विराटनगर । विराटनगरको बसपार्कमा रहेको सम्राट क्यासिनोभित्र किरण लामाको समूह प्रवेश गर्न खोजेपछि झडप भएको छ । 

लामासहित उनको समूह क्यासिनोभित्र प्रवेश गर्न खोजेपछि आइतबार राति १२ बजे झडप भएको हो । क्यासिनोमा काम गर्ने निकेश गिरीले लामासहितको समूहलाई भित्र प्रवेशमा रोक लगाएपछि आक्रमण गरेका थिए । निकेश क्यासिनो सञ्चालक अभिषेक गिरीको भतिज हुन् । आक्रमण गर्ने लामा नेकपा (एमाले) मोरङको दशौं अधिवेशनबाट विराटनगर भूगोलको युवाबाट सदस्यमा अत्याधिक मत ल्याएर निर्वाचित जिल्ला सदस्य हुन् । उनी एमालेको दुवै प्यानलका साझा उम्मेदवार थिए ।

यसअघि पनि लामासहित विराटनगरका रेगन कँडेलको समूह रत्ना होटलभित्रको सम्राट क्यासिनोमा जाने गरेका थिए । भित्र प्रवेश गरेर क्यासिनो खेल्न आएका मान्छेहरूमाथि हातपात गरिदिन थालेपछि लामासहितको टिमलाई क्यासिनो सञ्चालक गिरीले प्रवेशमा रोक लगाए ।

नेपालीलाई क्यासिनोमा प्रवेश निषेध गरेको भए पनि उनीहरूसहित विराटनगरका केही मारवाडी समुदाय र स्वास्थ्य क्षेत्रका व्यक्तिहरू नियमित विराटनगरको क्यासिनो जाने गरेका थिए । ‘आइतबार मध्यरातमा लामासहित कँडेल सम्राट क्यासिनोमा प्रवेश गर्न खोजेपछि क्यासिनोमा काम गर्दै आएका निकेशले गेटमा रोकेको बताइएको छ । झडपपछि वडा प्रहरी कार्यालय विराटनगरका इन्स्पेक्टर राजेश दत्तको टोली पुगेको थियो । प्रहरीे टोलीले भीडलाई नियन्त्रणमा लिन नसकेपछि जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नारायण चिमरिया र वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी बुद्ध श्रेष्ठसहित क्यासिनोमा पुगे पनि लामाको समूह भागिसकेको प्रहरीले जनाएको छ । 

झडपमा परेर लामा र गिरी दुवैलाई चोट लागेको बताइएको छ । क्यासिनो सञ्चालक गिरीले लामाविरुद्ध मोरङ प्रहरीमा सोमबार उजुरी दिएका छन् । कँडेलकोे श्रीमतीले पनि गिरीविरुद्ध प्रहरीमा जाहेरी दिएकी छन् । प्रहरीले दुवै जाहेरी र घटनाको विषयमा अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले बताए । ‘क्यासिनोबाहिर दुई समूहको झगडा भएको रहेछ । त्यस विषयमा प्रहरीले अनुसन्धान गर्दै आएको छ । जाहेरी दुवै समूहबाट आएको छ । अहिले हामीले घटनाको सिसी टिभीलगायतका विभिन्न पाटोबाट अनुसन्धान भइरहेको छ’–डिएसपी जोशीले भने । प्रहरीले यो घटनामा अहिलेसम्म कसैलाई पनि पक्राउ भने गरेको छैन । 

रेगन कँडेल क्यासिनोभित्र र बाहिर पटक–पटक झगडामा मुछिने गरेको बताइएको छ । यसअघि पनि कँडेलले तरबार प्रहार गरेर एक जना युवालाई घाइते बनाएका थिए । विराटनगर–११ बसपार्कमा राति करिब साढे १० बजे सामान्य विवादमा कँडेलले विराटनगर–१२ का विजय कामतलाई तरबार प्रहार गरेर घाइते बनाएको प्रहरीले जनाएको छ । कामतको त्यसबेला हातमा गहिरो चोट लागेको थियो । प्रहरीले राति नै कँडेललाई पक्राउ गरेर ज्यान मार्ने उद्योगमा म्याद थप गरेको थियो । त्यसपछि उनी अदालतबाट धरौटीमा रिहा भएका थिए । यसअघि पनि मध्यरातमा विराटनगरस्थित सम्राट क्यासिनोमा जुवा खेलेर बाहिरिँदा झगडा भई उनी घाइते भएका थिए । २०८० पुस २६ गते रत्ना होटलको ‘सम्राट’ नामक क्यासिनोबाट निस्किएर झगडा हुँदा कँडेल र विक्रम थपलियाबीच झडप भएको थियो । झडपमा परी कँडेल घाइते भएका थिए । पछि थपलियालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका थपलिया पनि अदालतबाट धरौटीमा छुटेका थिए ।

मोरङ प्रहरीको रेकर्डअनुसार कँडेल यसअघि सातपटक पक्राउ परिसकेका छन् । २०७१ सालमा उनीविरुद्ध सार्वजनिक अपराधको मुद्दा थियो । २०७३ मा ज्यान मार्ने उद्योग, २०७४ सालको साउनमा सार्वजनिक अपराध, असोजमा अभद्र व्यवहार र फागुनमा पनि अभद्र व्यवहार मुद्दा चलेको थियो । २०७७ सालमा उनी ठगी मुद्दामा पक्राउ परेका थिए । केही समय कारागार बसेर छुटेका उनीविरुद्ध गत भदौ १ गते ज्यान मार्ने उद्योगको जाहेरी परेको थियो ।

विराटनगरको क्यासिनोमा निर्वाध नेपाली
विराटनगरका दुईवटा क्यासिनोमा नेपालीहरू निर्वाधरूपमा प्रवेश हुँदै आएको पाइएको छ । विराटनगरस्थित होटल बिगमा सञ्चालित च्याम्पियन जोन प्रा.लि. (क्यासिनो) र रत्ना होटलभित्रको सम्राट क्यासिनोमा नेपालीको प्रवेश खुलेआम हुने गरेको हो । नेपालीलाई क्यासिनो प्रवेशमा निषेध गरे पनि विराटनगरका मारवाडी समुदायका केही व्यक्तिहरू नियमितजस्तो क्यासिनो जाने गरेका छन् । ‘प्रहरीले कडाइ नगरिदिँदा मारवाडी समुदायका युवा व्यवसायी र तराईमूलका व्यापारिक घरानाका युवाहरू क्यासिनो जाने गरेका छन्’ नियमित क्यासिनो जाने एक व्यक्तिले भने, ‘सार्वजनिक ढङ्गले क्यासिनोले डुबायो भन्न सक्ने अवस्था पनि छैन । नभन्दा पनि क्यासिनोमा गएर पैसा सकियो । व्यापार चौपट भयो ।’

क्यासिनोमा निर्वाधरूपले नेपाली प्रवेश गराइरहेको अवस्था छ । मेसिनबाट खेलाउनु पर्ने क्यासिनो तास र कौडाको रूपमा हातैले खेलाउने गरेको बुझिएको छ । क्यासिनो नियमावलीमा अटोमेटिक मेसिनमा मात्रै खेलाउन पाइने नियम छ । उता, रत्ना होटलभित्र रहेको सम्राट क्यासिनोका सञ्चालक अभिषेक गिरीले क्यासिनोमा नेपाली नआएको दाबी गरे । ‘क्यासिनोमा काम गर्ने नेपाली रहेका छन् । उनीहरू मात्रै भित्र जाने हो । अरू नेपाली हामी छिराउँदैनौँ । आधार कार्डवाला मात्रै छिराउँछौँ’–उनले भने ।

क्यासिनो सञ्चालन नियमावली, २०७० अनुसार क्यासिनो सञ्चालन गर्न इजाजतपत्र लिन चाहने कम्पनीले निवेदन दस्तुरबापत १० लाख रुपैयाँ बुझाउनु पर्छ भने आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेलको हकमा त्यस्तो क्यासिनो कम्पनीले ५ लाख रुपैयाँसहित विभागमा निवेदन दिनुपर्छ ।

इजाजतपत्र दस्तुरका लागि भने ठूला क्यासिनोका लागि २ करोड रुपैयाँ र साना क्यासिनोका लागि एक करोड रुपैयाँ लाग्ने व्यवस्था सोही नियमावलीमा गरिएको छ । तर, क्यासिनो सञ्चालन गर्न चाहने कम्पनीले निर्धारित अर्थात् तोकिएको एक वर्षको रोयल्टी रकम बराबरको बैङ्क ग्यारेन्टी विभागमा बुझाउनु पर्छ । क्यासिनोमा नेपालीलाई प्रवेश निषेध गरिएको छ ।