धरान / स्ववियु चुनाव अन्तर्गत महेन्द्र बहुमुखी क्याम्पस धरानमा अनेरास्ववियु र नेविसङ्घ गठबन्धनबाट सभापतिप्रशान राईको समुहले अग्रता लिएको छ ।
पछिल्लो मतगणनाको सार्वजनिक परिणामअनुसार प्रशानले निकटतम् प्रतिद्वन्द्वी समाजवादी विद्यार्थी युनियनका युवराज राईलाई दोब्बरभन्दा बढी मतले पछि पार्दै अग्रता लिएका छन् ।
निर्वाचन समितिका अनुसार १ हजार ४७३ मतगणना हुँदा प्रशानले ९ सय ५० मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी युवराज राईले ४ सय ६ मत प्राप्त गरेका छन् । अर्का अखिल क्रान्तिकारीका उम्मेदवार तेजबहादुर राईले ७४ मत प्राप्त गर्दा अर्की उम्मेद्वार अमृता राईले तीन मत मात्र पाएकीछन् । यस्तै सचिवमा पनि गठबन्धनबाटै पवन बस्नेत ९ सय १३ मतसहित अगाडि छन् । कोषाध्यक्षमा पनि गठबन्धनका उम्मेदवार आलोक लिम्बू ९ सय ६८ मत पाएर अगाडि छन् । सचिवमा समाजवादी युनियनका उम्मेदवार विनिता लिम्बू ४ सय ३ मत पाएर गठबन्धन उम्मेदवारलाई पछ्याइ रहेकीछन् । कोषाध्यक्षमा समाजवादीका जितेन दुमी राईले ३ सय ५ मत ल्याएका छन् ।
मङ्गलबार भएको मतदानमा ४ हजार २ मतदातामध्ये २ हजार १ सय ५० मात्र मत खसेको थियो । यसैगरी केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार र पूर्वान्चल इन्जिनियरिङ क्याम्पसमा पनि मतगणना जारी छ । हात्तीसारमा अनुरास्ववियु र इन्जिनियरिङमा नेविसङ्घले अग्रता लिएको छ ।