इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१९ स्थित सहिद स्मृति आवासीय माध्यमिक विद्यालययमा विद्यार्थीहरू आन्दोलित बनेका छन् । स्कुलका अध्यक्ष र वार्डेनको दादागिरीविरुद्ध विद्यार्थीहरू आन्दोलित बनेका हुन् ।
आक्रोशित विद्यार्थीहरूले आइतबार दिउँसो विद्यालयका शिक्षकहरूलाई बाहिर निकालेर होस्टेलमा तालासमेत लगाइदिएका छन् । होस्टेलका वार्डेनले विद्यार्थीहरूमाथि अपशब्द प्रयोग गर्ने, बाहिरबाट गुण्डा ल्याएर कुटाउँछु भन्दै धम्की दिने गरेको विद्यार्थीहरूको आरोप छ । तत्कालीन दश वर्षे ‘जनयुद्ध’ तथा जनआन्दोलनका सहिद तथा घाइते परिवारका छोराछोरीलाई निःशुल्क शिक्षा प्रदान गर्न स्थापना गरिएको स्कुलमा सहिदकै छोराछोरीहरूमाथि दैनिक अपमानित हुने गरी वार्डेन र अध्यक्षले कार्य गर्दै आएको विद्यार्थीहरूले आरोप लगाए ।
कक्षा ७ मा अध्ययनरत विद्यार्थी गणपति चौधरीका अनुसार स्कुल व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरी र होस्टेलका वार्डेन सोमप्रसाद पुरीले आफूलगायत विद्यार्थी साथीहरूमाथि पटकपटक अपशब्द बोल्ने गरेका छन् । आफू सहिद परिवारकै सन्तान भए पनि स्कुलले शिक्षामा विभेद गर्दै आएको आरोप लगाए । ‘सहिदका छोराछोरी पढ्ने स्कुलमा आज उनीहरूकै सन्तानले पढाइबाट बञ्चित हुनुपर्ने दिन आयो’ –ती विद्यार्थीका अभिभावक भन्छन् । विद्यालय प्रशासनले विना पैसा पढाउन नसकिने भन्दै दबाव दिएपछि दिदी लक्ष्मीकुमारी चौधरी पढाइबाट बञ्चित हुनुपरेको उनको आरोप छ ।
होलीको दिन बिदा घोषणा गरे पनि खेल्न नदिएपछि विद्यालयमा विवाद सुरु भएको विद्यालयको आन्तरिक स्रोतबाट बुझिएको छ । सोही विवादले उग्ररूप लिँदा आइतबार बिद्यार्थीहरू आन्दोलित बनेका हुन् । विद्यार्थीहरूले स्कुलभित्रै वार्डेन सोमप्रसाद पुरीले जाँड बनाउने गरेको आरोप लगाएका छन् । कक्षा १२ मा अध्ययनरत पुरन विश्वकर्माले होली खेल्ने क्रममा विद्यार्थीहरूमाथि अपमान र दुव्र्यवहार गरिएको बताए । विद्यार्थी–विद्यार्थीबीच होली खेल्ने तयारी गर्दैगर्दा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरी र होस्टेलका वार्डेन पुरीले आफूहरूमाथि अपमानजनक शब्द प्रयोग गर्दै दुव्र्यवहार गरेको उनको आरोप छ । अध्यक्ष गिरीले ‘तेरो बाउको स्कुल हो ?’ भन्दै थर्काएको उनले बताए । यस्तै होस्टल वार्डेन पुरीले बाहिरबाट मान्छे ल्याएर कुटाउँछु भन्दै धम्क्याएको उनले बताए ।
उनका अनुसार होस्टेलभित्रै जाँड बनाउने भएकाले साँझ परेपछि जाँड गन्हाएर बस्नै नसकिने भएपछि पटक पटक व्यवस्थापन समिति र विद्यालय प्रसाशनसमक्ष कुरा राख्दा पनि उल्टै आफूहरूमाथि नै दुव्र्यवहार हुने गरेको छ । सफाइका लागि कर्मचारी राखे पनि विद्यार्थीहरूलाई नै थर्काएर सफा गर्न लगाउने गरेको उनीहरूको आरोप छ । कक्षा ११ मा अध्ययनरत विशु घिमिरे, कक्षा १० मा अध्ययनरत रोहितजङ राजवंशी, कक्षा १२ मा अध्ययनरत गरिमा पोखरेल, कक्षा ७ मा अध्ययनरत विपिन विश्वकर्मा, कक्षा १२ मा अध्ययनरत धनसिंह कार्कीलगायतले दुर्गन्ध फैलिएको विषयमा आवाज उठाउँदा विद्यालयबाटै निकालिदिने, घर फिर्ता पठाइदिने जस्ता धम्की दिने गरेको आरोप लगाए ।
यता होस्टलका वार्डेन सोमप्रसाद पुरीले भने आफूले कुनै पनि विद्यार्थीलाई धम्क्याउने काम नगरेको दाबी गरे । विद्यालय हाताभित्र होली नखेल्न विद्यार्थीहरूलाई अनुरोध गर्दा सामान्य भनाभनसम्म भएको उनले स्वीकार गरे । विद्यालयकी प्रधानाध्यापक रीता फुयालले होस्टलभित्र जाँड बनाइने कुराको ठाडै अस्वीकार गरिन् । विद्यार्थीहरूले फालेका खानेकुरा र स्कुलभित्रै उब्रिएको कुरालाई मर्चा (जाँड बनाउने औषधि) लगाएर भण्डारण गरिएको र सुँगुरलाई खुवाउने गरिएको बताइन् ।
‘मादक पदार्थ सेवन गर्नेलाई गेटबाट प्रवेश दिइँदैन, होस्टलभित्रै बनाउने त कुरै भएन’–प्रधानाध्यापक फुयालले भनिन् । होस्टेलभित्र दुई सय ५६ जना विद्यार्थी बस्छन् । उनीहरूको सुरक्षालाई मध्यनजर गर्दै होली खेल्न नदिएको प्रअ फुयालको भनाइ छ ।
यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मणिराम गिरीलाई पटक–पटक सम्पर्क गर्दा उनले आफू मिटिङमा रहेकाले केही समयपश्चात् फोन गर्ने भन्दै काटे । ‘म मिटिङमा छु भान्जा । भरे फोन गर्छु’–उनले फोनसम्पर्कमा भने ।