धरान । सुनसरीको धरान उपमहानगरपालिका–११ स्थित ज्ञानोदय मा.वि.का शिक्षक गोपाल गुरागाईंको ‘यौन दुव्र्यवहार घटना’ सम्बन्धी मुद्दा जिल्ला अदालत सुनसरीमा विचाराधीन छ । उनले गरेका कर्तुतका विषयमा बीचमा लगभग सेलाएको थियो । तर, गत फागुन २७ गते काठमाडौँबाट सञ्चालन हुँदै आएको एक डिजिटल पत्रिकाले उक्त समाचार रोक्नका लागि पैसा लिएको भन्ने समाचार आएसँगै फेरि एक पटक तातेको छ ।
उक्त समाचारमा माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलमार्फत् नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले, पत्रकार रश्मी प्रधान, पत्रकार मनिता चाम्लिङ र ब्लाष्ट टाइम्सले रकम पाएको भनी उल्लेख गरेको थियो । उक्त विषयमा ब्लाष्टले आन्तरिक रूपमा छानबिन गर्नका लागि सम्बन्धित शिक्षक गोपाल गुरागाईंलाई पनि भेटेको थियो ।
उक्त समाचार आफूले नदिएको दाबी गरेको भए पनि आरोपित शिक्षक गुरागाईंले नै विभिन्न माध्यमबाट उक्त समाचारका सबै विवरण चुहाएको सोही समाचारका विवरणले नै पुष्टि गरेको थियो । किनकि उक्त समाचारमा माया घर नेपालकी अध्यक्ष प्याकुरेललाई पटक–पटक गरी ८१ हजार रुपैयाँ ट्रान्सफर गरेको देखिन्छ । जुन बैङ्क स्टेटमेन्ट सम्बन्धित व्यक्तिलाई भन्दा अन्यलाई दिन मिल्दैन । यस विषयमा ब्लाष्टले एक बैङ्कका अधिकारीलाई बुझ्दा भनेका थिए, ‘कुनै पनि मान्छेको व्यक्तिगत खाताको स्टेटमेन्ट अन्य व्यक्तिलाई दिने अधिकार बैङ्कलाई हुँदैन । त्यो व्यक्तिगत गोपनीयताको विषय हो ।’
समाचार प्रकाशन भएको केही समयपश्चात् शिक्षक गुरागाईंले माया घर नेपालकी अध्यक्ष सुभद्रा प्याकुरेलको व्यक्तिगत बैङ्क खातामा रकम जम्मा गरेको देखिन्छ । यतिसम्मकी उक्त समाचारको विषयमा खण्डन गर्ने हेतुले शिक्षक गुरागाईंकी नातामा बहिनी पर्ने येशा गुरागाईंले इटहरीमा पत्रकार सम्मेलन गरी घटनालाई ‘ट्वीस्ट’ गर्ने प्रयास पनि गरेका थिए । शिक्षक गुरागाईंले आफ्नो एनआइसी एसिया बैङ्कको अकाउन्टबाट सुभद्रा प्याकुरेलको अकाउन्ट रहेको मुक्तिनाथ विकास बैङ्कमा ८१ हजार रुपैयाँ जम्मा गराएको उक्त अनलाइनले दाबी गरेको थियो ।
यतिसम्म कि उक्त रकम कुन कुन मितिमा जम्मा गराइयो भन्नेसमेत खुलाएर राखिएको छ । यौन दुव्र्यवहारको घटना उत्कर्षमा पुगेका बेलामा पहिलो पटक २०८१ साल साउन २७ गते, दोस्रो पटक भदौ २ गते, तेस्रो पटक भदौ ७ गते र अन्तिम पटक भदौ १६ गते गरी ८१ हजार रुपैयाँ रकम जम्मा गरेको भनी उक्त अनलाइनले उल्लेख गरेको छ ।
त्यस्तै आरोपित शिक्षक र पैसा दिएको भनिएकी प्याकुरेलसँगको संवाद प्रमाणको रूपमा सुरक्षित रहेको भनी समाचारमा दाबी गरिएको थियो । दुई बीच भएको उक्त संवाद एउटा पक्षले नदिए अर्को पक्षले मात्रै दिन सक्ने अवस्था छ । पैसा लिएको भनिएका प्याकुरेलले शिक्षक गुरागाईंले आफ्नो खातामा रकम पठाउनुको खास उद्देश्य उनकी बहिनी योशा गुरागाईंका लागि पठाइएको पैसा भनिएको छ । अध्यक्ष प्याकुरेलले ब्लाष्टकर्मीसँगको संवादमा भनेकी थिइन्, ‘योशा प्रेग्नेन्सी भई बसेकाले उहाँले रकम मेरो खातामा दिनू भनी पठाउनुभएको थियो ।’ तर, शिक्षक गुरागाईंले भने माया घर नेपाललाई रकम सहयोग गरेको दाबी गर्दै आएका छन् ।
ती दुईबीच भएको संवादको प्रमाण शिक्षक गुरागाईंले नै सुनसरीको इटहरीस्थित पत्रकारहरूलाई उपलब्ध गराएको बुझिएको छ । यता ब्लाष्ट टाइम्स दैनिकले अर्थबजार डटकमलाई समाचारको खण्डन गरेको थियो । सो खण्डन पत्र जस्ताको त्यस्तै अनलाइनले प्रकाशन गरेको थियो । यस विषयमा प्रेस काउन्सिललाई पनि उजुरी दिइसकेको छ ।
ब्लाष्टले के–के क्यारी गरेको थियो ?
ब्लाष्ट टाइम्स दैनिकले यो समाचार सुरुदेखि नै फलो गर्दै आइरहेको थियो । शिक्षक गुरागाईंले यौन दुव्र्यवहार गरेको भनी आरोप लागेको विषयदेखि प्रहरीले पक्राउ नगरेकोसम्म फलो गरेको थियो । लगातारको फलोअपपश्चात् प्रहरीले पक्राउ गरी यौन दुव्र्यवहार मुद्दामा कारबाही अगाडि बढाएको कुरा समाचारमा उल्लेख गरेको थियो ।
ब्लाष्टले पहिलो पटक असार ६ गते ‘ज्ञानोदयका शिक्षकमाथि यौन दुव्र्यवहारको आरोप’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेको थियो । उक्त समाचारमा ब्लाष्टले प्रकाशित गर्नुअघि धरानकै एक डिजिटल मिडियाले समाचार प्रकाशित गरेको थियो । त्यसपश्चात् भने ब्लाष्टले निरन्तर फलो गर्दै आइरहेको थियो । उक्त समाचार पुनः असार ८ गते ‘आरोपित शिक्षक जनप्रतिनिधिको संरक्षणमा’ भन्ने शीर्षकमा दोस्रो पटक प्रकाशित भएको थियो । यस्तै असार १० गते, असार ११ गते र असार १४ गते अन्तिम पटक समाचार लेखेको थियो । असार १० गते ‘शिक्षकविरुद्ध प्रहरीमा पुगे विद्यार्थीहरू’ शीर्षकमा तस्बिरसहितको समाचार उल्लेख गरेको थियो ।
यस्तै असार ११ गते ‘शिक्षकविरुद्ध बाल यौन दुरुपयोगमा जाहेरी दर्ता’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो । उक्त समाचारमा बाल यौन दुरुपयोग भनेको हो ? कानूनी प्रावधानहरू के के छन् ? भन्नेसम्मको समाचारमा ‘उपशीर्षक’ राखी समाचार प्रकाशित गरेको थियो । यस्तै असार १४ गते भने ‘यौन दुव्र्यवहारमा आरोपित शिक्षक पक्राउ’ शीर्षकमा अन्तिम पटक समाचार प्रकाशित गरेको थियो । उक्त मुद्दा हाल अदालतमा विचाराधीन अवस्थामा छ । यसबीचमा पीडिताहरूको र पीडकको बकपत्रसमेत भइसकेका अवस्था छ । पीडिताको बकपत्र बदल्नका लागि पनि रकम खर्च गरेको देखिएको छ ।