सुनसरीको इटहरीमा हालै निर्माण सम्पन्न सुविधासम्पन्न बसपार्कमा हालसम्म यातायात व्यवसायीहरुले बस पु¥याएका छैनन् । नौ करोड ४८ लाख ८३ हजार पाँच सय ५६ रूपैयाँ लागतमा बनेको बसपार्कमा किन यात्रुवाहक बस लान मानिरहेका छैनन् ? नगर विकास कोषको ७० प्रतिशत र नगरको ३० प्रतिशत लागतमा निर्माण भएको बसपार्क अहिले खाली अवस्थामा छ । बसपार्क उद्घाटन गर्ने तयारीमा स्थानीय सरकार लागेको छ । तर बस नै जान नमान्नुले गम्भीर प्रश्न उब्जाएको छ ।
इटहरीमा बसपार्कको आवश्यकता थियो । बढ्दो सवारी चापलाई मध्यनजर गरेर बसपार्क निर्माण जरूरी थियो । त्योअनुसार निर्माण त भयो तर प्रयोगविहीन अवस्था भएमा बसपार्क निर्माणमा गरेको लगानी बालुवामा पानी हुने अवस्था देखिँदै छ । बसपार्क करिब एक बिघा जमिनमा बनेको छ । बसपार्क सञ्चालनमा नआए यो जमिन पनि त्यसै खेर जाने छ । बसपार्क व्यवस्थापन समिति नै बसपार्क किन सञ्चालनमा आएन भन्ने विषयमा अन्यौल देखिएको छ । यो स्थिति हुनु दुर्भाग्यपूर्ण हो ।
बसपार्क यात्रुको सुविधाको लागि मात्रै हैन, सवारी साधनको सुविधाका लागि निर्माण गरिएको हो । तर सवारी साधन नपुग्ने हो भने बसपार्कको औचित्य समाप्त भएर जान्छ । करोडौँ लगानी खेर जान्छ । यस्तो स्थितिलाई तत्काल समाधान गर्नका लागि उद्घाटन तत्काल गरी स्थानीय सरकारले यात्रुवाहक बसका सवारी धनीसँग एक खालको परामर्श थाल्नुपर्छ । तीन तले भवन रहेको बसपार्कले इटहरीको गरिमालाई पनि बढाएको छ । तर, यो गरिमालाई यथावत् राख्नका लागि सञ्चालनमा आउनु पनि मुख्य कुरा हो ।
लामो तथा छोटो दूरीका सवारी साधनलाई उचित रेखदेख गर्ने हिसाबले निर्माण गरिएको यो बसपार्क अपायक ठाउँमा भएको जनगुनासो पनि व्यापक सुनिँदै आएको छ । तर, यसबारे स्थानीय सरकार बोलेको अवस्था छैन । बसपार्क सञ्चालनमा नआउँदा त्यहाँका होटल व्यवसायी तथा अन्य खालका व्यवसायहरु पनि प्रभावित बनेको अवस्था छ । व्यवसायभन्दा पनि मूल कुरा चाहिँ बसपार्क सञ्चालनमा ल्याउने विषय हो । यस विषयमा सबै सरोकारवाला पक्षहरुसँग गम्भीर बहस र छलफल चलाइनुपर्छ । बसपार्कमा किन बसहरु पुग्न मानिरहेका छैनन् ? यसको कारण खोजेर समस्याको समाधान गरिनु पर्छ ।

समस्याको जड पत्ता लगाई स्थानीय सरकारले पाइला चाल्न अतिआवश्यक छ । बसपार्कलाई यथावत् अवस्थितिमा रहन दिनु भनेको बसपार्कको औचित्यमाथिको प्रश्न हो । यस्ता प्रश्नहरुको सम्पूर्ण जवाफ नगरले दिनुपर्ने अवस्था सिर्जना हुनसक्छ । त्योभन्दा अगावै समस्याको समाधानतर्फ पाइला चालून् ता कि बसपार्कलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न सकियोस् । पूर्वका धेरै सहरहरुमा बसपार्कको सुविधा छैन । तर, इटहरीमा बसपार्क बने पनि त्यसलाई व्यवस्थित गर्न नसक्ने हो भने त्यो नगर सरकारको कमजोरी हो । नगर सरकार यसमा नचुकोस् ।