इटहरी । सुनसरीको इटहरीस्थित विभिन्न स्थानमा सञ्चालनमा रहेका मासु पसलहरूमा छड्के अनुगमन गरिएको छ ।

इटहरी उपमहानगरको खाद्य गुणस्तर तथा बजार अनुगमन टोलीले बुधबार आइतबारे, बीपी चोकलगायतका १६ वटा मासु पसलहरूमा छड्के अनुगमन गरेको हो । अनुगमनको क्रममा केही मासु पसलेहरूले सडेको मासु राखेको भेटिएपछि पसल शिल गरिएको छ । इटहरीका खाद्य अनुसन्धान अधिकृत अनु अर्यालका अनुसार आइतबारेस्थित प्रकाश फ्रेस हाउस र नमस्ते राँगा पसल शिल गरिएको हो । स्वास्थ्यलाई प्रत्यक्ष असर पर्ने गरी मासु बिक्री वितरण गरेको पाइएपछि तत्काल शिल गरिएको अधिकृत अर्यालले बताइन् ।

‘फ्रिजमा कुहिएको अवस्थामा मासु भेटियो, त्यसलाई निकालेर पसलहरू शिल गरियो’–उनले भनिन् । नमस्ते राँगा पसलमा यसअघि पनि अनुगमन गर्दा कुहिएको मासु फेला परेको थियो । सो बेला चेतावनी दिँदै छाडिएकोमा यस पटक पनि सोही घटना दोहोरिएपछि सोझै पसल नै शिल गरिएको अधिकृत अर्यालले बताइन् । 

अनुगमनकै क्रममा इटहरीका अधिकांश मासु पसलेहरूले स्वास्थ्य तथा सरसफाइमा लापरबाही गरेको पाइयो । केहीले मूल्यसूची नै नराखी मनपरी मूल्य राखेर मासु बिक्री वितरण गरेको पाइएकाले उनीहरूलाई चेतावनी दिई छाडेको अधिकृत अर्यालले बताइन् ।

इटहरीका मासु पसलबाट दैनिकजसो उपभोक्ताहरू ठगिने र स्वास्थ्यको विषयमा पटक–पटक गुनासो आएपछि मासु पसलहरूमा छड्के अनुगमन गरिएको अधिकृत अर्यालले बताइन् । इटहरीका १६ वटा मासु पसलमा अनुगमन गर्दा ५ वटाले मात्र सरसफाइको नियम पालना गरी व्यवसाय गरेको र ४ वटाले दर्ता नवीकरण नै नगरी सञ्चालन गरेको दुइटामा शिल गरिएको छ ।

पाँचवटालाई जरिबाना तिराइएको उनले बताइन् । इटहरी उपमहानगर क्षेत्रमा बग्रेल्ती मासु पसल सञ्चालन भए पनि धेरैजसो करको दायराभन्दा बाहिर रहेकोले उहाँहरूलाई पनि समेट्ने प्रयास भइरहेको अर्यालले बताइन् । हाल उपमहानगरमा एक सय २९ वटा मासु व्यवसाय दर्ता छन् । 

यता उपभोक्ताहरूले भने उपमहानगरको अनुगमनलाई झारो टार्ने काम भनेका छन् । मानव स्थास्थ्यसँग प्रत्यक्ष खेलवाड गर्ने विषय नियमित अनुगमन हुनुपर्ने तर उपमहानगरले इच्छा लागेको बेला मात्रै अनुगमन गर्ने गरेको उपभोक्ताहरूले आरोप लगाए । मासु पसल मात्र नभई सब्जी पसलको पनि नियमित अनुगमन गर्न उपभोक्ताहरूले माग गरेका छन् ।