धरान । सुनसरीको धरान उपमहानगरपालिका–८ भोटेपुलमा एक युवामाथि खुकुरी प्रहार भएको छ ।
सुनसरी इटहरी उपमहानगरपालिका–२० बस्ने २० वर्षीय अविनाश मगरमाथि धरानका दुई युवाहरूले भोटेपुलमा खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएका उनलाई तत्कालै उपचारको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगिएको थियो । उनीमाथि सोमबार राति धारिलो हतियारले आक्रमण भएको थियो ।
तत्कालीनसमयमा नाम, वतनसमेत नखुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । धारिलो हतियारबाट मध्यम् खालको घाइते भएका मगरलाई स्थानीय निकेश राई र शिवकुमार रायले देखेर उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए ।
घटनाबारे प्रहरीले अनुसन्धान गर्दै जाँदा मगरमाथि धरान उपमहानगरपालिका–१० का २२ वर्षीय युवराज कार्की, १२ नम्बर वडावासी २१ वर्षीय राजीव परियारलाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय धरानका इन्स्पेक्टर दिवस कुँवरको नेतृत्वमा खटिएको टोलीले सोमबार नै कार्की र परियारलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइते मगर अस्पतालबाट बुधबार डिस्चार्ज गरिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–४ मकैटोलमा घरायसी विवादका क्रममा एक महिलामाथि चक्कु प्रहार भएको छ । बुधबार सोही ठाउँमा बस्दै आएकी २० वर्षीया अनु भुजेलले सोही ठाउँ बस्दै आएकी २२ वर्षीया आरती सरदारमाथि चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ ।
सरदारको पेट र बायाँ हातमा चोट लागेको छ भने झगडा छुट्याउन गएका आरतीका श्रीमान् २५ वर्षीय सुरेश सरदारको समेत दाहिने हातको साइँली औंलामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ । घाइते दुवैलाई उपचारका लागि इटहरीस्थित सामुदायिक पोलिक्लिनिकमा पठाइएको छ भने आरोपित अनु भुजेललाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । घाइते दुवै अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । आरोपितमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।