धरान । साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले आफ्ना खराब वित्तीय सूचकहरूलाई सुधार गर्दै दोहोरो अङ्कको लाभांश वितरण गर्न सक्ने भएको छ ।
खराब कर्जाका कारण वित्तीय सूचकमा दबाव सिर्जना भएको थियो । तर, ती दबावहरूलाई सुधार गर्दै हाल बैङ्कले वितरणयोग्य मुनाफासहित सूचकहरूमा प्रगति गरेको जनाएको छ ।
बैङ्कले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरणअनुसार वितरणयोग्य मुनाफा २४ करोडभन्दा बढी आर्जन गर्न सफल भएको हो । बैङ्कको यही अवस्था रहे चालु आर्थिक वर्षमा ९.०१ प्रतिशत लाभांश वितरण गर्न सक्ने भएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिसम्म बैङ्कको वितरणयोग्य मुनाफा ६ करोडले ऋणात्मक रहेको थियो ।
बैङ्कका अनुसार हालको अवधिसम्म खुद मुनाफा ४३ करोड ४२ लाख रुपैयाँ पुगेको जनाएको छ । अघिल्लो वर्ष ३८ करोड ६८ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर ६२ करोड १८ लाख रुपैयाँ पुगेको छ । खुद मुनाफा, चालु आर्थिक वर्षको गत वर्षको त्रैमासिकको तुलनामा १ सय २० दशमलव ९१ प्रतिशतले बढेको छ ।

नाफामा सुधार भएसँगै वार्षिकीकृत प्रतिशेयर आम्दानीमा पनि निकै राम्रो सुधार भएको जनाएको छ । बैङ्कले खराब कर्जा पनि क्रमशः घटाउँदै लगेको छ । चालु आर्थिक वर्षको गत त्रैमासमा ४ दशमलव ९९ प्रतिशतमा रहेको बैङ्कको खराब कर्जा अनुपात तेस्रो त्रैमासमा ४ दशमलव ९७ प्रतिशतमा झरेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैङ्कले ५६ अर्ब ६१ करोड कुल निक्षेप सङ्कलन गरेको छ । यस्तै बैङ्कले तेस्रो त्रैमासिकमा ४६ अर्ब ८९ करोड ऋण लगानी गरेको छ ।