काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सोमबार रत्नपार्कमा आयोजना गरेको कार्यक्रममा पहिलोपटक सबै राजावादी शक्तिहरू एकैठाउँ उभिएर एकताको सन्देश दिएका छन् ।
कमल थापाको निम्तो स्वीकारेर राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रममा उपस्थित भएपछि झन् माहोल तातेको थियो । लिङ्देन कार्यक्रमको अन्तिम चरणमा रत्नपार्क पुगेका थिए । आउनासाथ उनले भाषण गरेका थिए ।
राजसंस्था पुनस्र्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, पञ्चायतकालीन नेता केशरबहादुर विष्टलगायत पनि सभामा पुगेका थिए । राप्रपाका नेताहरू धवलशमशेर राणा, महामन्त्री कुन्ती शाही पनि सहभागी थिए ।
कार्यक्रममा बीपी काङ्ग्रेसका महामन्त्री देवेन्द्र पौडेलसहित शिवसेनाकी उपाध्यक्ष गङ्गा चौधरी पनि सहभागी थिए । थापाले राप्रपाको प्रशंसा गर्दै भाषण गरेका थिए । उनले भने, ‘राप्रपा देशको अहिले सबैभन्दा ठूलो र बलियो राष्ट्रवादी शक्ति हो । राप्रपाले नै सबैलाई समेट्ने ढङ्गबाट अगाडि बढ्नुपर्छ र त्यसका लागि पहलकदमी लिन माननीय राजेन्द्र लिङ्देनजीलाई अगाडि बढ्न आग्रह गर्छु ।’