विराटनगर । तेस्रो संस्करणको मनमोहन स्मृति एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी विजयी भएको छ । विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा शनिबारदेखि सुरु भएको प्रतियोगितामा साविक विजेता विभागीय टिम आर्मीले अर्को विभागीय टोली एपिएफलाई पराजित गर्दै २ विकेटको सङ्घर्षपूर्ण जित निकालेको हो । 

टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित ५० ओभरको खेलमा ४४ दशमलव ३ बलमा सबै विकेट गुमाई १ सय ३० रनको झिनो योगफल बनाएको थियो । एपिएफका प्रकाश जैशीले अविजित ३४ रन बनाउँदा कप्तान भुवन कार्कीले २५ रन, दीपक बोहराले १६ रन, अविशेक पालले १२ रन र आयुस्मानले ११ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्क छुन सकेनन् ।

आर्मीका दुर्गेश गुप्ताले ३ विकेट लिँदा विशाल सुस्लिङ र नरेन राउदले २–२ विकेट लिए । जवाफमा १ सय ३१ रनको झिनो लक्ष्य पाएको आर्मीले ३७ दशमलव २ बलमा ८ विकेट गुमाई लक्ष्य भेट्टाएको थियो । आर्मीको जितमा प्लेयर अफ द म्याच नरेन साउदले ८४ बलमा ७ चौका प्रहार गर्दै ६४ रनको योगदान दिँदा सुमित श्रेष्ठले अविजित २१ रन र पवन कार्कीले अविजित १० रनको योगदान दिए । एपिएफका दिवन पुनले ३ विकेट लिँदा कप्तान भुवन कार्की र विकास अग्रीले २–२ विकेट लिए ।

वैशाख २० गतेसम्म सञ्चालन हुने प्रतियोगिता  लिगकम नकआउटको आधारमा खेलाइएको हो । प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा विभाजन गरिएको छ भने दुवै टोलीका शीर्षटोलीले फाइनल खेल खेल्नेछन् ।

२०७५ सालमा भएको पहिलो संस्करणको उपाधि आर्मीले जित्दा २०७६ सालमा भएको दोस्रो संस्करणमा पनि आर्मीले नै बाजी मारेको थियो ।

प्रतियोगितामा भारतको आसाम क्रिकेट टिम, घरेलु टिम कोशी प्रदेश, बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी क्लब सहभागी छन् । प्रतियोगिताको विजेतालाई नगद ४ लाख र  उपविजेतालाई २ लाख पुरस्कार रहेको छ । 

खेलको प्लेयर अफ द टुर्नामेन्टको उपाधि जित्ने खेलाडीलाई २५ हजार, उत्कृष्ट ब्याटर र बलरलाई १५–१५ हजार र प्लेयर अफ द म्याचको उपाधि जित्ने खेलाडीलाई नगद ४ हजार प्रदान गरिनेछ । आइतबार एपिएफ र बागमती प्रदेशबीच खेल हुने आयोजकले जनाएको छ ।