धरान । सुनसरीको धरानस्थित त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनमा मिश्रित नतिजा आएको छ ।
त्रिविका तीनवटा फरक फरक क्याम्पसहरूमा बिहीबार मिश्रित नतिजा आएको हो । नतिजाअनुसार महेन्द्र बहुमुखी क्याम्पस धरानमा गठबन्धन प्यानलबाट प्रशान राई सभापतिमा निर्वाचित भएका हुन् । प्रशानले १२ सय ९१ मत ल्याउँदै प्रत्यासी समाजवादी विद्यार्थी युनियनका अध्यक्षका दाबेदार युवराज राई (अलौकिक) लाई पराजित गरे । स्ववियुका हालका अध्यक्ष समेत रहेका अलौकिकले ६०० मत ल्याएका थिए ।
सचिवमा पवन बस्नेतले ११ सय ९३ मत ल्याउँदै विजयी भए । महेन्द्रमा गठबन्धन प्यानलै विजयी भएको छ । कोषाध्इक्ष पदमा आलेक लिम्बू (लुङ्वा) ले १३ सय ४ मत प्राप्त गर्दै विजयी भए । यस्तै सदस्यहरूमा ज्ञानेश राई (१२५५), निरज राई (१२८६), अस्मिन लिम्बू (१२७९), स्मृति राई (१२५४), देवानी राई (१२४७), विशाल लिम्बू (१२५९), विराज श्रेष्ठ (१२१३) र म्हार म्हेन्दो तामाङ (१२२२) मत ल्याउँदै विजयी भएका छन् ।
पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा साविक झैँ नेपाल विद्यार्थी सङ्घबाट सागर बस्याल निर्वाचित भएका छन् । उनले ६६८ मत प्राप्त गर्दै प्रत्यासी समाजवादी विद्यार्थी युनियन नेपाल (उपेन्द्र यादव) नेतृत्वको विद्यार्थी युनियनका गणपति झालाई पराजित गरे । झापले ४४६ मत प्राप्त गरेका छन् । सचिवमा भने अनेरास्ववियुबाट प्रमिश न्यौपाने केसीले जितेका छन् । उनले पाँच सय ८० मत ल्याउँदै विजयी भए ।
कोषाध्यक्ष पदमा नेविसङ्घका यामनाथ गुरागाईंले ६७४ मत ल्याउँदै विजयी भएका छन् । यता सदस्य पदहरूमा नेविसङ्घका आशिष ढकाल (७७३), अनिश राज भण्डारी (७१४), जयन्त धामी (७८१), आयुष खतिवडा (५९५), विद्या भट्टराई (५८६), अनेरास्ववियुबाट अभिषेक कोइराला (६२९) र आयुष्मा ढकाल (५६६) मत ल्याउँदै विजयी भए । प्रत्यक्षतर्फ १० पदका लागि ४३ जनाले उम्मेदवारी दिएको निर्वाचन अधिकृत विनयलाल श्रेष्ठले जानकारी दिए ।
यस्तै केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारमा अध्यक्षतर्फ स्वतन्त्र उम्मेदवार पेशलराज कार्कीले बाजी मारेका छन् । गठबन्धन समूहका अनिरुद्र श्रेष्ठलाई पराजित गर्दै स्वतन्त्रबाट उम्मेदवारी दिएका कार्कीले ४१३ मत ल्याउँदै बाजी मारेका हुन् । श्रेष्ठले ३६४ मत प्राप्त गरेका थिए । यस्तै सचिवमा नेविसङ्घका विशेव्सरप्रसाद बडू ४२७ मत ल्याउँदै विजयी भए ।
यस्तै कोषाध्यक्ष पदमा स्वतन्त्र समूहबाट नाम्छाङ राईले ४०८ मत प्राप्त गर्दै विजयी भए । यता सदस्यतर्फ अनेरास्ववियुबाट क्रमशः निजल तामाङ (३६६), दिव्या रायमाझी (४०२), अस्मिता सुवेदी (४२३), नेविसङ्घबाट हाङ्सु लिम्बू (३६८), स्वतन्त्र समूहबाट निशान पराजुली (४०७), बरदान राई (३७२) र राजकुमार कठेत (४०५) मत ल्याउँदै विजयी भए । निर्वाचन अधिकृत रामशोभित यादवका अनुसार प्रत्यक्षतर्फ १० पदका लागि २० जनाले उम्मेदवारी दिएका थिए ।