विराटनगर । मोरङको रङ्गेली नगरपालिका–८ बाट भारी परिमाणमा ब्राउनसुगर कारोबारीलाई गोली चलाई आइतबार दिउँसोतिर नियन्त्रणमा लिएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर र इलाका प्रहरी कार्यालय रङ्गेलीको संयुक्त टोलीले तीनजना लागूऔषध कारोबारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रङ्गेली–८ का ५५ वर्षीय किर्तानन्द ठाकुर, ३८ वर्षीय सुशील बुढाथोकी र भारतको विहार राज्यकी ५० वर्षीया हसिना खातुन छन् । पक्राउ परेकामध्ये किर्तानन्द ठाकुरले उक्त कोठा भाडामा लिएर ब्राउनसुगर कारोबार गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनको कोठाबाट ४ सय २५ ग्राम ब्राउनसुगर बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुडालले जानकारी दिइन् ।
प्रहरी स्रोतका अनुसार ठाकुर विगत केही महिनादेखि लागूऔषध कारोबारमा संलग्न थिए । “उक्त घरबाट निरन्तर शङ्कास्पद गतिविधि भइरहेको सूचनाका आधारमा ब्यूरोका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सइ बालकृष्ण सञ्जेलको नेतृत्वमा विशेष टोली परिचालन गरिएको थियो” घटनाको अनुसन्धान गर्दै आएका एक अधिकृतले भने, “सूचना र निगरानीमा आधारित अपरेशनमार्फत् उनीहरूलाई समातिएको हो ।” प्रहरी टोली घटनास्थल पुग्दा कारोबारीहरू भाग्न खोजेपछि एक राउन्ड हवाई फायर गरेर नियन्त्रणमा लिइएको थियो । ती सबैलाई अहिले इलाका प्रहरी कार्यालय रङ्गेलीमा राखेर आवश्यक अनुसन्धान अगाडि बढाइएको छ । प्रहरीले सोमबार उनीहरूको म्याद थप गरी थप अनुसन्धान गर्ने तयारी गरिरहेको छ ।
ब्राउनसुगर विश्वको महँगो लागूऔषधमध्ये पर्ने प्रहरी बताउँछ । प्रहरीका अनुसार विशेषगरी थाइल्याण्ड, म्यानमार, अफगानिस्तान जस्ता देशहरूमा उत्पादन भई भारत हुँदै नेपाल तस्करी हुने गरेको छ । पछिल्लो समयमा झापाको काँकडभिट्टा नाका तस्करीको मुख्य ट्रान्जिट पोइन्ट बनेको सुरक्षा निकायको भनाइ छ । भारतको बिहार, पश्चिम बङ्गाल हुँदै काँकरभिट्टा नाका पार गरेर ल्याइएको ब्राउनसुगर धरान, इटहरी, इनरुवा, विराटनगर हुँदै काठमाडौंसम्म फैलिने गरेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । “तस्करहरू भारतमा प्रतिग्राम ४–५ हजारमा ब्राउनसुगर किन्ने गर्छन्” ती अधिकारीले भने, “नेपालमा ल्याएर त्यसलाई डोजको रूपमा खण्डित गरेर ३ देखि ५ हजार रुपैयाँमा प्रतिडोज बिक्री गरिन्छ । एक ग्रामबाट ४० डोजसम्म बनाउने गरिन्छ । यसबाट उनीहरूले अत्यधिक नाफा कमाउँछन् ।”
कोशी प्रदेशको धरान, इटहरी, विराटनगर र आसपासका सहरमा बिक्री हुने गरेको छ । “उनीहरूले नेपालमा विभिन्न व्यक्तिसँग नेटवर्क बनाएका हुँदा रहेछन्” एक अनुसन्धान अधिकृतले भने, “उनीहरूको केही ‘कनेक्सन’ को सूची छ ।” पक्राउ परेकाहरूलाई लागूऔषध (नियन्त्रण) ऐनअनुसार कारबाही अगाडि बढाइने प्रहरीले जनाएको छ । उनीहरूको मोबाइल डाटा, बैङ्क खाता, सम्पर्क सञ्जाल र यात्राको विवरण पनि सङ्कलन भइरहेको छ ।