इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका– ९ मा निर्माण भएको सुविधासम्पन्न बसपार्कमा हालसम्म बसहरू पुर्याइएको छैन ।
नौ करोड ४८ लाख ८३ हजार पाँच सय ५६ रुपैयाँको लागतमा बनेको सुविधा सम्पन्न बसपार्कमा यात्रुबाहक बस जान नमानेपछि खाली हुन थालेको छ । सम्झौताको ४ महिनाअघि नै निर्माण सम्पन्न भएको बसपार्क भवन हस्तान्तरणसँगै उद्घाटनको तयारीमा उपमहानगर जुटेको छ । करिब १ बिघा जमिनमा स्थापित बसपार्क तीन तलाको रहेको छ ।
नगर विकास कोषको ७० प्रतिशत र उपमहानगरको ३० प्रतिशत लागत साझेदारीमा बसपार्क निर्माण गरिएको हो । इटहरीको मुख्यचोकलाई पार्किङ निषेध गरेपछि बढ्दो सवारी चापलाई न्यूनीकरण गर्ने उद्देश्यसहित बसपार्कलाई व्यवस्थित बनाउने योजना अनुरूप उपमहानगरले काम सुरु गरेको थियो । सुविधा सम्पन्न बसपार्क निर्माण गरे पनि सञ्चालनमा भने चुनौती देखिएको जानकारहरू बताउँछन् । विगत एक वर्ष यता विभिन्न कारणहरू देखाउँदै बसपार्कभित्र यात्रुवाहक बसहरू छिर्न मानेका छैनन् । यो अवस्थामा बस व्यवस्थापन आफैमा चुनौती बनेको बसपार्क व्यवस्थापन समितिका अध्यक्ष काजी राईले बताए ।
यसअघि राम्रै सङ्ख्यामा बसहरू आउने–जाने गरे पनि पछिल्लो एक वर्षयता दैनिक ५–६ वटा मात्र यात्रुवाहक बसहरू आउने गरेको अध्यक्ष राईले बताए । आफू व्यवस्थापन समितिको अध्यक्ष भए पनि बसपार्क भवन बनेकोप्रति चित्त नबुझेको बताए । ‘भवन बन्यो अब उद्घाटन कहिले हुने हो, अहिलेसम्म केही अत्तोपत्तो छैन’–अध्यक्ष राईले भने । भवन के प्रयोजनका लागि बन्यो भन्नेबारे बसपार्क क्षेत्रकै स्थानीयलाई पनि थाहा नभएको उनी सुनाउँछन् ।

यात्रुहरूको सुविधाकै लागि भनेर निर्माण गरिएको बसपार्कमा बस र यात्रुको अभाव खड्किएपछि आसपासका होटल व्यवसायीहरू प्रत्यक्ष मारमा परेका छन् । एक वर्षअघिसम्म राम्रै चलेको व्यवसाय अहिले ग्राहक नपाएर बन्द गर्नुपर्ने अवस्थामा पुगेको बसपार्क क्षेत्रका होटल व्यवसायी सागर अधिकारीले बताए । उनी विगत १३ वर्षदेखि सो क्षेत्रमा होटल सञ्चालन गर्दै आएका छन् । एक वर्षअघि दैनिक १५ हजारदेखि ४० हजारसम्मको व्यापार हुने गरेको होटलमा अहिले मुस्किलले २ हजार कमाइ हुने गरेको अधिकारी बताउँछन् । त्यस्तै बसपार्क क्षेत्रमै विगत १० वर्षदेखि पसल सञ्चालन गर्दै आएका एकराज घिमिरे बसपार्क नाममात्रैको रहेको बताए । दिनमा ६ देखि ७ वटामात्र यात्रुवाहक बसहरू आउँछन् तर हतार छ भन्दै हिँडिहाल्छन् ।
लामो दूरीका बस तथा माइक्रो बसहरू भने टिकट काउन्टर बसपार्कमै भएको कारण फाट्टफुट्ट देखिने गरेको घिमिरे बताउँछन् । ‘एक वर्षअघि पसलमा ग्राहकको सङ्ख्या र आम्दानी पनि राम्रै थियो, पछिल्लो समय बस व्यवस्थापनमा सम्बन्धित निकाय चुकेको हो या के कमजोरी भएको हो ? न बस आउँछन्, न त ग्राहकहरू नै’–उनले थपे । यहाँको समस्याबारे जनप्रतिनिधिहरूलाई सुनाइसके पनि बेवास्ता गरेको कारण सबै व्यवसायीहरूले सामूहिकरूपमा व्यवसाय बन्द गरेर तालाचाबी नै उपमहानगरलाई जिम्मा लगाउने तयारी गरिरहेको पनि उनले सुनाए ।
यहाँको समस्याबारे उपमहानगरका प्रमुख, उपप्रमुख, वडाध्यक्षहरूसँग बसेर छलफल गरिए पनि उनीहरूले कुनै सुनुवाइ नगरेको व्यवसायीको गुनासो रहेको छ । २०७९ मा ट्राफिक प्रहरीहरू सक्रिय बन्दा सार्वजनिक बसहरू अनिवार्यरूपमा बसपार्क पुग्ने गर्थे तर ट्राफिक प्रहरी र जनप्रतिनिधिबीच तालमेल नमिल्दा अहिले बसपार्क सुनसान अवस्थामा पुगेको छ । पूर्वको व्यापारिक हब भएकोले यसअघि इटहरीमा चारै दिशाबाट आउने सार्वजनिक बसहरू बसपार्क छिर्ने गरेको स्थानीयहरू बताउँछन् । धरानबाट आउने बस विगतमा विराटनगर रोडको गोल्डेन मार्ग हुँदै बसपार्क पुग्थे भने विराटनगरबाट आएका बसहरू अस्पताल रोड हुँदै बसपार्क पुग्ने गर्थे । त्यस्तै पूर्व काँकडभिट्टाबाट आएका बसहरू इटहरीको बीपी चोक र पश्चिम काठमाडौँलगायतका स्थानबाट आएका बसहरू कलङ्की चौक हुँदै बसपार्क छिर्ने गरेका थिए ।
अहिले रुट परिवर्तन भएपछि बसहरू बसपार्क नगई भित्री बाटो प्रयोग गरेर सोझै राजमार्गमा निस्कने गरेका छन् । सडकको अवस्था नाजुक, यात्रु अभावलगायतका कारण देखाउँदै बसहरू बसपार्कतर्फ लम्केपनि भित्री बाटो हुँदै बसपार्क नपुगी मुख्य राजमार्ग निस्कने गरेका छन् । बसपार्क छिर्ने सडकमा खाल्डाखुल्डी धेरै भएको र त्यहाँ यात्रुहरू नै नपाइने तथा केही ढिलो हुनासाथ राजमार्गमा पर्खेर बसेका यात्रुहरू पनि छुट्छन् भन्ने हतारोले सिधै राजमार्गमा निस्कने गरेको कोशी सुपर यात्रुवाहक बसका चालक नवराज कार्कीले बताए ।
यता बसपार्कलाई अब व्यवस्थित बनाउने तर्फ उपमहानगरको सिङ्गो टिम लागिपरेको वडा नं. ९ का कार्यवाहक अध्यक्ष कपिल घिमिरेले बताए । बस व्यवस्थापनको विषयमा यातायात व्यवसायीहरूसँग छलफल भइरहेको र ट्राफिक प्रहरीसँग सहकार्य गरी समस्याको समाधान निकाल्ने उनले बताए । उपमहानगरका नगर प्रमुख हेमकर्ण पौडेलले भने यात्रुहरूकै सुविधाकालागि बसपार्कमा भवन बनाइएको बताए । चाँडै नै उद्घाटन गरेर सञ्चालनमा ल्याउने तयारी रहेको उनले बताए । बसपार्कमा रहेका व्यवसायीहरूको पीडा आफूले बुझेको बताउँदै नगर प्रमुख पौडेलले सो क्षेत्रमा केही समयपछि बसहरूको लामो लाइन नै लाग्ने दाबी गरे ।