इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार जनाको बीभत्स हत्या गरिएको प्रहरीले जनाएको छ ।
ससुराली आएका भोजपुर नगरपालिका–२ हेलौँछाका ३० वर्षीय राजेन्द्र राईले आफ्नै १५ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र १० वर्षीय सालो सपन गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्स्पेक्टर उमेशप्रसाद यादवले जानकारी दिए । हत्यापश्चात् राई आफैले आफैलाई खुकुरी प्रहार गरी घाइते भएको उनले जानकारी दिए । इन्स्पेक्टर यादवका अनुसार घाइते राईलाई जिल्ला अस्पताल भोजपुरमा उपचारपछि थप उपचारका निमित्त धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । एकै परिवारका चार जना सदस्यको हत्यापछि भोजपुर धोद्लेखानीमा सन्नाटा छाएको छ ।
स्थानीय जानुका राई एकाबिहानै गाउँमा प्रहरीको टोली देखेपछि मात्रै घटनाबारे जानकारी पाएको सुनाउँछिन् । घटना कतिखेर भयो गाउँले कसैलाई थाहै नभएको तर प्रहरी पुगेपछि मात्रै स्थानीयले थाहा पाएको इन्स्पेक्टर यादव बताउँछन् । घटनाबारे अनुसन्धानमा जुटेका जिल्ला प्रहरी कार्यालय भोजपुरका अर्का इन्स्पेक्टर दीपक श्रेष्ठले चारैजनाको हत्यापछि राई आफैले प्रहरीमा “मैले मान्छे मारँे” भन्दै फोन गरेको बताउँछन् । सुरुमा विश्वास नलागेको तर अताल्लिएर आफू पनि मर्ने अरूलाई पनि मार्ने जस्ता अभिव्यक्ति दिएपछि प्रहरी तत्काल घटनास्थलतर्फ गएको उनी बताउँछन् ।
“घटनास्थल पुगेर हेर्दा चारैजनालाई धारिलो हतियार प्रहार गरी हत्या गरिएको रहेछ”–इन्स्पेक्टर श्रेष्ठले ब्लाष्टलाई भने । अनुसन्धानमा खटिएका इन्स्पेक्टर श्रेष्ठका अनुसार सात महिनाअघि मात्रै १४ वर्षीया मनिषालाई बजारबाट भगाएर राईले विवाह गरेको र पटक–पटक शारीरिक तथा मानसिक यातना दिएपछि सहन नसकेर माइत आएर बसेकी रहिछन् । माइतबाट घर नआए त्यहीँ आएर सबैलाई मार्ने धम्की दिँदै आएको प्रारम्भिक अनुसन्धानमा खुलेको उनले जानकारी दिए । मनिषा आरोपीको दोस्रो श्रीमती रहेको जानकारी आएको प्रहरीले जनाएको छ ।
घटनापछि गाउँलेहरू त्यस स्थानमा जान डराएका छन् । रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीकी वडा सदस्य प्रभा राई तामाङले गाउँमा यस्तो कहालीलाग्दो र बर्बरता कहिल्यै नेदेखेको बताइन् । उनले बालिकाको उमेर नपुगेको कारण विवाहलाई परिवारले मान्यता नदिएको तर यस्तो घटना हुन्छ भनेर कल्पनासम्म नगरेको पनि बताइन् । आरोपित राई करिब एक हप्ताअघिबाट ससुरालीमा बस्दै आएको रामप्रसादराई–२ का वडासदस्य जीवन जर्घा मगरले जानकारी दिए । घरायसी विवादका कारण घटना भएको हुनसक्ने उनको भनाइ छ ।
सामूहिक हत्या गरिएका चार जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुर ल्याइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेपछि उनीहरूको शव परीक्षण गर्न भोजपुर अस्पताल ल्याएको जनाएको छ ।
प्रेमविवाहले निम्त्याएको घटना
मनिषा र राजेन्द्रले गत सात महिनाअघि प्रेमविवाह गरेका थिए । १४ वर्षीया मृतक गिरी भोजपुर बजार गएको बेला राजेन्द्रसँग भागेकी थिइन् । यो विषयमा परिवार भने विपक्षमा थियो । केटीको उमेर नपुगेको भन्दै विवाहलाई माइती पक्षले मान्यता दिएको थिएन । समय बित्ने क्रममा श्रीमान् तथा घरपरिवारले मानसिक र शारीरिक यातना दिएको भन्दै दुई महिनाअघि मनिषा माइती आएर बसेकी थिइन् ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसन्धान अधिकृत इन्स्पेक्टर दिपक श्रेष्ठका अनुसार श्रीमान् राजेन्द्र १० दिनअघि श्रीमती लिन भनी ससुराली आएका थिए । उनले जसरी भए पनि श्रीमती लिएर मात्रै जाने अडान लिँदै आएका थिए भने ससुराली पक्षले भने उमेर नपुगेकाले नलान आग्रह गर्दै आएका थिए ।
यही विषयमा उनीहरूको दैनिक झगडा हुने गरेको स्थानीयको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । आइतबार बिहानको राति १ बजेतिर राजेन्द्रले श्रीमतीसहित सासू, ससुरा, सालोको बीभत्स हत्यापछि आत्महत्याको प्रयास गर्न खोजेको देखिएको इन्स्पेक्टर श्रेष्ठ बताउँछन् । प्रहरीले उनलाई घाइते अवस्थामा भेटेको थियो । उनले आफ्नै पेटमा तीनपटक चक्कु प्रहार गरेको भेटिएको उनी बताउँछन् । उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल भोजपुर पठाइए पनि थप उपचारका लागि धरानस्थित बीपी प्रतिष्ठान पठाइएको उनले जानकारी दिए । सुतिरहेको बेला सासूससुरा, श्रीमती र सालोलाई पालैपालो चक्कु प्रहार गरेको आरोपीले प्रहरीसमक्ष बयान दिएका छन् । यद्यपि घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । यस्तै प्रकृतिको घटना पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पनि केही वर्ष अगाडि भएको थियो ।