने समूहलाई हामीले नियन्त्रणमा लिएका छौं । अहिले मोरङ प्रहरीमा ल्याएर घटनाको अनुसन्धान भइरहेको छ’–डिएसपी जोशीले भने ।
उनीहरूले आगजनी गर्नु र निर्वाचन अधिकृतलाई थुन्नुको कारण भने नेविसङ्घको आधिकारिकताको विवाद हो । काङ्ग्रेसनिकट नेविसङ्घमा पार्टी सभापति शेरबहादुर देउवा समूह र डा. शेखर कोइराला समूह छन् । महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचनको लागि दुइटा नेविसङ्घ दर्ता भएका थिए । तर, निर्वाचन समितिले मङ्गलबार राति केन्द्रले दिएको आधिकारिताको चिठी लिएर गएपछि देउवा पक्षबाट उम्मेदवार बनेका प्रज्वल विष्टको समूहलाई नै आधिकारिक मान्दै चुनावी समूहको नाम सार्वजनिक ग¥यो । जसमा कोइराला समूहबाट उम्मेदवार बनेका नेविसङ्घका केन्द्रीय सदस्यसमेत रहेका योगराज दाहालको समूहलाई स्वतन्त्र प्यानलको मान्यता दिइयो । त्यसपछि आक्रोशित बनेका उनीहरूले निर्वाचन अधिकृत अधिकारीलाई थुन्ने र निर्वाचन कार्यालयमा आगो लगाउने काम गरेका हुन् ।
नेविसङ्घको दुई गुटको अराजकता यसअघि पनि देखिँदै आएको थियो । गत फागुन १५ गते नेविसङ्घको संस्थापन गुटले शेखर गुटका विद्यार्थी नेताहरूमाथि हातहतियारसहित आक्रमण गरेका थिए । नेविसङ्घका नेतासमेत रहेका क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेल, सचिव सनिम ठकुरी र नेविसङ्घकै सदस्यहरू महमद सलमानलगायतले नेविसङ्घ मोरङका सभापति सरोज पोखरेललाई आक्रमण गरेका थिए । हाफ ज्याकेटको भित्री गोजीमा राखेको छोटो बिँड भएको बञ्चरो निकालेर त्यहाँ पुगेका सभापति पौडेलसहितले सरोजलाई सख्त घाइते हुनेगरी आक्रमण गरेका थिए । त्यसबेला पोखरेलसहित र चुले भाइ भनिने आयुष दाहाल, गुड्डु साह, पूजा विश्वास, प्रशान्त यादव र सुविक्षा थापा मगर घाइते भएका थिए । यसरी झगडा हुनुमा त्यहाँ कुनै कारण थिएन । नेपाल विद्यार्थी सङ्घकै शेखर कोइराला समूह क्याम्पस एकाइ गठन गर्न त्यहाँ पुगेको थियो । उनीहरू आफ्नो समूहबाहेकलाई त्यहाँ एकाइ कमिटी बनाउन नदिने तयारीमा थिए । त्रिभुवन विश्वविद्यालयले स्ववियुको निर्वाचन आगामी चैत ५ गतेका लागि तोकेको छ ।
स्ववियुकै आडमा कलेजमा एकपछि अर्को गुण्डागर्दी भइरहेको अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष अभिमन्यु यादव बताउँछन् । ‘क्याम्पसमा गुण्डागर्दी बढेको छ । नेविसङ्घले स्ववियुको आडमा त्यस्तो गरिरहेको छ । यसलाई रोक्न आवश्यक छ’–यादवले भने । उनले नेविसङ्घले डर, त्रास, धाकधम्की दिएर मोरङ विराटनगर बाहिरका विद्यार्थीलाई निर्वाचनमा आउन नसक्ने वातावरण बनाउन खोजेको बताए । ‘अहिलेकै अवस्थामा निर्वाचन भए हार्ने डरले यो दुई समूह आपसमा मिलेरै यो गरिरहेका छन्’ उनले भने, ‘उनीहरू स्ववियु निर्वाचन नहोस् भन्ने चाहन्छन् ।’
क्याम्पसका विद्यार्थीको भनाइअनुसार कोइराला पक्षका नेता तथा पूर्वमुख्यमन्त्री केदार कार्की र काङ्ग्रेस मोरङ उपसभापति तथा विराटनगर महानगर प्रमुख नागेश कोइराला दुई समूहमा बाँडिएकाले विद्यार्थीबीच विवाद झनै बढेको हो । ‘यो क्याम्पसमा नेविसङ्घले यसअघि पनि बहुमत जितेको हो । अहिले पनि बहुमत जिताएर बिदा हुन चाहन्छु’ स्ववियु सभापति पौडेलले भने, ‘तर, यहाँ पूर्व मुख्यमन्त्रीहरूले अनावश्यक हस्तक्षेप र चलखेल गरेर नेविसङ्घलाई हराउन खोजिरहनुभएको छ । मुख्यमन्त्री भइसकेको व्यक्तिले कलेजमा डिस्टर्व गर्ने काम भइरहेको छ ।’ उनले पूर्व मुख्यमन्त्री कार्कीलाई लक्षित गर्दै भने, ‘यस्तो काम नहोस् म उहाँलाई चेतावनी दिन चाहन्छु ।’
क्याम्पस प्रशासनले भने निर्वाचन प्रक्रियालाई सुरक्षित र निष्पक्ष बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ । विद्यार्थी सङ्गठनहरूबीच बढ्दो तनावलाई मध्यनजर गर्दै क्याम्पस प्रशासनले सबै विद्यार्थी सङ्गठनहरूलाई संयमित हुन र लोकतान्त्रिक प्रक्रियाको सम्मान गर्न आग्रह गरेको छ । प्रहरी प्रशासनले पनि क्याम्पस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाएको छ । उक्त क्याम्पसमा विभिन्न १९ वटा समूहले स्ववियु निर्वाचनमा भाग लिँदैछन् । क्याम्पसमा ५ हजार ५ सय जना मतदाता विद्यार्थी रहेका छन् ।
अखिल क्रान्तिकारीले जनायो विरोध
यसैबीच अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटीले महेन्द्र मोरङ क्याम्पसको निर्वाचन समितिको कार्यालयमा भएको आगजनीको घटनाप्रति विरोध जनाएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै क्रान्तिकारीका प्रतिनिधिहरूले घटना गैरकानूनी र निन्दनीय भएको बताएका हुन् ।
‘क्याम्पसभित्र आगजनी र निर्वाचन अधिकारीलाई कोठामा थुन्नु गैरकानूनी हर्कत हो । हामी आजको यस प्रकारको घटनाको घोर निन्दा र भत्र्सना गर्दछौं’–स्ववियु सभापतिका उम्मेदवारसमेत रहेका अखिल क्रान्तिकारी क्याम्पस एकाइ अध्यक्ष रोहित यादवले भने । निर्वाचन कार्यालयमा भएको आगजनीले क्याम्पसमा तनावपूर्ण वातावरण सिर्जना गरेको र शान्तिपूर्ण निर्वाचन हुनेमा चिन्ता बढाएको यादवले बताए । उनले अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पसमा एक्लै प्रतिस्पर्धा गर्न लागिरहेको बताए ।
क्रान्तिकारीले सभापतिमा रोहित यादव, सचिवमा आयुद्ध आछामी र कोषाध्यक्षमा राजीव यादवलाई उम्मेदवार बनाएको छ । यस्तै सदस्यहरूमा गौतम मण्डल, सुजित यादव, रत्ना राजवंशी, आयुष कार्की, युनिष पाण्डे, प्राश्रा श्रेष्ठ र भूमेश्वर साह छन् ।