विराटनगर । विराटनगर–१८ बुधनगरकी एकल महिला ४५ वर्षीया निर्मला साहलाई मरणासन्न हुने गरी कुटपिट गरेको घटना मिलाउन पीडक पक्ष लागिपरेको पाइएको छ । सोही ठाउँका ३० वर्षीय स्वास्थ्यकर्मी दुर्गा यादवले मरणासन्न हुने गरी निर्मलालाई कुटपिट गरेको घटना मिलाउन एक समूह लागिपरेको पाइएको हो ।

सोमबार दिउँसो साहलाई दुर्गाले बाख्रा आफ्नो बारीमा आएर बाली खाएको सामान्य विषयलाई लिएर नाकको हड्डी भाँचिने गरी कुटपिट गरेका थिए । एक छोरी र एक छोराको साथमा श्रीमान् बितेपछि २० वर्षदेखि एकल जीवनयापन गर्दै आएकी साह सधैँ झैं सोमबार घरायसी काम सकेर खेतमा बाख्रा चराउन लैजाने तयारी गर्दै थिइन् । साहको घरनजिकै दुर्गाको खेतबारी छ । साहले त्यही बाटो भएर बाख्रा लैजाँदै गर्दा दुर्गाले कुटपिट गरेर आमाको नाकको हड्डी भाँचिदिएको पीडितको छोरी रविनाकुमारी साहले बताइन् ।

पीडक पक्षको दबावमा मिलापत्रको प्रयास
नाकको हड्डी भाँचिने गरी कुटपिट भएको घटना मिलाउन पीडकका दाजु गिरिजाप्रसाद यादव लागिपरेका छन् । ‘एउटै गाउँ त्यो पनि छिमेकमा भएको घटना हो । निर्मला दिदीको बाख्रो हाम्रो बारीतिर गएछ । भाइले कुरा नबुझी आवेगमा आएर हातपात गर्दा चोट लाग्न पुगेछ । अहिले हामीले सम्पूर्ण उपचार खर्च बेहोरेका छौं । अप्रेसनमा लागेको ४० हजार रुपैयाँ दिएका छौँै । औषधि उपचार पनि व्यहोरेको छौँ । गाउँको घटना हो । हामीले यहीँ मिलाऊँ भनेको मात्रै हो’–दुर्गाको दाजु गिरिजाप्रसाद यादवले भने ।

दुर्गाको गाउँमा अत्याचार
दुर्गा यादव पेशाले स्वास्थ्यकर्मी हुन् । विराट आँखा अस्पतालमा कार्यरत यादवले सीएमए गरेका छन् । तर स्थानीयका अनुसार, उनको हिंसात्मक प्रवृत्ति नयाँ होइन । यसअघि पनि उनले दुई जनामाथि कुटपिट गरेका थिए । ती घटनाहरू समेत उपचार खर्च बेहोरेर मिलाइएको थियो ।

यस्तो प्रवृत्तिले उनीमाथि कानूनी कारबाही नहुने आत्मविश्वास दिएको देखिन्छ । स्थानीयवासीहरू भन्छन्, ‘दुर्गा यादवलाई कानूनी कठघरामा ल्याउन ढिला भयो भने यो गाउँमा कानूनभन्दा पहुँच बलियो भन्ने सन्देश जान्छ । अहिले नै कारबाही भएन भने भोलिका निर्मलाहरू सुरक्षित हुने ग्यारेन्टी हुँदैन’ एक स्थानीयले भने, ‘दुर्गाको गाउँमा अत्याचारको सीमा नाघेको छ । कुटपिट गर्ने, उपचार खर्च व्यहोर्ने उनको बानी परेको छ । पहुँचको भरमा कानूनी कारबाहीबाट जहिले पनि उम्किने गरेका छन् ।’

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले इलाका प्रहरी कार्यालय रानी मातहतको कार्य क्षेत्र पर्ने भएकोले घटना बुझेर अनुसन्धानको लागि निर्देशन दिने बताए । ‘यो घटनाको विषयमा मलाई पनि जानकारी छैन । मातहतमा बुझेर म पीडितको जाहेरी लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाउन निर्देशन दिनेछु’ –डिएसपी जोशीले भने ।

घटनाबारे छोरीको बयान
‘भाइ कलेजमा र म काममा गएका थियौं । आमा बाख्रा लिएर बारीमा जानुभएको रहेछ । खसी हेरेर दुर्गालाई डाहा लाग्यो । खसी लैजान खोज्ने गरेको थियो । तर दुर्गाले आफ्नो खेतबारीमा बाख्रा आएको भन्दै मुक्काले आमाको नाकमा प्रहार गरेको रहेछ ।

आमा त्यहीँ ढल्नुभएछ ।खेतमा आमालाई कुटपिट गरेपछि रगताम्य भएर आमा बेहोस हुनुभएछ । दुर्गा फरार भयो । घाइते हुनुभएको आमाको २० मिनेटपछि होस आयो । स्थानीयले आमालाई रगताम्मे भएको देखेपछि मेरो सानीमा (मौसी) ले लिएर आउनुभयो । आमाले हातको इसाराले बचाऊ बचाऊ भन्नुभएछ । त्यसपछि मौसी पुगेर आमालाई लिएर न्यूरो हस्पिटलमा लिएर आउनुभयो । यहाँ ल्याएपछि एक्सरे गर्दा नाकको हड्डी भाँचिएको पुष्टि भयो । मङ्गलबार आमाको नाकको हड्डीको अप्रेसन न्यूरो अस्पतालमा भएको छ’ छोरी रविनाले गहभरि आँसु पार्दै भनिन्,

‘अहिले हामीलाई सबैतिरबाट मिल्नुपर्छ भन्दै दबाव आएको छ । तर, म मिल्ने पक्षमा छैन । मेरो आमालाई मरणासन्न हुने गरी कुटपिट गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । त्यसको लागि म अन्तिसम्म लड्नेछु । तर, मलाई साथदिने अहिलेसम्म कोही छैन ।’ छोरी रविना गहभरि न्यूरो हस्पिटल परिसरमा आँसु पार्दै भन्छिन्, ‘हामी सहिद परिवार हौं, बुबा जनयुद्धको क्रममा बित्नुभयो । आमा त्यस्तो अवस्थामा हुनुहुन्छ, तर अहिले मिल्नुपर्छ भन्ने दबाव आउँछ । म त्यो दबावमा झुक्दिनँ ।’ उनले पीडकविरुद्ध इलाका प्रहरी कार्यालय, रानीमा जाहेरी दिइसकेकी छन् । तर, आरोपी दुर्गा यादव अझै फरार छन् ।