विराटनगर । आयोजक लागि गुराँस स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा हराउँदै लेटाङ फुटबल क्लब विराटनगरमा जारी पाँचौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइलनमा पुगेको छ । विराटनगरको जुट मिल खेलमैदानमा बुधबार भएको अन्तिम क्वार्टरफाइलन खेलमा ४–२ गोलले हराउँदै लेटाङ सेमिफाइनलमा पुगेको हो ।
निर्धारित समयसम्म १–१ गोलको बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । टाइब्रेकरमा लेटाङका पुजन चौधरी, तेजन गुरुङ, सौगात राई र सुजन तिलवाले गोल गरे । आयोजकका विवेक राई र कैलाश बस्नेतले गरेको प्रहार लेटाङका गोल रक्षक पूर्ण चेम्जोङले उत्कृष्ट बचाउ गरिदिए । टाइब्रेकरमा दुई गोल सेभ गर्ने पूर्ण खेलको म्यान अफ द म्याच घोषित भए । लेटाङको तर्फबाट टाइब्रेकरमा आशिष लावती र रमेश चौधरीले मात्रै गोल गरे ।
जितसँगै लेटाङले शुक्रबार दोस्रो सेमिफाइनलमा घरेलु टिम पेमा युवा स्पोर्टिङ क्लबसँग फाइनल यात्राको लागि प्रतिस्पर्धा गर्नेछ । लेटाङको जितसँगै मिल्स गोल्डकपको सेमिफाइनलको समीकरण पनि पूरा भएको छ । यसअघि मङ्गलबार पाहुना टोली भारत बिहारको वाईएससी खोखाझील कटिहारलाई ४–० गोलले पराजित गर्दै सुनसरी इटहरीको टीएफसी तालतलैया सेमिफाइनलमा पुगिसकेको छ ।
फुटबल क्लब उदयपुरले सप्तरीको प्रोग्रेसिभ युवा क्लबलाई १–० गोलले हराउँदै सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ । पेमा स्पोर्टिङ क्लबले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा पुगेको छ । आज (बिहीबार) को पहिलो सेमिफाइनल खेल गाईघाटको फ्युजन फुटबल क्लब र इटहरीको टीएफसी तालतलैयाबीच हुनेछ ।