इटहरी । इटहरी उपमहानगरमा प्रमुख प्रशासकीय अधिकृत लामो समय नटिक्दा भुक्तानीदेखि विकास निर्माण प्रभावित भएको छ । 

गत फागुन २१ गते प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका हेमराज भुसाल कार्यभार सम्हालेको एक महिना नबित्दै अन्यत्रै सरुवा मिलाउनका लागि काठमाडौँ केन्द्रित भएपछि समस्या भएको छ । नगर १५ दिनदेखि हाकिमविहीन बन्न पुगेको छ । गत माघ २५ गते उपसचिवबाट सह–सचिवमा बढुवा भएका भुसाल इटहरी नगर आएका थिए । भुसाल गत चैत २४ गते नै काठमाडौँ गएको कर्मचारी स्रोत बताउँछ ।

अधिकृत नहुँदा आवश्यकीय भुक्तानी साथै अन्य काम पनि प्रभावित बनेको र विनियोजन भइसकेको रकमसमेत भुक्तानी हुन नसकेको उपमहानगरका लेखा अधिकृत विकास पोख्रेलले बताए । अन्यत्रै सरुवा मिलाउनका लागि काठमाडांै केन्द्रित भएको कर्मचारी स्रोतबाट बुझिएको छ । ‘हाकिम नहुँदा मुख्य कुरा पाउनुपर्ने व्यक्तिहरूको भुक्तानी रोकिएको छ, कार्यालय सञ्चालनमा पनि समस्या देखिएको छ’–लेखा अधिकृत पोख्रेलले भने । वडाबाट पास गरेको योजनाहरूको भुक्तानी पाउन समस्या भइरहेको सेवाग्राही रोशन राई बताउँछन् ।

तालमेल नमिल्दा समस्या
नगर प्रमुख हेमकर्ण पौडेल र उपप्रमुख सङ्गीता चौधरीलगायतसँग प्रमुख प्रशासकीय अधिकृतको तालमेल नमिलेका कारणले इटहरी छोडेको कर्मचारी बताउँछन् । कार्य सम्पादन मूल्याङ्कनमा पनि इटहरी पछि परेको, उपमहानगरभित्रको आन्तरिक किचलो बाहिरएपछि प्रमुख प्रशासकीय अधिकृतले स्थानीय तहमा बस्न नरुचाएको कर्मचारी स्रोत बताउँछ ।

यता भुषालले आफू अन्यत्रै सरुवा भइसकेकाले उपमहानगर छोडेको बताए । ‘उपमहानगरसँग कुनै विवाद छैन बस्न र काम गर्न मन थियो तर सरकारको निर्णय हो मान्नैपर्छ’–भुसालले भने । तर उनले आफ्नो सरुवाबारे खुलेर बताउन चाहेनन् । 

नगर प्रमुख पौडेलले बाहिर देखिए र सुनेजस्तो केही विवाद नरहेको उल्लेख गरे । ‘यहाँ जो आउनुहुन्छ; उहाँहरूलाई कार्य सम्पादनमा बेस्ट दिनुस् भन्ने हो । हामी कुनै काममा अवरोध हुन दिँदैनौ’–प्रमुख पौडेलले भने । आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहेको र आगामी आर्थिक वर्षको बजेटको तयारी गर्ने समय भइसक्दा पनि प्रमुख प्रशासकीय अधिकृत नहुँदा उपमहानगरको आर्थिक, प्रशासनिक काम तथा विकास निर्माणमा चुनौती देखिँदै गएको उपप्रमुख सङ्गीता चौधरीले बताइन् । प्रमुख प्रशासकीय अधिकृतका लागि सम्बन्धित मन्त्रालयसँग पहल भइरहेको उनले बताइन् ।