इटहरीस्थित सेन्ट्रल प्लाजामा भएको आगलागीले नेपालमा आगलागी सुरक्षाका उपायप्रति गम्भीर प्रश्न उठाएको छ। आधुनिक पूर्वाधारमा निर्माण गरिएका भवनहरुमा समेत यस्तो विनाशकारी आगलागी हुनु चिन्ताको विषय हो । यो घटनाले सुरक्षाका उपाय, उद्धार कार्यको प्रभावकारिता र भविष्यमा यस्ता घटनाबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल आवश्यक छ। यो आगलागी दोस्रो पटक भएको घटना हो, जसले भवनभित्र आगलागी रोकथामका आवश्यक उपकरण रहेर पनि तिनको प्रभावकारी उपयोगमा समस्या रहेको देखाउँछ। अग्नि नियन्त्रण प्रणाली भए तापनि आगो नियन्त्रण गर्न नसक्नु, मुख्य विद्युत् लाइन अवरूद्ध हुँदा पानी तान्न नसक्नुजस्ता कमजोरीहरु गम्भीर छन्। प्लाजामा अत्याधुनिक भल्भ र दुई लाख लिटर क्षमतमको पानी ट्याङ्की भए पनि आगलागी रोक्न यी प्रविधिहरु प्रभावकारीरुपमा सञ्चालनमा आउन सकेनन् । यसले आगलागी नियन्त्रण प्रणालीको नियमित परीक्षण र मर्मतको महत्व उजागर गर्छ ।
उद्धार कार्यमा संलग्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सक्रिय सहभागिता प्रशंसनीय रह्यो । नौवटा दमकल र ३ सय ५५ सुरक्षाकर्मीको निरन्तर प्रयासले सात घण्टापछि आगलागी नियन्त्रणमा आयो । उद्धार टोलीको सक्रियताले ११ जनाको जीवन बचाउन सफल भयो, जसमा तीन जनालाई सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको थियो । यो प्रशंसनीय काम हो । तर, उद्धार प्रक्रियामा केही महत्वपूर्ण कमजोरीहरु देखिए । अग्नि नियन्त्रण संयन्त्रमा भएको समस्या, प्रारम्भिक क्षणहरुमा उद्धारका स्पष्ट रणनीति नहुँदा हाम्फाल्ने प्रयास गर्ने घटनासमेत देखियो । यसले अग्नि सुरक्षासम्बन्धी कर्मचारी प्रशिक्षण तथा व्यवस्थापनमा सुधारको आवश्यकतालाई पनि उजागार गरेको छ ।
प्लाजाजस्ता उच्च भवनहरुमा अग्नि सुरक्षा मापदण्ड कडाइका साथ लागू नगर्नु विडम्बना हो । यस्ता भवनहरु निर्माण गर्दा स्थानीय सरकारले पनि निगरानी गर्नु पर्दछ । सुरक्षाकर्मी, कर्मचारी, र व्यवसायीलाई नियमितरुपमा अग्नि सुरक्षासम्बन्धी तालिम पनि आजको आवश्यकता हो । आगलागीको अवस्थामा प्राथमिक उपचार, सुरक्षित उद्धार विधि र तत्कालीन नियन्त्रणका उपायहरु सिकाउनु पनि जरूरी छ । अग्नि सुरक्षा मापदण्ड पूरा नगर्ने भवनहरुलाई पुनः मूल्याङ्कन गरी सुरक्षा उपायहरुको कार्यान्वयन सुनिश्चित गर्नुपर्छ । विद्युत् जडान र आगलागी जोखिम भएका क्षेत्रहरुको विशेष निरीक्षण पनि अपरिहार्य छ । इटहरीको सेन्ट्रल प्लाजा आगलागी घटनाले नेपालमा अग्नि सुरक्षासम्बन्धी नियमहरु थप कडाइका साथ लागू गर्नुपर्ने स्पष्ट देखाएको छ। उद्धार टोलीको सक्रियता प्रशंसायोग्य भए पनि सुरक्षाका प्रविधिहरुको प्रभावकारी प्रयोग र नियमित मर्मतको अभावले ठूला भवनहरुमा आगलागीको जोखिम बढाइरहेको छ। यस घटनाबाट पाठ सिक्दै आगलागी रोकथाम र नियन्त्रणका उपायहरुलाई अझ प्रभावकारी बनाउन स्थानीय सरकार, व्यवसायी र सर्वसाधारण सबैले चनाखो रहन आवश्यक छ ।