इटहरी । इटहरी उपमहानगरपालिका–८ स्थित नेपाल विद्युत् प्राधिकरणको चरम् लापरबाहीले दर्जन बढी ग्राहक मारमा परेका छन् । समयमै बिल बुझाइसकेका सेवाग्राहीहरूको पनि विद्युत् सेवा अवरुद्ध गरेपछि प्राधिकरणको लापरबाही बाहिरिएको हो ।
तीन वा सोभन्दा बढी महिनाको बिल भुक्तानी नगरे प्राधिकरणले विना सूचना सेवा अवरुद्ध गर्छ । तर नियमित बिल तिर्दै आएका उपभोक्ताहरूको पनि विद्युत् सेवा अवरुद्ध गरेपछि सोमबार प्राधिकरण इटहरीमा केही समय विवादसमेत भएको थियो । इटहरी–६ की प्रमिला श्रेष्ठ प्राधिकरणमा अघिल्लो दिन नै महसुल बुझाएर आएको भुक्तानी रसिद देखाउँदा देखाउँदै कर्मचारीले सेवा अवरुद्ध गरेको बताइन् ।
त्यस्तै इटहरी–६ कै गणेश अधिकारी विद्युत् महसुल तिर्न १३ नं. को टोकन लिएर लाइनमा बसेको र आफ्नो पालो आउँदा कर्मचारीले आफ्नो घरको विद्युत् सेवा अवरुद्ध भएको जानकारी गराएको गुनासो गरिन् । प्रमिलाले ४ महिनाको महसुल ६ हजार ३ सय ५७ रुपैयाँ बुझाएको रसिद देखाइन् भने अधिकारीले ३ महिनाको ७ हजार ४ सय ३४ रुपैयाँमध्ये ६ हजार ५ सय बुझाएको रसिद देखाए ।
त्यस्तै इटहरी–८ का बहुरी सरदारले ८१ फागुन महिनासम्मको महसुल ४ हजार बुझाएको भए पनि ०८१ वैशाख ७ गतेको बिलमा तिरेको रकम नघटाई जोडेर ६ हजार २ सय ८६ रुपैयाँ ९६ पैसाको बिल आएको बताए । उनले ०८२ वैशाख ५ गते नै माघ र फागुन गरी २ महिनाको ४ हजार रुपैयाँ बुझाएको देखिन्छ । ७ गते आएको बिलमा बुझाएको रकम नघटाई उल्टै जोडेर ६ हजार २ सय ८६ रुपैयाँ ९६ पैसा देखाएपछि सरदार प्राधिकरण पुगेका थिए । उनीजस्तै समयमै या एकमुष्ठ भुक्तानी गर्दै आएका एक दर्जन बढीको विद्युत् सेवा अवरुद्ध गरेपछि सोमबार प्राधिकरण कार्यालयमा केही समय विवाद भएको थियो ।

यस विषयमा नेपाल विद्युत् प्राधिकरण वितरण शाखाका प्रमुख रामउतर साहले नियमित तिर्नेको सेवा अवरुद्ध नगरेको तर ४ महिनादेखि महसुल तिर्न बाँकी रहेकाहरूको लिष्ट तयार पारेर विद्युत् सेवा कटौती गरेको प्रष्ट पारेका छन् । नियमित भुक्तानी गर्नेहरूको सेवा अवरुद्ध किन गरेको भन्ने प्रश्नमा उनले कहिलेकाहीँ सिस्टमले नदेखाउने हुँदा यो समस्या आएको बताउँदै प्रमुख साहले रकम बुझाएको रसिद देखाए विना जरिबाना तत्काल सेवा सुचारु गरिने बताए । समयमै विद्युत् महसुल नबुझाउनेको सेवा अवरुद्ध भएमा पुनः सुचारु गर्नु परे प्राधिकरणले जरिबाना स्वरूप ८ सय ५० रुपैयाँ लिने गरेको छ ।
प्राधिकरण वितरण शाखा इटहरीका अनुसार दुई महिनाभन्दा बढी महसुल नबुझाउने सेवाग्राहीहरूको विद्युत् सेवा अवरुद्ध गर्दै आएको छ । सोही क्रममा चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा दुई हजार बढी सेवाग्राहीको विद्युत् लाइन काटिएको इटहरी वितरण केन्द्रको भनाइ छ । केन्द्रका अनुसार यो साता मात्रै २७ जनाको विद्युत् सेवा कटौती गरेको छ ।